जसले आफैंले लेखेको पुस्तक पढेर स्नातकोत्तर गरे
जनस्वास्थ्य विषयलाई आजीविकाको माध्यम बनाए पनि इतिहास प्रतिको अनुरागले 'राजा यक्ष मल्ल र उनको समय’ शीर्षकमा विद्यावारिधि गरी बालापनदेखिको इच्छालाई सार्थक बनाए।
आफैंले लेखेको पुस्तक पढेर स्नातकोत्तर तहको परीक्षा उत्तीर्ण गर्ने सुअवसर कमै विद्यार्थीलाई प्राप्त होला। त्यस्ता भाग्यमानी विद्यार्थीमा पर्छन्- इतिहासकार नयनाथ पौडेल।
त्रिभुवन विश्वविद्यालयको नेपाली, इतिहास, संस्कृति तथा पुरातत्त्व विषयको स्नातकोत्तर तहको पाठयक्रमको सन्दर्भ सामग्रीमा आफैंले लेखेको अभिलेख सङ्ग्रह र इतिहास संशोधनको प्रमाण-प्रमेयलाई समावेश गरेपछि उनले २०३१ मा एमए गरेका हुन्। प्राध्यापक मुकुन्द अर्याल र विभागीय प्रमुख प्रा.डा. हितनारायण झाले ‘लौ पौडेलजी, आफूले लेखेको पुस्तक आफैं पढी परीक्षा दिनू’ भनेको कुरा उनी आज पनि सगौरव सम्झना गर्छन्।
नेपालको शैक्षिक इतिहासको परिचर्चा गर्दा इतिहासकार नयराज पन्तले चलाएको पाठशालाको महत्त्वपूर्ण योगदान छ। त्यसै पाठशालामा पढेका कैयौं विद्यार्थीमध्ये २१ जनाले नेपाली इतिहासको परिशीलनमा योगदान पुर्याए (महेशराज पन्त, को हुन् त नयराज पन्त?, २०७१, पृष्ठः १६२)।
नेपालको इतिहासको अन्वेषणमा व्यक्ति मात्र होइन, परिवार नै लागेका देखिन्छन्। नयराज पन्त र उनका दुवै छोरा (महेशराज पन्त र दिनेशराज पन्त), शङ्करमान राजवंशी र उनका छोरा श्यामशुन्दर राजवंशी (श्यामसुन्दर संशोधन-मण्डलका सदस्य होइनन्) र भोलानाथ पौडेल र उनका छोरा नयनाथ पौडेलले इतिहास लेखनमा घराना संस्कृतिको स्थापना गरे। उनका अर्का छोरा रुक्मनाथ पौडेलले गुरु नयराज पन्तको सहायक भएर तत्कालीन नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठानमा करीब दश वर्ष इतिहास सम्बन्धी काम गरेको यस सन्दर्भमा प्रासङ्गिक हुनेछ।
संशोधन-मण्डलमा संलग्नता
१४ माघ २००२ मा भोलानाथ र लीलादेवी पौडेलको जेठो सन्तानका रूपमा जन्मे, नयनाथ। उनले घरपरिवारबाट नै अनौपचारिक अध्ययन थाले। उनका पिता भोलानाथले विसं २००५ मा बनारस गई सिद्धान्त ज्योतिषमा शास्त्री परीक्षा उत्तीर्ण गरी नेपाल फर्किएपछि २००८ सालको आसपास नयराज पन्तकै शैली र पाठ्यक्रममा आधारित रहेर ठूलाघर, लुभुमा गुरुकुलीय पाठशाला खोली अध्यापन कार्यको शुरुआत गरे (भक्तपुरको राजकुलो, पृष्ठः १२)।
माथिल्लो पाठे (अग्रज)ले तल्लो पाठेलाई पढाउनुपर्थ्यो, जसले गर्दा विद्यार्थीको पढाइमा निखार आउँथ्यो। विद्यार्थीले पनि प्रत्येक दिनको मुठीदान स्वरूप महीनाको ३ माना चामल गुरुदक्षिणाका रूपमा पाठशालालाई अनिवार्य बुझाउनुपर्ने नियम थियो।
