कांग्रेस प्रदेश १ का महामन्त्री सहित २४ जनालाई कारबाही गर्न सिफारिस
स्थानीय तहको निर्वाचनमा अन्तर्घात गरेको आरोपमा नेपाली कांग्रेस खोटाङको अनुशासन समितिले कांग्रेस प्रदेश १ का महामन्त्री भूपेन्द्र राई सहित २४ जनालाई कारबाही गर्न सिफारिस गरेको छ।
कांग्रेस जिल्ला सचिव एवं अनुशासन समितिका संयोजक ज्ञानेन्द्र जोशीको आइतबारको एकल निर्णयले महामन्त्री एवं दिप्रुङ चुइचुम्मा गाउँपालिकाका निवर्तमान गाउँपालिका अध्यक्ष राई सहित २४ जना नेता तथा कार्यकर्तालाई चार वर्षका लागि पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गर्न प्रदेश र केन्द्रीय अनुशासन समिति समक्ष सिफारिस गरिएको हो।
दिप्रुङ चुइचुम्मा गाउँपालिकाबाट महामन्त्री राई सहित गाउँपालिका सभापति अमृत गिरी, क्षेत्रीय प्रतिनिधि एवं निवर्तमान वडाध्यक्ष पूर्णबहादुर खड्का, कांग्रेस दिप्रुङ चुइचुम्मा–१ का सभापति रामचन्द्र राई, क्रियाशील सदस्य ज्ञानेन्द्रबहादुर राई, जिल्ला सदस्य दीपक विक, क्रियाशील सदस्य शम्भुकुमार राउत, सन्तबहादुर विक र नेविसंघका पालिका सभापति बलराम बस्नेतलाई कारबाहीका लागि सिफारिस गरिएको कांग्रेस संयोजक जोशीले जानकारी दिए।
यस्तै, ऐसेलुखर्क गाउँपालिकाका उपसभापति धनकाजी राई, क्षेत्रीय प्रतिनिधि सन्तोष दाहाल, क्रियाशील सदस्य रमेश राई, पुष्पराज बस्नेत र ऐसेलुखर्क–१ का वडा सदस्य गंगा तामाङको नाम कारबाहीको सूचीमा समावेश छ। खोटेहाङ गाउँपालिकाबाट कांग्रेस क्षेत्रीय प्रतिनिधि गणेश खड्का, क्रियाशील सदस्य लक्ष्मी तामाङ, युवराज राई, शिखर खतिवडा, सुनिता तामाङ, नवराज घिमिरे, थीरप्रसाद घिमिरे, उमेश तामाङ, सुवास खड्का र विवेक घिमिरेलाई कारबाही गर्न सिफारिस गरिएको अनुशासन समितिले जनाएको छ।
कांग्रेसका उम्मेदवारहरूको निवेदन र वडा कार्य समितिको निर्णय अनुसार‚ आरोपित नेता तथा कार्यकर्ताहरूलाई चार वर्षका लागि पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गर्न सिफारिस गरिएको जोशीले बताए। उनीहरू विरुद्ध स्थानीय तहको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार विरुद्ध बागी उम्मेदवार दिन कार्यकर्ता उक्साएको, चुनावी माहोल बिगारेको, नेकपा (एमाले) का नेता र उम्मेदवारसँग गोप्य बैठक बसी आर्थिक चलखेल गरी पार्टीका आधिकारिक उम्मेदवार हराउन भूमिका खेलेको लगायतका दावी सहित निवेदन परेको अनुशासन समितिले जनाएको छ। अनुशासन समितिको निर्णयका विषयमा महामन्त्री राईको समूह मौन छ।
कांग्रेसले ऐसेलुखर्क गाउँपालिका अध्यक्षको आधिकारिक उम्मेदवार विरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका सन्तवीर तामाङ, दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ का आधिकारिक उम्मेदवार विरुद्ध बागी उम्मेदवारी दिएका क्षेत्रीय प्रतिनिधि राजेन्द्र राई र खोटेहाङ गाउँपालिका–८ मा बागी उम्मेदवारी दिएका क्षेत्रीय प्रतिनिधि चन्द्रबहादुर थापालाई पार्टीबाट निष्कासन गरिसकेको छ।