'प्रेमी'को घरमा घुसेर पत्नी र छोरीमाथि मन्त्रीको हैकम!
मन्त्री विमला वलीले दाबी गरे जस्तै एकराज उनका पति रहेको पुष्टि भए दुवै जनालाई बहुविवाहमा सजाय हुन सक्छ। तर, प्रहरीले एकराजकी पत्नीले विमला विरुद्ध दिएको ‘अभद्र व्यवहार’ को जाहेरीमै कारबाही अघि बढाउन सकेको छैन।
सञ्चार माध्यम र सामाजिक सञ्जालमा गत मंगलबार बिहानैदेखि एउटा खबर फैलियो। लुम्बिनी प्रदेशकी बहालवाला स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी खत्री वलीले 'प्रेमी' भनिएका एकराज बस्नेतको घरमै घुसेर श्रीमती मीना र ६ वर्षीया छोरीलाई हातपात गरेको विषयले दिनैभर चर्चा पाइरह्यो।
विमला यसअघि पनि विवादमा आइरहेकै व्यक्ति हुन्। यस पटक सरकारी झण्डावाल गाडीमा निजी सुरक्षा अधिकारी (पीएसओ) सहित सर्वसाधारणको घरमा घुसेर कुटपिट गर्नु अस्वाभाविक थियो।
घटनापछि मीनाका आफन्तले विमलालाई सोही घरमा थुनेर प्रहरीलाई खबर गरेका थिए। इलाका प्रहरी कार्यालय तुलसीपुरको टोलीले उनलाई नियन्त्रणमा लिएको थियो। इलाका प्रहरी कार्यालय बाहिर स्थानीय जम्मा भएर मन्त्रीलाई कारबाहीको माग गरेका थिए। खबर सार्वजनिक हुनासाथ जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्ले आफैं तुलसीपुर पुगेका थिए।
स्थिति थप तनावपूर्ण बन्दै गएपछि मध्याह्न १२ बजेतिर प्रहरीले कडा सुरक्षाबीच विमलालाई जिल्ला प्रहरी कार्यालय घोराही लगेको थियो। दाङ प्रहरीका अनुसार, उनी बेलुकी अबेरसम्मै त्यहाँ बसिन्। लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीको चर्को दबाबपछि मध्यराति विमलालाई पीएसओको जिम्मा लगाएर छाडिएको थियो।
प्रहरीका अनुसार, राज्यमन्त्री विमलाले आफ्नो तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गरेको र पैसा समेत नदिएकाले आवेगमा आएर बस्नेतको घर गएको बताएकी छन्। तर, लेनदेनको रकम के–कति हो, खुलाएकी छैनन्।
के थियो घटना?
विमला तुलसीपुर–५ बसपार्क, आलुमन्डीस्थित एकराजको घरमा बिहान पौने ९ बजे प्रवेश गरेकी थिइन्। मीनाका अनुसार, उनी लगातार गेटमा हान्दै खोल्न भनिरहेकी थिइन्। बाहिरै हल्लाखल्ला हुने गरी चिच्याइरहेकी विमलालाई मीनाले गेट खोलिदिइन्।
भित्र छिर्नासाथ उनी ‘मेरो एकराज खोइ’ भन्दै सोधखोज गर्न थालिन्। मीनाले ‘मेरो श्रीमान् घरमा हुनुहुन्न’ भन्दा विमलाले उल्टै ‘तेरो होइन, मेरो श्रीमान्’ भन्दै उनलाई कुटपिट गरिन्। यो देखेर छुट्याउन गएकी ६ वर्षकी छोरीलाई पनि उनले हातपात गरेको मीनाले जाहेरीमा उल्लेख गरेकी छन्।
मीनाले अभद्र व्यवहारमा कारबाही माग्दै जाहेरी दिएकी हुन्। तर, अझै मुद्दा दर्ता भएको छैन। राज्यको मन्त्रीलाई पक्राउ गर्ने र थुन्ने कानून नभएकाले अहिले विमला बुटवल पुगिसकेको दाङ प्रहरीले बताएको छ। व्यवस्थापिका संसद् चलिरहेको सन्दर्भमा सभामुखको पत्र वा आदेश विना प्रहरीले केही गर्न नसक्ने एक प्रहरी अधिकारी बताउँछन्।
को हुन् विमला?
