महिला कर्मचारीसँग काम गर्न असजिलो हुने भन्दै वडाध्यक्षले मागे पुरुष कर्मचारी
खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१० का वडाध्यक्ष अर्जुनकुमार पुरीले महिला कर्मचारीबाट काम गर्न अप्ठ्यारो हुने भन्दै पुरुष कर्मचारी माग गरेका छन्।
जेठ ३० गते वडा समितिको बैठकबाट निर्णय गराएर महिला वडासचिवको ठाउँमा पुरुष वडासचिव पठाउन माग गरी नगरपालिका कार्यालयमा पत्र पठाएका छन्। जेठ ३१ मा नगरपालिकामा पठाइएको पत्रमा पुरुष कर्मचारीको तुलनामा महिला कर्मचारीबाट सेवा प्रवाह असहज हुने उल्लेख छ।
नगरपालिकाले वडा नम्बर १० को सचिवमा सुशीला दाहाललाई पठाएको छ। तर, वडाध्यक्ष पुरीले दाहाललाई हाजिर गराएर काममा लगाउनुको साटो नगरपालिका समक्ष पुरुष वडासचिव व्यवस्थाको माग गरेका छन्।
“यो वडा भौगोलिक तथा जनसङ्ख्याको हिसाबले ठूलो रहेको साथै यस वडाका साविक ८ र ९ लाई लक्षित गरी हप्ताको एक दिन नवलपुरबाट सेवा प्रवाह गर्ने काम भइरहेको छ,” वडाको पत्रमा उल्लेख छ, “पञ्जीकरण र सामाजिक सुरक्षा भत्ता अनलाइन प्रणालीबाट प्रवाह भइरहेकाले कामको चाप बढी हुने र जनप्रतिनिधिहरू नयाँ भएको कारणले महिला वडासचिवबाट कार्य गर्न असजिलो हुने भएकाले यस वडामा पुरुष कर्मचारीलाई नै वडासचिव व्यवस्था गरिदिन हुन अनुरोध छ।”
हलेसी तुवाचुङ नगरपालिका प्रमुख विमला राई छन्। जनप्रतिनिधिबाटै खुलेआम लैङ्गिक विभेद भएको भन्दै हाल महिला कर्मचारीले पुरीको विरोध गरेका छन्।