लिच्छवि लिपि चिनाउन नयनाथको साधना
भुइँचालोले हल्लाएपछि ७० को वयमा हिंडिरहेका नयनाथको मनमा प्रश्न उब्जियो, अब पनि पैसा कमाउन दश-पाँचको गोरखधन्दामा लागिरहने कि आफूभित्रको हुटहुटी साम्य पार्ने?
नयराज पन्तको गुरुकुल पाठशालालाई उति वेला धेरैले पश्चगामी र असान्दर्भिक ठहर्याए। कारण, यसले फगत उत्तीर्णाङ्क छोएकै आधारमा विद्यार्थीलाई पारङ्गत मान्ने शिक्षा पद्धतिलाई चुनौती दिंदै पढेको विषय आधाउधी होइन, पूरै जान्नुपर्ने मान्यता राख्यो। र, त्यही मान्यतामा आफूलाई केही वर्ष खारेका विद्वान् हुन्, नयनाथ पौडेल। उनको त्यही ज्ञान भर्खरै पुस्तक स्वरूपमा प्रकट भएको छ- लिच्छवि लिपि।
पौडेलले २०७२ सालदेखि अनवरत खटिएर भर्खरै यो पुस्तक तयार पारेका हुन्। लिच्छवि लिपिको ज्ञान विना नेपाली इतिहास अध्ययनको एउटा पाटो अधुरै ठानिन्छ। कुनै पनि राजनीतिक, सामाजिक इतिहासका आधार प्राचीन दस्तावेज नै हुन्। तिनलाई शुद्धसँग पढ्न र बुझ्न नसकिए प्रामाणिकता नासिन सक्छ। भारतवर्षका अभिलेख अध्ययनमा महारथ प्राप्त जापानी विद्वान् नोबुरु कारासिमाले भनेका छन्- ‘पूरा लेखन विद्याको ज्ञान नभए यस क्षेत्रको प्राचीन अथवा मध्यकालीन इतिहास अध्ययन गर्न सकिंदैन।’
पौडेलका अनुसार, लिच्छवि लिपिको विविधताका कारण सजगता नअपनाउँदा कहिलेकाहीं अर्थ आनका तान फरक पर्न सक्छन्। यसमा आकारका मात्रा नै नौ-नौ प्रकारका हुँदा रहेछन्। “अनि यो मात्रा लगाउनु पनि सजिलो रहेनछ। वर्णको आकृति एवं विन्यास हेरी विभिन्न स्थानमा विभिन्न किसिमका आकारको मात्रा चिह्न लगाउनुपर्ने नियम रहेछ,” पौडेल भन्छन्।
पौडेलले पुस्तकमा लेखन कलाको उत्पत्ति र विकासबारे वर्णन गर्दै भ्रूण लिपि, चित्रात्मक, सूत्रात्मक, साङ्केतिक र ध्वन्यात्मक लिपिबारे चर्चा गरेका छन्। उनले लेखन कलाको विगतबारे विवेचना गर्दै भारत वर्षमा प्रचलित लेखन इतिहास पनि केलाएका छन्। लिच्छवि, गुप्त, कुटिला, नागरी, शारदा एवं बंगाली लगायत लिपि जन्माउने ब्राह्मी लिपिको उद्भव र विकास खोतल्दै त्यसमा लेखिएका नेपाली अभिलेखको उदाहरण सहित विवेचना गरेका छन्।
आफ्नो लिपिशोधलाई उनले डिल्लीरमण रेग्मी र रेनिइरो नोलीको अभिलेख पुस्तकमा भएका चित्रको आधार दिएका छन्। लिच्छवि कालका प्रचलित दुई संवत्मा पहिलो शक संवत् र दोस्रो अंशुवर्माले चलाएको संवत् भएको प्रष्ट्याएका छन्। पौडेलको तर्क छ, “ब्राह्मी एवं गुप्त लिपि पढ्न भारतीयहरूलाई धेरै समय लागे पनि नेपाल भने स्वतन्त्र राष्ट्र रहिरहन सकेकाले प्राचीन लिपि पढ्न सक्ने ज्ञान यहाँ लोप हुन पाएन।”