यसरी लुभुमा आफ्नै पिताद्वारा स्थापित पाठशालामा ६ वर्षको उमेरदेखि नयनाथले विधिवत् संस्कृत भाषा तथा व्याकरण, ज्योतिष, काव्य, प्राचीन लिपि लगायतका विषयको गहन अध्ययन गरेका थिए। त्यहाँ नयनाथ पौडेल, लक्ष्मण सत्याल, अक्रूर कुइँकेल लगायत ४०-४२ जना पढ्थे।
नयराज पन्तकै शैली र पाठ्यक्रममा अध्यापन हुने त्यस पाठशालाको पढाइ निकै कठिन र अनुशासित थियो। माथिल्लो पाठे (अग्रज)ले तल्लो पाठेलाई पढाउनुपर्थ्यो, जसले गर्दा विद्यार्थीको पढाइमा निखार आउँथ्यो। विद्यार्थीले पनि प्रत्येक दिनको मुठीदान स्वरूप महीनाको ३ माना चामल गुरुदक्षिणाका रूपमा पाठशालालाई अनिवार्य बुझाउनुपर्ने नियम थियो।
लुभुमा स्थापित पाठशालामा विद्यार्थीहरूलाई पढाउन र उनीहरूको प्रतिभाको परीक्षण गर्न प्रत्येक अष्टमी र परेवा तिथिको दिन नयराज पन्त लुभुमा जाने गरेको उनले आफ्नो लेखमा उल्लेख गरेका छन् (लिच्छवि संवत्को निर्णय, पृष्ठः १२-१४)।
भोलानाथ पौडेलले स्थापना गरेको पाठशाला प्रति नयराज पन्तको मोहबारे नयनाथ पौडेल यसरी सम्झना गर्छन्, “श्रीगुरु बिहानै अढाई तीन घण्टा हिंडेर लुभु पाठशाला आउनुहुन्थ्यो। बाहुन-बाहुन भए तापनि श्रीगुरुका लागि हाम्रो भातभान्सा नचल्ने।
त्यसैले भोजनका लागि लुभु महालक्ष्मी मन्दिर अगाडि देवीका लागि छाडिएका बाख्राहरूको दूध लिन बिहान चार बजे नै उठेर त्यहाँ पुग्नुपर्थ्यो। ढिलो गएमा पाइन्नथ्यो। धेरैजसो बाख्राको पछाडिको खुट्टा समात्ने काम मेरै हुन्थ्यो। त्यसपछि धानको लावा, मकै, खट्टे, फलफूल, दूध, तरकारी गरेर गुरुका लागि भोजन तयार गर्नुपर्ने जिम्मेवारी मेरी आमाको हुन्थ्यो।”
लुभु पाठशालाका विद्यार्थीले महाबौद्धस्थित नयराज पन्तको पाठशालामा गएर पनि पाठ बुझाउने चलन पनि थियो। यसबाट आफ्नो चेलाले स्थापना गरेको पाठशालामा नयराज पन्तको आत्मीयता रहेको देखिन्छ। नयराज पन्तका चेला र भोलानाथ पौडेलका चेलाहरूबीच अर्थात् लुभु पाठशाला र महाबौद्ध पाठशालाका विद्यार्थीहरूबीच अभिलेखहरूको खोज, अध्ययन र प्रकाशनमा अघोषित प्रतिस्पर्धा नै हुन्थ्यो ।
नयनाथले आफ्नो पिताद्वारा स्थापित यसै पाठशालामा संस्कृत भाषाको साथसाथै इतिहास लेखनमा आवश्यक पर्ने सबै विषय र विधामा गहन अध्ययन गरे। पाठशालामा आबद्ध विद्यार्थीहरूले ८ वर्षमा क्रमशः रघुवंश (महाकाव्य), पाणिनिको अष्टाध्यायी (व्याकरण), अमरकोश (शब्दकोष) र भट्टिकाव्य (संस्कृत व्याकरण सिकाउने काव्य) लगायतका पाठ्यपुस्तक कण्ठस्थ घोकेर सुनाउनुपर्थ्यो।
६ वर्षको उमेरदेखि प्रारम्भिक संस्कृत भाषा, व्याकरण, साहित्य, लिपि र इतिहासको अध्ययन गर्न थालेका नयनाथ १०-१२ वर्षको किशोरवयमै आफ्नो बुबा र अन्य सहपाठीसँग शिलालेख खोज्न र उतार गर्न दिनभर हिंडेको सम्झना गर्छन्। २ चैत २०१२ मा महेशराज पन्त र नयनाथले 'श्रीबालचन्द्रशर्मा एम.ए. साहित्यरत्नले कालुपाँडेको कजाइँको बारेमा गर्नुभएको डेढअक्कलको निराकरण' शीर्षकमा इतिहास संशोधनको २ संख्या प्रकाशित गरेका थिए।
