विमला वली प्रकरणः घटनास्थलका स्थानीयसँग छानबिन समितिको भेट
लुम्बिनी प्रदेशकी स्वास्थ्य तथा परिवार कल्याण राज्यमन्त्री विमला वलीको घटनामाथि छानबिन गर्न बनेको समितिले पीडित भनिएका व्यक्ति र स्थानीयसँग छलफल गरेको छ।
समितिले बुधबार एकराज बस्नेतकी पत्नी मीना, उनकी छोरी र स्थानीयहरूलाई भेटेर छलफल गरेको थियो। समितिका संयोजक लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माले एकराजका परिवार, स्थानीय र प्रहरीसँग छलफल गरेको बताए।
“पीडित पक्षका परिवार, स्थानीय र प्रहरी प्रशासन लगायत सम्बन्धित पक्षसँग छलफल तथा भेटघाटको काम सकायौं,” मन्त्री शर्माले भने‚ “अब हामीलाई दिइएको समयभित्र प्रतिवेदन बनाएर मन्त्रिपरिषद्मा पेश गर्छौं, सोही आधारमा सरकारले निर्णय गर्छ।”
राज्यमन्त्री वलीले गत जेठ ३१ गते एकराजको घरमा पुगेर आफू र छोरीलाई हातपात गरेको मीनाले बताउँदै आएकी छन्। लुम्बिनी प्रदेश सरकारले उक्त घटनाबारे छानबिन गर्न मन्त्री शर्माको संयोजकत्वमा महिला, बालबालिका तथा कानून मन्त्री रमा घर्ती र मुख्य न्यायाधिवक्ता श्रीकृष्ण सुवेदी रहेको छानबिन समिति बनाएको थियो।
राज्यमन्त्री वलीले भने बाहिर आएको कुरा हल्ला मात्र भएको बताएकी छन्। उनले आर्थिक कारोबार मिलाउन एकराजको घरमा गएको वेला आफूलाई फसाउन षड्यन्त्र गरिएको जिकिर गर्दै आएकी छन्।