ब्यूटी पेजेन्टमा सहभागी युवतीमाथि सञ्चालकले नै बलात्कार गरेको आरोप
ब्युटी पेजेन्टमा सहभागी युवतीलाई सञ्चालकले नै बलात्कार र यौनशोषण गरेको पीडित युवतीले सार्वजनिक गरेकी छन्।
उनले सामाजिक सञ्जाल टिकटक मार्फत आफूमाथि आठ वर्षअघि बलात्कार र यौनशोषण भएको बताएकी हुन्। सन् २०१४ मा भएको ‘मिस ग्लोबल इन्टरनेशनल’ ब्यूटी पेजेन्टका क्रममा होटलमा आफूमाथि बलात्कार भएको उनले टिकटक भिडिओमा भनेकी छन्।
आफूलाई बलात्कार गर्ने र बलात्कारमा संलग्न व्यक्तिलाई साथ दिनेहरूको थर र उनीहरूको पद पनि खुलाएकी छन्। ब्यूटी पेजेन्ट सञ्चालक र उनका साथी मिलेर बेहोस बनाई बलात्कार गरेको उनले बताएकी छन्।
त्यति वेला ब्यूटी पेजेन्टमा सहभागीलाई पनि त्यसबारे जानकारी गराएको उनले बताएकी छन्। तर, कसैले पनि आफ्नो कुरा नपत्याएको उनको भनाइ छ।
त्यसपछि यही घटनाका कारण दुई पटक आत्महत्याको प्रयास गरेको उनले भिडिओमा बताएकी छन्। त्यसको असरले अहिले पनि थेरापी गरिरहनुपरेको उनको भनाइ छ।
यतिका वर्षसम्म पनि यो पीडा कम नभएपछि अहिले बोल्न बाध्य भएको उनले बताएकी छन्। “मैले यो कुरा धेरै वर्ष मनमा राखें, तर म सन्चो भइनँ,” उनले भनेकी छन्, “मैले थेरापी गरें, कति पैसा खर्च गरेर औषधि खाएँ, सन्चो भइनँ।”
आफूले लामो समय यो अपराध सहेको बताउँदै अरूले यस्तो भोग्न नपरोस् भनेर सार्वजनिक गरेको उनको भनाइ छ।उनले भिडिओमा भनेकी छन्, “अहिले म टिकटकमा केटाकेटीहरू सुटिङमा गएको देख्छु। मलाई उनीहरूको चिन्ता लाग्छ। यदि तिमी भोलि मोडल हुन चाहन्छौ भने आफ्नी ममीलाई नलिई नजाऊ। मैले गरेको जस्तो गल्ती नगर।”
उनको टिकटक भिडिओ सार्वजनिक भएपछि विभिन्न क्षेत्रका व्यक्तिहरू पीडित युवतीको पक्षमा बोल्न थालेका छन्।