त्यस लेखमा 'लमजुङसँग सन्धि गर्नुभन्दा पहिले नै पृथ्वीनारायण शाहले कालु पाँडेलाई कजाइँ दिएका थिए’ भन्ने बालचन्द्र शर्माको लेखाइलाई संशोधन गरी लमजुङको सन्धिको बारेमा बुद्धिमानीपूर्वक काम मिलाएको हुनाले कालु पाँडेदेखि खुशी भएका पृथ्वीनारायण शाहले दुनियाँदारहरूसँग र बाइसे-चौबिसेहरूसँग सल्लाह गरी कालु पाँडेलाई कजाइँ दिएका थिए भनी शुद्ध पारिएको छ।
२०१९ सालमा १७ वर्षको हुँदा नयनाथले इतिहास संशोधनको प्रमाण-प्रमेयको सम्पादन मण्डलको सदस्यका रूपमा रहेर काम गरे। इतिहास संशोधनमा लागेका २१ जना सदस्यमध्ये १३ जनाले छोडेर गए तापनि बाँकी ८ जना निरन्तर सक्रिय रहेको नयराज पन्तको लेखबाट जानिन्छ। २०१८ सालमा संशोधन-मण्डल स्थापना हुँदा यिनी संस्थापक सदस्य थिए।
विसं २०१८ सालदेखि विसं २०२१ अर्थात् ३ वर्षको बीचमा रामजी तेवारी, देवीप्रसाद भण्डारी, भोलानाथ पौडेल, शङ्करमान राजवंशी, धनवज्र वज्राचार्य, गौतमवज्र वज्राचार्य, महेशराज पन्त र नयनाथ पौडेल गरी आठ जनाको समूहले अभिलेख सङ्ग्रह १२ भागसम्म प्रकाशित गरेको छ, जसमा चौथो भागमा नयनाथ पौडेलको एकल लेखन र सम्पादन रहेको देखिन्छ (नयराज पन्त, लिच्छवि संवत्काे निर्णय, पृष्ठः २१)।
इतिहास संशोधनमा लागेका २१ जना सदस्यमध्ये १३ जनाले छोडेर गए तापनि बाँकी ८ जना निरन्तर सक्रिय रहेको नयराज पन्तको लेखबाट जानिन्छ। २०१८ सालमा संशोधन-मण्डल स्थापना हुँदा यिनी संस्थापक सदस्य थिए।
उल्लिखित आठ जनामा दिनेशराज पन्त समेत थपिई २०२१ सालदेखि इतिहासप्रधान-अनुसन्धानमूलक पत्रिका पूर्णिमा प्रकाशन थालियो। अङ्क १ देखि ६ सम्म सम्पादन सहयोगी भएर नयनाथले विभिन्न लेख प्रकाशन गरे। तीमध्ये अङ्क १ मा 'पण्डित वाणीविलास पाण्डेको रत्नावली, अङ्क २ मा 'वाणीविलास सिद्धान्त’, अङ्क ३ मा 'दुर्गाकृत्यकौमुदी’, अङ्क ४ मा 'पण्डित वाणीविलास पाण्डेका केही सिद्धान्तहरू’, अङ्क ५ मा 'पण्डित वाणीविलास पाण्डेको दुर्गास्तोत्र’ र अङ्क ६ मा 'पचलीको श्री नानीसाहेब लक्ष्मीदेवीको विसं १८७० को अभिलेख र त्यसको व्याख्या’ गरी जम्मा ६ वटा लेख प्रकाशन गरे। अङ्क ७ देखि पूर्णिमाको सम्पादन सहयोगी समूहमा उनको नाम देखिंदैन।
यी सन्दर्भहरूबाट उनी १९ वर्ष पुग्दानपुग्दै इतिहास विषयको राम्रो अन्वेषक भएका देखिन्छन्। यसरी असीम उत्साहका साथ इतिहास अन्वेषणमा लागेका दिनेशराज पन्त सहितका नौ जना चेलाहरूको कार्यमा नयराज खुशी भएका देखिन्छन्। यसका साथै इतिहासको अध्ययनमा यिनीहरूको निरन्तता रहनेछ वा छैन भन्ने कुरा भविष्यका घटनाले देखाउने भन्दै शङ्का व्यक्त पनि गरेका छन् (इतिहास संशोधनको प्रमाण-प्रमेय, पृष्ठः १०)।
