नागरिक अगुवाले भने- अर्थमन्त्री राजीनामा देऊ
बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको संलग्नतालाई लिएर नागरिक अगुवाहरूले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गरेका छन्।
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की, त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति केदारभक्त माथेमा र चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले सोमबार विज्ञप्ति जारी गर्दै अर्थमन्त्री शर्माको राजीनामा माग गरेका हुन्। बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता नभएको प्रमाणित गर्न वा राजीनामा दिन उनीहरूले माग गरेका हुन्।
उनीहरूले भनेका छन्, “अर्थमन्त्रीको इमानबारे विवाद र बहस भइसकेको अवस्थामा या त अर्थमन्त्रीले कुनै अकाट्य प्रमाण सहित अनधिकृत व्यक्तिले बजेट निर्माणमा भूमिका नखेलेको प्रमाणित गर्न, हैन भने तत्काल नैतिकताका आधारमा राजीनामा गर्न माग गर्दर्छौं।”
उनीहरूले अहिले सिर्जना भएको आर्थिक तथा न्यायिक अराजकताबारे गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। “हाल सत्तासीन दलका विभिन्न पदाधिकारी र नेताहरूले सिर्जना गरेको आर्थिक तथा न्यायिक अराजकताबारे हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,” उनीहरूले भनेका छन्, “आधारभूत नैतिकता समेत गुमाएका व्यक्तिहरू मन्त्री पदमा बसिरहँदा त्यो पदको समेत गरिमा खण्डित हुने र सरकारको छवि थप धमिलिने देखिन्छ।”
बजेट निर्माणका समयको सीसीटीभी फुटेज मेटिएको भन्ने अर्थ मन्त्रालयको जवाफमा पनि उनीहरूले प्रश्न गरेका छन्। विज्ञप्तिमा भनेका छन्, “अर्थमन्त्रीले चित्तबुझ्दो जवाफ नदिएको पृष्ठभूमिमा अहिले त्यो समयको सीसीटीभी फुटेज गृह मन्त्रालयले जारी गरेको सीसीटीभी जडान तथा सञ्चालन कार्यविधि, २०७२ को प्रतिकूल हुनेगरी असमयमै हटाइएको कुरा आएको छ, यस्ता अराजकता र दण्डहीनता कुनै पनि नेपाली नागरिकलाई स्वीकार्य हुन सक्दैन।”
यससँगै उनीहरूले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने विषयमा पनि ध्यानाकर्षण भएको जनाएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवा सहित सत्तारूढ गठबन्धनका नेताहरूले गरेको अवलोकनप्रति उनीहरूले आपत्ति जनाएका छन्।
उनीहरूले भनेका छन्, “निजगढ भ्रमणमा सत्ता गठबन्धनका नेताहरूले त्यहाँ विमानस्थल बनाउँछौं भनेको तर सर्वोच्च अदालतले कायम गरेको बन्देज र दिएको आदेश पालना गर्ने कुरा खुलेर भनेका छैनन्, त्यसमा हाम्रो गम्भीर आपत्ति छ।”