मनोज पाण्डेलाई मानव बेचबिखन मुद्दामा पुर्पक्षका लागि थुनामा राख्न आदेश
सौन्दर्य प्रतियोगितामा सहभागी युवतीले सार्वजनिक गरेको घटना सम्बन्धी मुद्दामा काठमाडौं जिल्ला अदालतले मनोजकुमार जैसी अर्थात मनोज पाण्डेलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ।
सोमबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले पाण्डेलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको होे।
उनी विरुद्ध सरकारी वकीलको कार्यालयले दुई वटा मुद्दा लगाएको थियो। उनलाई मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा राख्न आदेश भएको हो।
त्यस्तै, उनी विरुद्ध बाल यौन दुरुपयोग सम्बन्धी मुद्दा पनि लगाइएको थियो। यसमा भने अदालतले एक लाख धरौटी माग गरेको छ। यो मुद्दामा एक लाख धरौटी तिरे पनि उनले मानव बेचबिखन मुद्दामा जेलमै बस्नुपर्नेछ।
सन् २०१४ मा मिस ग्लोबल इन्टरनेशनलमा सहभागी १६ वर्षीय किशोरीले आफूमाथि बलात्कार भएको एक महीनाअघि सार्वजनिक गरेकी थिइन्। सौन्दर्य प्रतियोगिता सञ्चालक पाण्डे र उनका सार्थीहरूले बलात्कार तथा यौन दुर्व्यवहार गरेको उनको भनाइ थियो।
त्यसपछि प्रहरीले पाण्डेमाथि छानबिन थालेको हो। आठ वर्षअघिको घटना भएकाले बलात्कार सम्बन्धी प्रमाण नपुग्ने भएपछि बाल यौन दुरुपयोग र मानव बेचबिखन तथा ओसारपसार मुद्दा लगाइएको थियो।