सातलाई टुक्र्याएर १४ बनाएपछि एउटै भवनमा पाँच मन्त्रालय
सरकार जोगाउन मुख्यमन्त्रीहरूले मन्त्रालय टुक्र्याउँदै गएपछि बागमती प्रदेशमा भने भवन नै पाइन छाडेको छ। एउटै भवनमा पाँच वटा मन्त्रालयका साइनबोर्ड झुन्ड्याइएका छन्।
बागमती प्रदेशको राजधानी हेटौंडा उपमहानगरपालिका–१ चौकीटोल ओरालोस्थित भवनमा पाँच वटा मन्त्रालयका साइनबार्ड देखिन्छन्। श्रम रोजगार तथा यातायात मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, खानेपानी, उर्जा तथा सिंचाइ मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालय एकै भवनमा छन्।
बाहिरबाट हेर्दा ठूलो भवनमा मन्त्रालयहरूका साइनबोर्ड चिटिक्क पारेर राखिएका देखिन्छन्। भवनभित्र भने काम गर्नै नसकिने अवस्था छ। कतिपय मन्त्रालय त केही कोठामा सीमित छन्।
भवन अभावले एउटैमा धेरै मन्त्रालय राख्नुपरेको श्रम, रोजगार तथा यातायात मन्त्री घनश्याम दाहालले बताए। एउटै भवनमा एकभन्दा बढी मन्त्रालय राखिएपछि कोठा पनि कम भएको बताउँदै मन्त्री दाहालले भने, “श्रम मन्त्रालय तीन वटा कोठामा सीमित छ र साँघुरो गरी काम गर्नु परिरहेको छ।”
एउटै भवनमा धेरै मन्त्रालय भएपछि सबैलाई कोठा कम भएको छ। जसले गर्दा काम गर्न अप्ठ्यारो भएको कर्मचारी बताउँछन्। श्रम मन्त्रालयका सूचना अधिकारी राज पोखरेल भन्छन्, “मन्त्रालय तीन वटा कोठामा अटाइएको छ, कसरी प्रभावकारी ढङ्गले सेवा दिन सक्नु?”
बागमती प्रदेशमा सात मन्त्रालयलाई टुक्र्याएर १४ वटा बनाइएको छ। जसले गर्दा एउटै भवनमा पाँच मन्त्रालय राख्नुपरेको हो। पछिल्लो पटक मुख्यमन्त्री राजेन्द्र पाण्डेले गठबन्धनमा सहभागी दललाई भाग पुर्याउन आठ मन्त्रालयलाई टुक्र्याएर १४ बनाएका छन्। मुख्यमन्त्री पाण्डेले एउटै मन्त्रालयलाई तीन वटासम्म बनाएका छन्।
नेकपा (एकीकृत समाजवादी)का नेता पाण्डेको नेतृत्वमा बनेको सरकारमा नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेस सहभागी छन्।
एमालेबाटै टुक्र्याउने शुरूआत
बागमतीमा चार वर्षअघि नयाँ सरकार गठन हुँदा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सहित सात मन्त्रालय थिए। डोरमणि पौडेलले राजीनामा दिएसँगै एमाले नेत्री अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री भएपछि मन्त्रालय फुटाउन शुरू भएको थियो।
शाक्यले सामाजिक विकास मन्त्रालय फुटाएर स्वास्थ्य मन्त्रालय पनि बनाएकी थिइन्। त्यसपछि आठ मन्त्रालय भएका थिए।
अहिले मुख्यमन्त्री पाण्डेले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलाई फुटाएर तीन वटा मन्त्रालय बनाएका छन्। उनले फेरि सामाजिक विकास मन्त्रालय फुटाएका छन्। त्यससँगै भौतिक पूर्वाधार विकास र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय पनि फुटाइएका छन्। १५ मंसीरमा बसेको प्रदेशको मन्त्रिपरिषद् बैठकले आठ मन्त्रालय फुटाएर १४ बनाएको छ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय फुटाएर उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, संस्कृति तथा पर्यटन मन्त्रालय र वन तथा वातावरण मन्त्रालय बनाइएका छन्। यस्तै भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय फुटाएर कृषि तथा पशुपक्षी विकास मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय बनाइएका छन्।
भौतिक पूर्वाधार विकास मन्त्रालय फुटाएर खानेपानी, ऊर्जा तथा सिंचाइ मन्त्रालय, श्रम, रोजगार तथा यातायात मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालय बनाइएका छन्। सामाजिक विकास मन्त्रालय फुटाएर युवा तथा खेलकूद मन्त्रालय र सामाजिक विकास मन्त्रालय बनाइएका छन्।
मन्त्रालयसँगै आर्थिक भार थपियो
बागमती प्रदेशमा मन्त्रालय थपिएपछि आर्थिक भार पनि बढेको छ। मन्त्रालयको व्यवस्थापनमा लाग्ने प्रशासनिक तथा मन्त्रीको सचिवालय, पीए व्यवस्थापन, सल्लाहकार, यातायात, विद्युत्, पानी लगायत विभिन्न सुविधामा खर्च बढेको छ।
आर्थिक भार बढ्ने गरी मुख्यमन्त्री पाण्डे फेरि मन्त्री थप्ने तयारीमा छन्। उनले तीन पटक गरेर ११ मन्त्री र एक राज्यमन्त्री नियुक्त गरिसकेका छन्। फेरि तीन मन्त्री र दुई राज्यमन्त्री नियुक्त गर्ने तयारी भइरहेको एक मन्त्रीले बताए।
त्यससँगै, मन्त्री र मन्त्रालयका लागि ३० वटा सवारी खरीद गर्ने तयारी भइरहेको अर्थ मन्त्रालयले जनाएको छ। त्यसका लागि करीब १८ करोड खर्च हुने अनुमान गरिएको छ। यसअघि नै भौतिक पूर्वाधार मन्त्रालयका लागि दुई वटा सवारी खरीद गर्न एक करोड २० लाख बराबरको स्रोत सुनिश्चित गरिसकेको अर्थ मन्त्रालयले जनाएको छ।