२०७४ सालको निर्वाचनमा दाङ क्षेत्र नम्बर ३ ‘ख’ बाट निर्वाचित उत्तरकुमार वलीकी श्रीमती हुन्, विमला। २०७५ फागुन १० मा दाङमै सवारी दुर्घटनामा घाइते भएका उत्तरकुमारको उपचारका क्रममा काठमाडौंमा मृत्यु भएको थियो। त्यसपछि रिक्त रहेको सीटमा तत्कालीन नेकपाले विमलालाई उम्मेदवार बनाएको थियो।
पार्टीभित्र अरूलाई उठाउनुपर्ने माग भए पनि अन्त्यमा विमलालाई नै उठाउने निर्णय नेकपाले लिएको थियो। तत्कालीन नेकपाका लुम्बिनी प्रदेश इन्चार्ज तथा मुख्यमन्त्री शंकर पोखरेलले पार्टी एकताको सन्देश दिन भन्दै माओवादी पृष्ठभूमिका प्रदेश सचिव जगप्रसाद शर्मालाई विमलाको चुनावी ‘कमान्डर’ बनाइदिएका थिए।
सोही क्रममा उनी नेता शर्मा र प्रदेश सांसद दामा शर्मासँग निकट भइन्। यससँगै विमला पूर्व एमालेसँग टाढिएर पूर्व माओवादीका नेता–कार्यकर्तासँग नजिकिएको बताइन्छ। प्रेमी भनिएका एकराज भने उनीसँग चुनावपछि मात्र जोडिएको देखिन्छ। एकराज वाईसीएलका कार्यकर्ता हुन्, व्यावसायिक रूपमा काठ मिल व्यवसायी।
विमलासँग निजी सवारी साधन थिएन। त्यसैले नेता शर्माद्वयले विमलालाई गाडी व्यवस्थापन गरिदिन एकराजलाई भने। एकराजले उनलाई आफ्नै गाडीमा चढाउन थाले। त्यसै क्रममा उनीहरू नजिकिएको स्रोतको दाबी छ।
विमलाले पति उत्तरकुमार विरुद्धको वैदेशिक रोजगारीको ठगी मुद्दा पनि खेपिरहेकी छन्। त्यसैको पेसीका लागि सर्वोच्च अदालत आउजाउ गर्ने क्रममा उनै एकराजले विमलालाई आफ्नो गाडीमा राखेर काठमाडौं पुर्याएका थिए।
सोही क्रममा सिउँदोमा सिन्दूर हालेकी विमलाले आफूलाई गालामा चुम्बन गरिरहेको तस्वीर एकराजले सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए। केही बेरमा उनले उक्त ‘पोस्ट’ हटाए पनि पहिल्यै छ्यापछ्याप्ती भइसकेको थियो।
सधैं विवादमा
राजनीतिमा आएदेखि नै अनेक विवादले चर्चामा छिन् विमला। पति उत्तरकुमार केन्द्रमा एमाले अध्यक्ष केपी शर्मा ओली र जिल्लामा एमाले नेता पोखरेलका अति विश्वासपात्र थिए। उत्तरकुमारको सपना पूरा गर्न भन्दै पोखरेलले नै विमलालाई उपनिर्वाचनमा उम्मेदवार बनाएका थिए। उनलाई जिताउन आफैं खटिएका थिए।
सर्वोच्च अदालतबाट नेकपाको एकता खारेजीपछि विमला एमालेतिर लागिन्। पार्टी विभाजनपछि बसेको एमाले संसदीय दलको बैठकमा पनि सहभागी थिइन्। तर, माओवादीले विभाजनपछि वलीले माओवादी नै रोजेको दाबी गर्दै आएको छ। माओवादीको समेत समर्थनमा मुख्यमन्त्री बनेका पोखरेलले राजीनामा दिएर पुनः शपथग्रहण गर्ने तयारीका वेला सांसद वली माओवादी प्रवेश गर्न लागेको खबर बाहिरियो।
