अर्थमन्त्रीबाट राजीनामा दिंदै शर्माले भने- म हजारौं छानबिनका लागि तयार छु
अर्थमन्त्रीबाट राजीनामा दिंदै जनार्दन शर्माले आफू एउटा होइन, हजारौं छानबिनका लागि तयार भएको बताएका छन्।
शर्माले सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै पदबाट राजीनामा दिएको घोषणा गरेका हुन्। उनले राजीनामाको घोषणा गर्दै भने, “म एउटा होइन, हजारौं छानबिनका लागि तयार छु।”
बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई संलग्न गराएको आरोपमा उनीमाथि छानबिन गर्न प्रतिनिधि सभाले संसदीय छानबिन विशेष समिति गठन गरेको थियो। सभामुख अग्निप्रसाद सापकोटाले विशेष समिति गठनका लागि राखेको प्रस्ताव बैठकले अनुमोदन गरेको थियो।
छानबिन समिति गठन भएसँगै उनले प्रतिनिधि सभाको बैठकमा बोल्दै आफूमाथि लागेका प्रश्नको जवाफ दिएका थिए। बजेट निर्माणका क्रममा कुनै गलत काम नगरेको उनको भनाइ थियो।
“मन्त्रीमाथि छानबिन गर्न यसअघि पनि छानबिन गर्न संसदीय समिति गठन भएका छन्, कसैले राजीनामा दिएका छैनन्,” शर्माले भने, “ममाथि छानबिनका लागि मार्गप्रशस्त गर्न अर्थमन्त्रीबाट राजीनामा दिएको घोषणा गर्दछुृ।”
उनले छानबिन समितिलाई पूर्ण सहयोग गर्ने बताएका छन्। “म राजनीतिक मान्छे हुँ। ठूलठूला राजनीतिक आन्दोलनमा इमानदारीपूर्वक सहभागी भएको छु,” शर्माले भने।