संशोधन-मण्डलमा आबद्ध हुँदाहुँदै नयनाथले २०-२२ सालमा लगभग ३ वर्ष राष्ट्रिय पुस्तकालयमा 'लेखक’ पदमा रहेर सरकारी सेवा गरे। त्यहाँ रहँदा नेपाल राष्ट्रिय पुस्तकालयबाट प्रकाशित भाषा वंशावली भाग १ सम्पादन गरी १८ वर्षकै उमेरमा आफ्नो क्षमता र प्रतिभा उजागर गरे।
पछि उनले २२-२४ सालमा दुई वर्ष भूमिसुधार कार्यालयमा रहेर पनि काम गरे। उनी सानैदेखिको अथक मिहिनेत र पढाइले खारिएका थिए। संशोधन-मण्डलका सदस्यहरूको इतिहास अध्ययनको उत्साह र कामकारबाही देखेर त्रिविका प्राध्यापक र पुरातत्त्व विभागका पदाधिकारीहरू समेत उनीहरूको कामबाट त्रसित भएको, यसै कारण यिनीहरूको जागीर खोस्नुपर्छ भनी धम्की दिएको संशोधन-मण्डलको इतिहासमा पढ्न पाइन्छ (ज्ञानमणि नेपाल, मेरो गुरुकुलीय शिक्षा र सहपाठी, पृष्ठः १२५)।
पूर्णिमा अङ्क १० प्रकाशित भएपछि उनका बुबा भोलानाथ पौडेल पनि संशोधन-मण्डलबाट अलग रहे। उत्साह र ऊर्जाका साथ लागिपरेका संशोधन-मण्डलका सदस्यहरू किन संस्थाबाट पृथक् रहे? त्यो खोजको विषय हो। यद्यपि मुख्य कारण आर्थिक अभाव, त्यस पद्धतिमा बिस्तारै बढ्दै गएको अविश्वास (जागीर खान पाइने सुनिश्चितता नहुनु र त्यहाँको पढाइको सरकारी मान्यता प्राप्त पनि नहुनु) र अन्य अवसरको खोजी नै हो भन्ने महेशराज पन्तको तर्क मनासिब नै लाग्छ (को हुन् त नयराज पन्त ?, पृष्ठः १६३)।
गुरुकुलीय शिक्षाबाट सरकारी जागीर वृत्तिका लागि असम्भव देखेपछि नयनाथले विसं २०२४ सालदेखि जगदम्बा प्रेसमा जागीर शुरू गरे र करीब आठ वर्ष त्यहीं आबद्ध रहे र औपचारिक शिक्षाको थालनी गरे।
'अलगाव' पछि
संशोधन-मण्डलबाट पृथक् रहेपछि शंकरमान राजवंशी पुरातत्त्व विभागमा आबद्ध रहे (हेर्नुहोस्- इतिहासकार शंकरमान राजवंशी जसको मृत्यु कुनै खबर बनेन) भने धनवज्र वज्राचार्य त्रिवि सिनासमा प्रवेश गरे। त्यस्तै, भोलानाथ पौडेल आजीविकाको खोजमा अन्यत्र लागे भने उनका छोरा नयनाथ पौडेल गुरुकुलीय अध्ययनबाट औपचारिक अध्ययनमा लागे।
नयराज पन्तले पहिले नै जुन सन्देह गरेका थिए, अन्ततः त्यो पूरा भयो पनि। २०१३ सालमा शंकरमान राजवंशी पुरातत्त्व विभागमा प्रवेश (ऐजन) गरेको घटनाले नयराजले त्यस प्रकृतिको सन्देह गरेको हुनुपर्छ। यसै बीचमा २०१५ सालतिर नै लुभुको पाठशाला बन्द हुने सङ्केत नयराज पन्तले गरेका छन्।
गुरुकुलीय शिक्षाबाट सरकारी जागीर वृत्तिका लागि असम्भव देखेपछि नयनाथले विसं २०२४ सालदेखि जगदम्बा प्रेसमा जागीर शुरू गरे र करीब आठ वर्ष त्यहीं आबद्ध रहे र औपचारिक शिक्षाको थालनी गरे। यसै क्रममा क्रमशः २०२४ सालमा एसएलसी, २०२६ सालमा आईए, २०२८ सालमा बीए र २०३१ सालमा एमए उत्तीर्ण गरे।
