एसपीपीबारे ओली भन्छन्- प्रधानसेनापतिले पत्र लेखेका रहेछन्, मलाई बताइएन
अमेरिकी स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) बारे प्रधानसेनापतिले अमेरिकी दूतावासलाई लेखेको पत्रका विषयमा आफूलाई जानकारी नदिएको नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बताएका छन्।
एमालेबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई शुक्रबार काठमाडौंमा प्रशिक्षण दिने क्रममा बोल्दै अध्यक्ष ओलीले एसपीपीबारे प्रष्टीकरण दिएका हुन्। “२०७२ कात्तिक १० गते त्यति वेलाका प्रधानसेनापति राजेन्द्र क्षत्रीले अमेरिकी दूतावासलाई पत्र लेखेको रहेछ,” तत्कालीन प्रधानमन्त्री ओलीले भने, “जबकि, त्योभन्दा १५ दिनअघि म प्रधानमन्त्री भइसकेको थिएँ। त्यो कुरा बताइएन, गुपचूपै राखियो।”
शुक्रबार बिहान प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको प्रधानसेनापति प्रभुराम शर्माले तत्कालीन प्रधानमन्त्रीलाई सोधेर नै पत्र पठाएको बताएका थिए। तर, त्यति वेलाका प्रधानमन्त्री ओलीले भने आफूलाई जानकारी नदिएको बताए। “सामान्यतया राजदूतावासलाई प्रधानसेनापतिले पत्र लेख्दैन। रक्षा मन्त्रालयको काम हो। परराष्ट्र मन्त्रालयको काम हो,” ओलीले भने, “अमेरिकी राजदूतावासलाई पत्र लेखेको कसैलाई थाहा भएन।”
एमाले अध्यक्ष ओली २०७२ असोज २४ गते प्रधानमन्त्री नियुक्त भएका थिए भने कात्तिक १० गते सेनाले एसपीपीमा सहभागिताका लागि अमेरिकी दूतावासलाई पत्र पठाएको थियो। त्यसपछि पनि २०७४ वैशाख २४ गते अमेरिकी सेनाको इन्डो-प्यासिफिक कमान्डलाई सेनाले पत्र पठाएको ओलीले बताए। त्यो पत्रमा पनि एसपीपीमा सहभागिताका लागि आग्रह गरिएको ओलीको भनाइ थियो।
१ जुन २०१९ मा आएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एसपीपीलाई इन्डो-प्यासिफिक रणनीतिको अङ्ग भनेपछि आफूले छानबिन गरेको ओलीको भनाइ थियो। परराष्ट्र सचिवको नेतृत्वमा गठन भएको छानबिन समितिले एसपीपीमा सहभागी हुन उपयुक्त नभएको निष्कर्ष निकालेपछि आफूले त्यसलाई रोकेको ओलीको दाबी थियो।
“परराष्ट्र सचिवको नेतृत्वको छानबिन समितिले रिपोर्ट दियो- यो ठीक छैन। यसमा हामी सहभागी हुन सक्दैनौं,” एमाले अध्यक्ष ओलीले भने, “त्यसपछि हामीले एसपीपी अस्वीकार गर्यौं।”
अहिले आएर फेरि शेरबहादुर देउवा नेतृत्वको सरकार एसपीपीमा संलग्न हुन खोजेको ओलीको जिकिर थियो। तर, सरकारले भने एसपीपीमा संलग्न नहुने जनाइसकेको छ। शुक्रबार संसदीय समितिको बैठकमा पनि परराष्ट्र मन्त्री नारायण खड्काले एसपीपीमा संलग्न नहुने बताएका थिए।