ज्ञानको यो निरन्तरतालाई लिच्छवि लिपिले अझ अघि बढाउने पौडेलको विश्वास छ। उनको यो परिशीलनको पृष्ठभूमिमा पिता भोलानाथ पौडेल देखा पर्छन् जो नयराज पन्तका दौंतरी थिए, शिष्य पनि।
नयराज पन्तले संशोधन मण्डल शुरू गर्नुअघि गुरुकुल पाठशाला चलाएका थिए। काठमाडौं, महाबौद्धमा चलाइएको पाठशालाले मात्र धान्न नसक्ने भएपछि पन्तले शिष्य भोलानाथलाई ललितपुरको लुभुमा पनि पाठशाला खोल्न लगाए।
त्यो पाठशालामा पन्तले नै तय गरेको पाठ पढाइन्थ्यो। दुई-तीन ‘ब्याची’ शिक्षार्थी थिए। भोलानाथ सबैभन्दा ठूलो ‘ब्याची’ लाई पढाउँथे। तिनलाई पाठे भनिन्थ्यो। अर्थात्, पाठ पढ्नेहरू। ठूला पाठेहरूले आफूभन्दा तलका ‘ब्याची’लाई पढाउने चलन थियो।
“पढाउनुपर्ने भएपछि त आफूले पनि पढ्नैपर्यो,” झण्डै ६ दशकअघिका दिन सम्झँदै उनी भन्छन्, “साताको एक दिन पाठ बुझाउन महाबौद्ध आउनुपर्थ्यो। कहिलेकाहीं नयराज गुरु पनि पाठ बुझ्न लुभु नै आउनुहुन्थ्यो।”
दिनमा तीन-चारवटा श्लोक कण्ठ गर्नुपर्थ्यो। तीन-चार दिनमा आफैंले पनि श्लोक लेख्नुपर्थ्यो। पाठ बुझाउन नसके कडा कारबाही हुन्थ्यो। एउटा खुट्टाले १० देखि १५ मिनेट उभिनुपर्थ्यो। खुट्टाले भुइँ छोए फेरि शुरू गर्नुपर्ने नियम थियो।
बाँसको कलमले मसीमा चोबेर लेख्नुपर्थ्यो। फाउन्टेन पेनले लेख्न पाइँदैनथ्यो। त्यतिवेला बाँसको कलम पाइने पसल इन्द्रचोकमा थियो। त्यहीं कलम, मसी, मसिदानी, कागत किन्ने चलन थियो।
इतिहास अध्ययन केन्द्रित पाठशालाका शिष्य र संशोधन मण्डलका सदस्य मिलेर ऐतिहासिक अभिलेखहरूको प्रकाशन थाले। २०१८ सालमा अभिलेख सङ्ग्रह प्रकाशित भयो। विशेष गरी लिच्छविकालका अभिलेखहरूको उतार तीन-तीन महीनामा एउटा प्रकाशन गरिंदा तीन वर्षमा बाह्र वटा सङ्ग्रह छापिए।
यसरी अभिलेखहरूको मूल रूपको उतारले मात्र नपुगी त्यसको व्याख्या पनि गर्नुपर्ने भएपछि पूर्णिमा पत्रिका निकालियो। त्यसमा निबन्धात्मक रूपमा अभिलेखको वर्णन पनि हुन्थ्यो। पूर्णिमाका हालसम्म १४५ अङ्क निस्केका छन् भने पछिल्लो चरणमा महेशराज पन्तले यसलाई निरन्तरता दिइरहेका छन्।
त्यो पाठशालामा पढ्नेले परीक्षा दिन पाउँदैनथे। परीक्षा नदिनेले अन्यत्र जागीर खान पाउँदैनथे। त्यसैले केही युवाले संशोधन मण्डल छाडे, पौडेल तिनैमध्येका हुन्। “निर्वाहमुखी खेतीकिसानीले चल्न त चलिरहेको थियो, तर उमेरको उत्साहले केही गर्नुपर्छ भन्ने हुटहुटी लागिरहेको थियो,” पौडेल भन्छन्, “अनि मैले कठोर निर्णय गरेर संशोधन मण्डल छोडें।”
