गठबन्धनका शीर्ष नेताको जोड- निजगढमै अन्तर्राष्ट्रिय विमानस्थल
सत्तारूढ गठबन्धनका शीर्ष नेताले निजगढमै अन्तर्राष्ट्रिय विमानस्थल बनाउनेमा जोड दिएका छन्।
प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण क्षेत्रको शनिबार अवलोकन गरेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनीहरूले जसरी भए पनि निजगढमै विमानस्थल बनाउने बताए। मुलुकमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको खाँचो रहेको औंल्याउँदै त्यसका लागि निजगढ उपयुक्त रहेको उनीहरूको भनाइ थियो।
निजगढ विमानस्थल विरुद्ध परेको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले असार १२ गते अहिलेसम्म भएका सरकारी निर्णय बदर गरेको छ। सरकारले अहिलेसम्म गरेका निर्णय त्रुटिपूर्ण रहेको सर्वोच्चको ठहर छ।
सर्वोच्चले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन रोक नलगाएको भए पनि कडा शर्त राखेको छ। सर्वोच्चले विज्ञहरूबाट अध्ययन गराई न्यूनतम वातावरणीय क्षति हुने स्थानमा विमानस्थल बनाउन परमादेश दिएको छ।
असार १५ गते सर्वोच्चको फैसलाको पूर्ण पाठ आएसँगै प्रधानमन्त्री शेरबहादुर देउवा सहित सत्तारूढ गठबन्धनका शीर्ष नेता अवलोकनका लागि निजगढ पुगेका हुन्। अन्तर्राष्ट्रिय विमानस्थल बनाउन प्रस्ताव गरिएको निजगढ क्षेत्रको अवलोकनपछि प्रधानमन्त्री देउवाले यस विषयमा विज्ञहरूसँग छलफल भइरहेको बताए। उनले भने, “कम क्षतिमा जसरी पनि विमानस्थल स्थापना गर्न थालेको क्षेत्रमा विमानस्थल निर्माण गर्छौं।”
त्यस्तै, पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सर्वोच्चको फैसलाले निजगढमा विमानस्थल बनाउन अवरोध नगरेको जिकिर गरे। काठमाडौं–निजगढ द्रुतमार्ग निर्माण सहितको कामहरू भइरहेको अवस्थामा निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको तर्क गरे। दाहालले भने, “विमानस्थल राष्ट्रिय गौरवको योजना हो। अदालतबाट विमानस्थल अवरुद्ध गर्ने कुनै आदेश भएको छैन, विमानस्थल बन्छ।”
अर्का पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पनि निजगढमा विमानस्थल बनाउन सरकार पछि नहट्ने बताए। सर्वोच्चको फैसलाको पूर्ण पाठ आएसँगै निजगढका विषयमा देखिएको अन्योल हटेको बताउँदै नेपालले भने, “कुनै पनि विकास निर्माणमा क्षति हुने गरेको छ। यसलाई कम क्षतिमा कसरी गर्न सकिन्छ, त्यस आधारमा गर्नुपर्नेछ। विज्ञहरूसँग सल्लाह गरेर प्राकृतिक स्रोत-साधनको कम क्षति सहित विमानस्थल बनाउनुपर्छ।”
जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले विकास निर्माणका काम अघि बढाउनुपर्ने आजको आवश्यकता भएको जिकिर गरे। निजगढमा रहेका पुराना बस्तीलाई जोगाएर आयोजना अघि बढ्ने उनको भनाइ थियो।
प्रधानमन्त्री सहितको शीर्ष नेताको टोलीमा राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल, वन तथा वातावरण मन्त्री रामसहायप्रसाद यादव, संस्कृति, पर्यटन तथा नागरिक उड्डन मन्त्री जीवनराम श्रेष्ठ, अर्थमन्त्री जर्नादन शर्मा, खानेपानी मन्त्री उमाकान्त चौधरी सहभागी थिए। निजगढ विमानस्थलका विषयमा अहिलेसम्म भएका कामबारे मधेश प्रदेशका अर्थमन्त्री विजय यादवले जानकारी दिएका थिए।