श्रीलंकाली राष्ट्रपतिद्वारा राजीनामाको घोषणा
श्रीलंकाली राष्ट्रपति गोटाबय राजापक्षले राजीनामाको घोषणा गरेका छन्।
प्रदर्शनकारीले राष्ट्रपति निवास कब्जा गरेको भोलिपल्ट राष्ट्रपति राजापक्षले पदबाट राजीनामाको घोषणा गरेका हुन्। शनिबार श्रीलंकाली प्रदर्शनकारीले राष्ट्रपति निवास कब्जा गरेपछि उनी भागेका थिए।
त्यस्तै, प्रदर्शनकारीले प्रधानमन्त्री रनिल विक्रमासिंगेको निवासमा आगजनी गरेका थिए। प्रदर्शनकारीले कब्जा गर्दा राष्ट्रपति तथा प्रधानमन्त्री निवासमा थिएनन्।
हजारौंको सङ्ख्यामा रहेका प्रदर्शनकारीले राजधानी कोलम्बोमा राजापक्षको राजीनामा माग गर्दै महीनौंदेखि आन्दोलन गर्दै आएका थिए।
राजापक्षले १३ जुलाई अर्थात् असार २९ गते राजीनामा दिने भएका छन्। त्यस्तै, प्रधानमन्त्री विक्रमासिंगे पनि राजीनामा गर्न सहमत भएका छन्।
राष्ट्रपतिले पद त्याग गर्ने जानकारी दिंदै श्रीलंकाली संसद्का सभामुखले ‘शान्तिपूर्ण तवरमा शक्ति हस्तान्तरण गर्न’ र ‘कानूनको सम्मान गर्न’ राष्ट्रपति सहमत भएको बताए।
राष्ट्रपतिको राजीनामाको समाचार सार्वजनिक भएसँगै श्रीलंकाली नागरिकले खुशीयाली मनाउन थालेका छन्। कतिपय ठाउँमा पटाकाबाजी र आतिसबाजी गरेका छन्।