२०७८ साउन १५ गते विमला एकाएक सम्पर्कविहीन भएपछि माओवादीले तत्कालीन सरकारको नेतृत्व गरेको एमालेलाई अपहरणको आरोप लगायो। यता, एमालेले माओवादीले नै लुकाएको दाबी गर्यो। एक साताको बीचमा उनी एमालेबाट माओवादी, माओवादीबाट एमाले अनि फेरि माओवादीमै गएका समाचार आए।
पछि साउन २० गते विमलाले पत्रकार सम्मेलन गरी तत्कालीन मुख्यमन्त्री पोखरेलको योजनामा एमाले सचेतक भूमीश्वर ढकाल सहितको टोलीले आफूलाई दाङबाट अपहरण गरी मुख्यमन्त्रीकै निवासमा बन्धक बनाएको दाबी गरिन्। माओवादीले आफ्नो सांसद अपहरण गरेको भन्दै कारबाहीको माग समेत गरेको थियो। तर, यसको पुष्टि कतैबाट भएन।
माओवादीले बनायो राज्यमन्त्री
२०७८ साउन २८ गते माओवादी नेतृत्वमा लुम्बिनी प्रदेश सरकार बन्यो जसलाई विमलाले पनि समर्थन जनाइन्। उनी सरकार गठन लगत्तै मन्त्री बन्ने चर्चा थियो। तर, माओवादीभित्रकै महिला सांसदले आपत्ति जनाएपछि केही सातापछि मात्रै नियुक्त गरिएको हो।
त्यसको एक महीना नबित्दै बहालवाला मन्त्रीको ‘प्रेम–प्रकरण’ सार्वजनिक भयो, एकराजको फेसबूकमा राखिएको सोही तस्वीर मार्फत। आलोचना चुलिएपछि उनीहरू दुवैले उक्त तस्वीर कसैले ‘फोटोशप’ गरेर बनाएको दाबी गरे। विमलाले एकराज आफ्नो भाइ जस्तो भएको बताइन्।
दिदीभाइ भएको दाबी गरेको १० महीनापछि नै अहिलेका प्रकरणले उनीहरूको सम्बन्ध फेरि छताछुल्ल पारिदिएको छ। राज्यमन्त्रीको जिम्मेवारीमा रहेको, नीति निर्माण तहमा पुगेको व्यक्तिले विवाहेतर सम्बन्धका कारण महिला र नाबालिकालाई हातपात गरेको घटनाको सर्वत्र विरोध भइरहेको छ।
‘दुवैले विवाह स्विकारे कारबाही हुन्छ’
घटनाबारे प्राप्त भिडिओ अनुसार राज्यमन्त्री विमलाले एकराज आफ्नो श्रीमान् भएको बताएकी थिइन्। जबकि, कानूनले बहुविवाह वर्जित गरेको छ। घरमा श्रीमती हुँदाहुँदै कसैले अर्को विवाह गरे त्यो गैरकानूनी हुन्छ। यहाँ पनि विमला र एकराज दुवैले विवाह स्विकारे बहुविवाहको कानून आकर्षित हुने अधिवक्ता मीरा ढुंगाना बताउँछिन्।
“बहुविवाह दर्ता नै हुँदैन। त्यसैले दर्ता नभएको कुरालाई कसरी मान्ने? कसैले उजुर गरेको वा बहुविवाहको घटना नै दर्ता भएको भए छुट्टै कुरा हो,” उनी भन्छिन्, “तर उहाँले एउटा विवाहित पुरुषको घरमै गएर त्यत्तिकै मेरो लोग्ने त भन्नुभएन होला। ऊ विवाहित हो भन्ने पक्कै थाहा थियो होला। त्यही रेकर्डका आधारमा उजुरी दर्ता भए कारबाही प्रक्रिया अगाडि बढ्न सक्छ।”
राज्यको जिम्मेवार तहमा रहेको व्यक्तिको यस्तो गतिविधिले समाजमा गलत सन्देश प्रवाह गरेको अधिवक्ता ढुंगानाको भनाइ छ। “त्यत्रो पदमा पुगेको व्यक्तिले त्यो खालको गतिविधि गर्नु कल्पना बाहिरको कुरा हो। यसले समाजमा गलत सन्देश गएको छ,” उनी भन्छिन्।