एकै दिन अत्यधिक बढ्यो इन्धनको मूल्य, गाडी र हवाई भाडा
एकै दिन अत्यधिक मात्रामा इन्धनको मूल्य बढेको छ भने गाडी र हवाई भाडा पनि बढाइएको छ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य अत्यधिक बढाएको हो। निगमले पेट्रोलको मूल्य अहिलेसम्मकै सबैभन्दा बढी बढाएको छ। यसअघि पाँचदेखि १० रुपैयाँ बढाउँदै आएको भए पनि आज भने २१ रुपैयाँले बढाएको छ। अब पेट्रोलको मूल्य प्रति लिटर १९९ पुगेको छ।
त्यस्तै, डिजेल र मट्टीतेलको मूल्य २७ रुपैयाँले बढेको छ। जबकि, मट्टीतेलमा निगमले नाफा कमाउँदै आएको छ। अब निगमलाई मट्टीतेलमा प्रति लिटर ४३ रुपैयाँ नाफा हुनेछ।
आन्तरिकतर्फ हवाई इन्धनको मूल्य पनि निगमले नाफा कमाउने गरी बढाएको छ। आज निगमले प्रतिलिटर १९ रुपैयाँले बढाएर १८५ पुर्याएको छ। यसमा प्रतिलिटर १३ रुपैयाँ ६१ पैसा नाफा हुनेछ।
इन्धनको मूल्य बढेसँगै सार्वजनिक यातायात र हवाई भाडा बढेको छ। यातायात व्यवस्था विभागले गाडीको भाडा पनि अत्यधिक बढाएको छ।
विभागले यात्रुवाहक सवारी साधनमा ५.३ प्रतिशत, ढुवानीका साधनको पहाडी रुटमा ६.९४ प्रतिशत र तराईका रुटमा ७.७ प्रतिशतले ढुवानी भाडा बढाएको हो।
एक साताअघि पनि भाडा बढाएको थियो। त्यति वेला यात्रुवाहक सवारी साधनमा २.५ प्रतिशत, ढुवानीका साधनको पहाडी रुटमा ३.३ प्रतिशत र तराईका रुटमा ३.७ प्रतिशतले बढाएको थियो।
हवाई भाडा पनि अत्यधिक बढेको छ। नेपाल वायुसेवा सञ्चालक संघले १७० देखि ८४० रुपैयाँसम्म भाडा बढाएका छन्। अब सबैभन्दा कम काठमाडौं-सिमराको चार हजार १९५ र सबैभन्दा बढी काठमाडौं-धनगढीको भाडा १६ हजार ८०५ रुपैयाँ पुगेको छ।
इन्धन मूल्य बढेसँगै गाडी र हवाई भाडा बढ्दा महँगी पनि बढ्नेछ। यसको असर आम सर्वसाधारणमा दैनिकीमा पर्ने भएको छ।