बागमतीमा मुख्यमन्त्री नहट्ने भएपछि मन्त्री थप्ने तयारी
बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे यथावत् रहने भएपछि अब मन्त्री थप्ने तयारी गरिएको छ।
गत कात्तिक ११ गते सरकार गठन हुँदा सत्तारूढ गठबन्धनका नेकपा (एकीकृत समाजवादी) र नेपाली कांग्रेसबीच ६-६ महीना सरकारको नेतृत्व गर्ने सहमति भएको थियो। त्यही सहमति अनुसार, कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले मुख्यमन्त्री पाण्डेको राजीनामा मागेका थिए।
कांग्रेस र माओवादीका सांसदले हस्ताक्षर सङ्कलनको तयारी गरेका थिए। त्यस्तै, दुवै पार्टी आफ्ना मन्त्री फिर्ता बोलाउने पक्षमा देखिएका थिए।
एकीकृत समाजवादीे संसदीय दलको बैठकले भने शीर्ष नेताहरूबीच सहमति नहुँदासम्म मुख्यमन्त्रीले राजीनामा नदिने निर्णय गरेको थियो। त्यसपछि भने कांग्रेस र माओवादी सांसद पछाडि हटेका छन्।
माओवादी नेतृत्वले सरकार फेरबदलको खेलमा नलाग्न प्रदेश नेतृत्वलाई निर्देशन दिएको छ। बागमतीको सरकारमा हेरफेर गर्दा अन्य प्रदेशमा पनि हेरफेर गर्नुपर्ने र त्यस्तो नगर्दा गठबन्धनमा असर पर्ने निष्कर्षसहित माओवादी नेतृत्वले निर्देशन दिएको जनाइएको छ।
माओवादी सांसद युवराज दुलालले आगामी चुनावसम्म सात प्रदेशका सरकार सकेसम्म नचलाउने केन्द्रमा सहमति बनेको छ। जसले अब बागमतीमा पनि नेतृत्व परिवर्तन हुने सम्भावना नरहेको उनको भनाइ छ।
कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँ भने अन्य प्रदेशको कुरा जोडेर एकीकृत समाजवादीले सहमति तोडेको बताउँछन्। “सरकार हेरफेर गर्ने वा नगर्ने सहमति शीर्ष तहमा के भयो मलाई थाहा छैन,” बानियाँले भने, “लिखित सहमति भएको थियो, त्यही कार्यान्वयन गर्न माग गरेका हौं।” सहमति मान्ने वा तोड्ने विषयले गठबन्धन कमजोर बनाउने भन्न नहुने उनको तर्क छ।
एकीकृत समाजवादीका नेता भने केन्द्रमा गठबन्धनका नेताहरूबीच हुने सहमति मान्ने बताउँछन्। “गठबन्धनले गर्ने सहमति मान्ने निर्णय नै गरेका छौं,” एकीकृत समाजवादीका एक नेता भन्छन्।
यसरी नेतृत्व फेरबदलको ‘च्याप्टर’ बन्द भएपछि मुख्यमन्त्री पाण्डेले मन्त्री थप्ने तयारी गरेका छन्। मुख्यमन्त्री पाण्डेले दुई जना राज्यमन्त्री थप्ने तयारी गरेको एकीकृत समाजवादीका एक नेताले बताए।
उनका अनुसार, दुवै राज्यमन्त्री एकीकृत समाजवादीबाटै थपिनेछन्। अझ मकवानपुर र सिन्धुलीबाट राज्यमन्त्री थप्ने मुख्यमन्त्री पाण्डेको योजना छ।
अहिले बागमतीमा प्रदेश सरकार १८ सदस्यीय छ। जसमा मुख्यमन्त्री बाहेक १३ मन्त्री र चार राज्यमन्त्री छन्। अब दुई राज्यमन्त्री थपी २० सदस्यीय मन्त्रिपरिषद् हुनेछ। यो सबैभन्दा ठूलो प्रदेश सरकार हुनेछ।
यसअघि मन्त्रालय टुक्र्याएर मन्त्री थपिएको थियो। जसले गर्दा मन्त्रालय राख्ने ठाउँ नपुग्दा एउटै भवनमा चार-पाँच मन्त्रालय राखिएका थिए।