विसं २०३२ सालमा शाखा अधिकृत पदबाट पुनः सरकारी सेवामा प्रवेश गरेपछि उनी जनस्वास्थ्य विषयमा स्नातकोत्तर गर्न संयुक्त राज्य अमेरिका पुगे र जनस्वास्थ्यविद् भएर लामो समय देशको सेवा गरे।
जनस्वास्थ्य विषयलाई आफ्नो आजीविकाको माध्यम बनाए पनि इतिहास प्रतिको उनको अनुराग मरेको थिएन। पछि उनले इतिहास विषयमै 'राजा यक्ष मल्ल र उनको समय’ शीर्षकमा विद्यावारिधि गरी बालापनदेखिको इतिहास प्रेमलाई सार्थक बनाए। हाल उनी लिच्छविलिपि र संवत् सम्बन्धी अनुसन्धान कार्यमा व्यस्त छन्। ७६ वर्षको यो उमेरमा पनि इतिहास सम्बन्धी केही पुस्तक प्रकाशनको तयारीमा छन्।
विशेष गरी पण्डित वाणीविलास पाण्डेको प्रशस्ति-रत्नावली, भाषा वंशावली, पहलमान सिंहको नाटक- अटलबहादुर, हवल्दार-देवीप्रसाद, लिच्छविकालको प्रशासनिक रूपरेखा, वाल्मीकीय रामायणको भावानुवाद, एक दामको चार माना चामल लगायत पुस्तकका स्रष्टा नयनाथ पौडेल इतिहास संशोधन-मण्डल प्रति अनुगृहीत छन् जहाँ उनको बालापन र किशोरवय बितेको थियो।
इतिहास संशोधकहरू आफूले अध्ययन, अनुसन्धान र प्रकाशन गरेका इतिहास संशोधन, विद्यारक्षा, व्याकरण लगायत संशोधनका अनेकौं पत्रहरू आजको नयाँ सडकको मूलढोकामा उभिएर कराउँदै बेच्नुपर्ने अवस्थाको उनी सम्झना गर्छन्।
संशोधन-मण्डल छाडी विषयान्तर गरेकामा नयराज पन्त गुरु खुशी नभए पनि यसमा आर्थिक परिस्थिति नै कारण रहेको उनी बताउँछन्। नयराज पन्त जस्ता १०० जना व्यक्ति जन्मेको भए देश समृद्ध हुन्थ्यो भन्ने तर्क गरेर उनी आफ्नो गुरु प्रति श्रद्धा प्रकट गर्छन्।
अन्त्यमा,
इतिहास अध्ययनको सिलसिलामा नयनाथ पौडेलसँग शिलालेखहरूको खोज, उतार, लिप्यन्तर, भाषान्तरण र समग्रमा इतिहास लेखन र प्रकाशनका अनेकौं अनुभव छन्। किशोर उमेरदेखि नै आफ्ना बुबाको हात समातेर अभिलेखहरूको खोजीमा कान्तिपुर, ललितपुर र भक्तपुरका शहर र गाउँबस्तीका गल्ली र चोक, दरबार र चौकोटहरू घुमेका छन्।
इतिहास संशोधकहरू आफूले अध्ययन, अनुसन्धान र प्रकाशन गरेका इतिहास संशोधन, विद्यारक्षा, व्याकरण लगायत संशोधनका अनेकौं पत्रहरू आजको नयाँ सडकको मूलढोकामा उभिएर कराउँदै बेच्नुपर्ने अवस्थाको उनी सम्झना गर्छन्। त्यस अवस्थाले तत्कालीन समाजको इतिहास प्रतिको दृष्टिकोण प्रस्टिन्छ।
एक उदीयमान अन्वेषकले विषयान्तर गरी आजीविकाको खोजीमा फरक विषयमा लाग्नुपर्ने अवस्था आइपर्नुमा व्यक्ति मात्र होइन कि राज्य र राज्यले इतिहासलाई हेर्ने दृष्टिकोण पनि दोषी छ। नयराज पन्तको गुरुकुलीय शिक्षा र संशोधन-मण्डलका सदस्यहरूलाई प्राज्ञिक मान्यता दिइएको भए, शायद कसैले पनि संशोधन-मण्डल छोड्दैनथे। जनस्वास्थ्यविद्का रूपमा निवृत्तिपछि पनि नयनाथ पौडेल इतिहास लेखनमा पुनः जोडिनु एक किसिमको सत्प्रयास हो।