प्रधानमन्त्रीले अर्थमन्त्रीलाई हटाउनुपर्छ: गगन थापा
नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगन थापाले बजेट निर्माणका विषयमा उत्पन्न विवादमा प्रधानमन्त्रीले अर्थमन्त्रीलाई हटाउनुपर्ने बताएका छन्।
सोमबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै सांसद थापाले अर्थमन्त्री जनार्दन शर्मामाथि प्रश्न उठिसकेपछि यो विषय यतिक्कै छोड्न नहुने बताए। उनले करका दर चलाउने र बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न गराउने विषय सामान्य नभएको जिकिर गरे।
“करको दर भनेको सामान्य कुरा होइन। सामान्य मानवीय त्रुटि भयो भनेर जान पाउने कुरा पनि छैन। यो उठ्यो, यत्तिकै गयो भनेर हुँदैन,” थापाले भने।
बजेट निर्माणको समयको सीसीटीभी फुटेज मेटिएको भन्ने अर्थ मन्त्रालयको जवाफले झन् प्रश्न उब्जाएको उनको भनाइ थियो। “अब भने यसमा तत्काल प्रधानमन्त्रीले एक्सनमा जानुपर्छ,” थापाले भने।
यसको छानबिनका लागि समितिभन्दा पनि प्रधानमन्त्रीले ‘एक्सन’ लिनुपर्ने उनको जिकिर थियो। “अर्थमन्त्रीजीले राजीनामा दिनुपर्छ कि प्रधानमन्त्रीजीले हटाउनुपर्छ, र तत्काल छानबिन गर्नुपर्छ,” थापाले भने।
यो विषयलाई यतिकै छोड्दा गलत नजीर बस्ने उनको भनाइ थियो। “यत्तिकै छोड्दा गलत नजीर बस्छ, जे गरे पनि हुन्छ भन्ने रहन्छ वा हुँदै नभएको कुराको आरोप पनि कसैले खेप्नुपर्ने हुन्छ,” थापाले भने, “अर्थमन्त्रीजीको पनि हितमा छ, तत्काल उहाँले राजीनामा दिने।”
यसमा विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पनि प्रश्न उठाएका थिए। प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष ओलीले अर्थमन्त्री शर्माको राजीनामा माग गरेका थिए।
त्यस्तै, नागरिक अगुवाहरूले पनि अर्थमन्त्री शर्माले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने वा यस विषयमा स्पष्ट पार्नुपर्ने माग गरेका छन्।