न्यायाधीश-वकील घूस प्रकरण छानबिन गर्न समिति गठन
न्यायाधीश र कानून व्यवसायीबीच भएको घूस लेनदेन प्रकरणको छानबिन गर्न न्याय परिषद्ले छानबिन समिति गठन गरेको छ।
बुधबार बसेको न्याय परिषद्को बैठकले न्याय परिषद्का सदस्य रामप्रसाद श्रेष्ठको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको हो। समितिमा उच्च अदालत पाटनका कायममुकायम मुख्य न्यायाधीश महेशप्रसाद पुडासैनी र न्यायाधीश महेश शर्मा पौडेल सदस्य छन्।
न्याय परिषद् सचिवालयका प्रवक्ता मानबहादुर कार्कीका अनुसार, छानबिन समितिलाई ४५ दिनको म्याद दिइएको छ।
व्यवसायी इच्छाराम तामाङलाई धरौटीमा छुटाउने विषयमा काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र कानून व्यवसायी रुद्रप्रसाद पोखरेलबीच घूस लेनदेनका विषयमा भएको कुराकानीको अडियो न्यूज २४ टेलिभिजनले मंगलबार सार्वजनिक गरेको थियो।
त्यसमा कानून व्यवसायी पोखरेलले व्यवसायी तामाङलाई १० करोड धरौटीमा छुटाउँदा दुई करोड आफूहरूलाई आउने बताएका थिए। त्यसमा न्यायाधीश कोइरालाले सहमति जनाउँदै माथिल्लो निकायलाई जानकारी गराउनुपर्ने बताएका थिए।
त्यसपछि आज बसेको न्याय परिषद् बैठकले यसको छानबिन गर्न समिति गठन गरेको हो। समितिले प्रतिवेदन नबुझाउँदासम्म न्यायाधीश कोइरालालाई कार्यसम्पादनमा रोक लगाइएको छ।
न्यायाधीश कोइरालाले भने आफूले कुनै पनि अनुचित कार्य नगरेको बताएका छन्। उनले आफूमाथि छानबिन गर्न आग्रह गरेका छन्।