न्यायाधीशसँग घूस लेनदेनको अडियो छानबिन गर्न बारको माग
नेपाल बार एशोसिएशनले न्यायाधीश र कानून व्यवसायीबीच भएको भनिएको दुई करोड लेनदेनको अडिओ छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेको छ।
व्यवसायी इच्छाराम तामाङलाई धरौटीमा छुटाउन काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्रप्रसाद पोखरेलबीच लेनदेनको भएको अडियो न्यूज २४ टेलिभिजनले मंगलबार सार्वजनिक गरेको थियो। जसमा अधिवक्ता पोखरेलले तामाङलाई १० करोडमा छुटाउँदा दुई करोड रुपैयाँ आफूहरूलाई आउने न्यायाधीश कोइरालालाई भनेका छन्।
न्यायाधीश कोइरालाले पनि त्यसमा सहमति जनाएका छन्। उनले आफू तयार रहेको माथिल्लो निकायलाई जानकारी गराउनुपर्ने अडियोमा भनेका छन्। अधिवक्ता पोखरेलले सर्वोच्च अदालतका प्रधानन्यायाधीश र काठमाडौं जिल्ला अदालतका प्रमुख न्यायाधीशलाई आफूले मिलाउने बोलेका छन्।
यस्तो अडियो सार्वजनिक भएपछि नेपाल बारले छानबिन गर्न माग गरेको हो। बार महासचिव अन्जिता खनालले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, “सार्वजनिक भएको अडियो समाचारका सम्बन्धमा सोको आधिकारिकता र सत्यतथ्य बेहोराको अनुसन्धान तथा छानबिन गरी उक्त कार्यमा कोही कसैको संलग्नता रहेको पाइएमा कसूरदारलाई कानूनी दायरमा ल्याउनका लागि यस नेपाल बार एशोसिएशन सम्बन्धित नियमनकारी निकायहरूसँग जोडदार माग गर्दछ।”
यसलाई बारले अमर्यादित कार्य भनेको छ। “नागरिकको आस्था र धरोहरको अन्तिम केन्द्रका रूपमा रहेको न्यायपालिकाको साख श्रीवृद्धिमा मुख्य भूमिका निर्वाह गर्ने न्यायाधीश, कर्मचारी तथा कानून व्यवसायीहरूबाटै यस्ता किसिमका अवाञ्छित, अमर्यादित र अनुचित कार्यहरूको नेपाल बार एशोसिएशन घोर निन्दा गर्दछ,” विज्ञप्तिमा भनिएको छ।
व्यवसायी तामाङलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गत असोज १८ गते पक्राउ गरेको थियो। उनलाई सिभिल सेभिङ एवं क्रेडिट को-अपरेटिभमा बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा पक्राउ गरिएको थियो।
व्यवसायी तामाङ, उनकी पत्नी र छोरी सहित ४२ जना विरुद्ध ठगी र संगठित अपराधमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो। त्यही मुद्दामा तामाङलाई धरौटीमा छुटाउन न्यायाधीश र कानून व्यवसायीबीच लेनदेन भएको अडियो सार्वजनिक भएको हो।
अडियोमा न्यायाधीश कोइरालाले सहमति जनाएका भए पनि २०७८ पुस १४ गते तामाङ र केशवलाल श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएका थिए। अन्य आरोपी भने धरौटीमा छुटेका थिए।