महिला कर्मचारीसँग काम गर्न अप्ठ्यारो हुन्छ भन्ने वडाध्यक्षले मागे माफी
महिला कर्मचारीबाट काम गर्न अप्ठ्यारो हुने भन्दै पुरुष कर्मचारी माग गर्ने खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१० का वडाध्यक्ष अर्जुनकुमार पुरीले क्षमा मागेका छन्।
उनले प्रेस विज्ञप्ति जारी गरी लैङ्गिक विभेद गर्ने कुनै नियत नभए पनि भाषा प्रयोगमा भूल भएको भन्दै क्षमा मागेका हुन्। महिलाप्रति वडाको साथ‚ सहयोग र उच्च सम्मान रहने पुरीले बताएका छन्।
“सामाजिक सञ्जालहरूमा आए जस्तो महिला भएकै कारण काम गर्न सक्नुहुन्न भन्ने आशय पटक्कै होइन‚” विज्ञप्तिमा उल्लेख छ‚ “भूलवश त्यस्तो भाषा प्रयोग हुन गयो। हाम्रो नियत सही हुँदाहुँदै पनि प्रयोग भएको भाषाले पर्न गएको असरप्रति आलोचित हुँदै क्षमायाचना गर्दछु।”
वडाध्यक्ष पुरीले दुर्गम ठाउँमा रहेको नवलपुरमा साताको एक दिन वडा कार्यालयले सेवा दिंदै आएकाले त्यस ठाउँमा जान आउन महिला कर्मचारीलाई अप्ठ्यारो होला कि भनेर पुरुष कर्मचारी माग गरिएको प्रष्टीकरण दिएका छन्।
वडाध्यक्ष पुरीले जेठ ३० गते वडा समितिको बैठकबाट निर्णय गराएर महिला वडासचिवको ठाउँमा पुरुष वडासचिव पठाउन माग गरी नगरपालिका कार्यालयमा पत्र पठाएका थिए। जेठ ३१ मा नगरपालिकामा पठाइएको पत्रमा पुरुष कर्मचारीको तुलनामा महिला कर्मचारीबाट सेवा प्रवाह असहज हुने उल्लेख छ।