घूस प्रकरणमा न्यायाधीश कोइरालालाई काम गर्न रोक
सिभिल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक इच्छाराज तामाङलाई धरौटीमा छुटाउन मोलमोलाइको विवादमा तानिएका जिल्ला अदालत काठमाडौंका न्यायाधीश राजकुमार कोइरालालाई कामकाज गर्न रोक लगाइएको छ।
व्यवसायी तामाङलाई धरौटीमा छुटाउन गरेको कुराकानीको अडियो बाहिरिएपछि सत्यतथ्य अनुसन्धान गर्न बनेको छानबिन समितिले न्यायाधीश कोइरालालाई कामकाज गर्न रोक लगाएको न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीले बताए। छानबिन समिति गठनबारेको सूचना आज राजपत्रमा प्रकाशित छ।
राजपत्रमा प्रकाशित सूचनामा भनिएको छ, “न्यायाधीश कोइराला र अधिवक्ता पोखरेलबीच भएको भनिएको टेलिफोन संवाद र सोसँग सम्बद्ध तथ्य सम्बन्धमा तथा कोइरालाले आचरण र कर्तव्यको इमानदारीपूर्वक पालना नगरेको लगायतका विषयमा छानबिन गर्न समिति बनाइएको छ।”
न्याय परिषद्ले असार ८ गते न्यायाधीश कोइरालामाथि अध्ययन गर्न न्याय परिषद् सदस्य रामप्रसाद श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गर्ने निर्णय गरेको थियो। न्यायाधीश कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच सिभिल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक तामाङलाई धरौटीमा छुटाउन मोलमोलाइ गरेको श्रव्य सामग्री सार्वजनिक भएको थियो।
छानबिन समितिमा न्याय परिषद् सदस्य श्रेष्ठ संयोजक, सदस्यमा पाटन उच्च अदालतका कामु मुख्य न्यायाधीश महेशप्रसाद पुडासैनी र अर्का न्यायाधीश महेश शर्मा पौडेल रहेका छन्। परिषद्का प्रवक्ता कार्कीका अनुसार, समितिलाई ४५ दिनको अवधि दिइएको छ।
सहकारीबाट बचतकर्ताको रकम हिनामिना गरेको अभियोगमा हाल पुर्पक्षका लागि थुनामा रहेका तामाङ सहितलाई धरौटीमा छुटाउने विषयमा न्यायाधीश कोइराला र कानून व्यवसायी पोखरेलबीच कुराकानी भएको अडियो सार्वजनिक भएको थियो। अनुसन्धानका लागि छानबिन समितिले न्यायाधीश कोइरालालाई कामकाज गर्न वञ्चित गरेको छ।