उनले २०२४ सालमा एसएलसी दिए। त्यसको सात वर्षमा लगालग आईए, बीए र एमए उत्तीर्ण गरे। २०३२ मा लोक सेवा पास गरेर स्वास्थ्य मन्त्रालयमा अधिकृत हुन पुगे। सरकारी सेवामा २१ वर्ष बिताउँदा जनस्वास्थ्य विषयमा स्नातकोत्तर पढ्न अमेरिका पुगे। यता पीएचडी पनि सके।
“एमए पढ्दाको रमाइलो के भने, २०२१ सालमा आफूले उतार गरेका अभिलेखहरूको अध्ययन गर्नुपर्थ्यो। अनि त पढाइ पनि गाह्रो लागेन,” उनी भन्छन्, “पढ्न जाँदा गुरुहरूले अदब राख्नुहुन्थ्यो। सम्मान गर्नुहुन्थ्यो। संशोधन मण्डलको सदस्य भएको र आफूले गरेका कामले कमाएको इज्जत थियो, त्यो।’
तत्कालीन ‘श्री ५ को सरकार’ को जागीर छोडेर यूएसएआईडीको प्रोजेक्टमा अर्को २० वर्ष बिताउँदै गर्दा २०७२ सालमा भुइँचालो आयो। ७० को वयमा हिंडिरहेका उनलाई पनि भुइँचालोले नराम्ररी हल्लायो। दुई छोरा र एक छोरी स्नातक सकेर आफ्नै जीवन यात्रामा हिंडिरहेकै थिए। उनको मनमा प्रश्न उब्जियो, अब पनि पैसा कमाउन दश-पाँचको गोरखधन्दामा लागिरहने कि आफूभित्रको हुटहुटी साम्य पार्ने?
त्यसपछि उनी ४० वर्ष बिताएको स्वास्थ्य व्यवस्थापनको काम चट्टै छोडेर लिच्छवि लिपिका लेखोट केलाउन थाले। यद्यपि, थोरैतिनो पैसा उनले नेपालभाषा केन्द्रीय विभाग, पाटन क्याम्पसमा पढाएर कमाउने गरेका छन्। “यो काम पैसाभन्दा पनि रहरको हो,” उनी भन्छन्, “हप्ताको दुई दिन चार घण्टा लिपि, पूरा विद्या, अभिलेख पढाउन जान्छु।”
२०७२ पछि दैनिक चारदेखि पाँच घण्टा घोटिंदा उनको पाण्डुलिपि तयार भयो। त्यही पाण्डुलिपि ६८६ पृष्ठको पुस्तक लिच्छवि लिपिका रूपमा हालै विमोचन गरिएको छ।
पुस्तक तयार पार्नुको उनको कहानी पनि मननयोग्य छ। पनौतीको इन्द्रेश्वरमा भेटिएको प्राचीन ताम्रपत्रलाई शुरूमा संवत् ९६३ को भनेर पढियो। उक्त अभिलेखमा भएको ‘पेक इह निगा दु’ लाई नेपाल भाषाको बेहोरा भनियो।
पछि हेर्दै जाँदा ताम्रपत्र संवत् १६३४ को भएको पत्ता लाग्यो। अनि त्यसको बेहोरा ‘एक दुहुनी गाई’ भएको पत्ता लाग्यो। अभिलेख गलत हुन जाँदा सात सय वर्षको फरक देखियो।
“मलाई के कुराले घोचिरहेको थियो भने लिपि पढ्दा गल्ती भयो भने त इतिहास नै हराउने रहेछ। कतिपय शिलापत्रको त डोरा-डोरा केलाउनुपर्ने हुन्छ। लिपि पढ्ने ज्ञान हराए त इतिहास नै हराउँछ,” उनले भने, “त्यसैले पनि यो पुस्तक लेख्ने आँट आएको हो।”
विभिन्न अभिलेखबाट अक्षर उतार गरेर लिपिबारे लेखिएको पुस्तक नभएका सन्दर्भमा यो पुस्तक निकै उपयोगी हुने उनको विश्वास छ। पुस्तकबारे इतिहासविद् दिनेशराज पन्तको धारणा छ- लिच्छवि अभिलेखका मूल सामग्रीमा पुगेर गरिएको विश्लेषण यस पुस्तकको विशेषता हो।