न्यायाधीश कोइराला भन्छन्- अनुचित कार्य भएको छैन, ममाथि छानबिन होस्
व्यवसायी इच्छाराम तामाङलाई धरौटीमा छुटाउन घूस लेनदेन भएको अडियो सार्वजनिक भएपछि काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालाले आफूमाथि छानबिन गर्न आग्रह गरेका छन्।
व्यवसायी तामाङलाई १० करोड धरौटीमा छुटाउँदा दुई करोड आफूहरूलाई आउने भन्दै कानून व्यवसायी रुद्रप्रसाद पोखरेलले गरेको कुराकानीको अडियो सार्वजनिक भएको छ। जसमा उनले सहमति जनाउँदै माथिल्लो निकायलाई जानकारी गराउनुपर्ने बताएको उल्लेख छ।
त्यस अडियोबारे प्रतिक्रिया जनाउँदै न्यायाधीश कोइरालाले आफूले कुनै अनुचित कार्य नगरेको बताएका छन्। बुधबार सामाजिक सञ्जाल फेसबूक मार्फत आफ्नो भनाइ राख्दै न्यायाधीश कोइरालाले लेखेका छन्, “मबारे आज आएको समाचारप्रति मेरो ध्यानाकर्षण भएको छ। मबाट कुनै अनुचित कार्य भएको छैन। विभिन्न प्रभाव र दबाबका बावजूद निष्पक्ष भूमिका निर्वाह गरेको छु।”
उनले आफूमाथि छानबिन गर्न न्याय परिषद्लाई आग्रह पनि गरेका छन्। न्यायाधीश कोइरालाले भनेका छन्, “ममाथि न्याय परिषद्बाट छानबिन होस् तथा सहयोग गर्ने पूर्ण प्रतिबद्धता व्यक्त गर्दछु।”
व्यवसायी तामाङलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गत असोज १८ गते पक्राउ गरेको थियो। उनलाई सिभिल सेभिङ एवं क्रेडिट को-अपरेटिभमा बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा पक्राउ गरिएको थियो।
व्यवसायी तामाङ, उनकी पत्नी र छोरी सहित ४२ जना विरुद्ध ठगी र संगठित अपराधमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो। त्यही मुद्दामा तामाङलाई धरौटीमा छुटाउन न्यायाधीश र कानून व्यवसायीबीच लेनदेन भएको अडियो सार्वजनिक भएको हो।
अडियोमा न्यायाधीश कोइरालाले सहमति जनाएको भए पनि २०७८ पुस १४ गते तामाङ र केशवलाल श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएका थिए। अन्य आरोपी भने धरौटीमा छुटेका थिए।