सर्वोच्चको फैसलालाई एमाले सांसदले भने- ‘राष्ट्रघाती निर्णय’
प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका विषयमा सर्वोच्च अदालतले गरेको फैसलालाई नेकपा (एमाले)का सांसद विजय सुब्बाले ‘राष्ट्रघाती निर्णय’ भनेका छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद सुब्बाले सर्वोच्चको फैसलाको विरोध गर्नुपर्ने बताए। उनले सरकारले पनि यो फैसाल कार्यान्वयन गर्न नहुने जिकिर गरे।
सर्वोच्चले जेठ १२ गते निजगढ विमानस्थल सम्बन्धी सरकारले गरेका सबै निर्णय रद्द गर्ने फैसला गरेको थियो। वातावरण विनास हुने जनाउँदै त्यसको विकल्प खोज्न सरकारलाई आदेश दिएको थियो। फैसलाको पूर्ण पाठ नआउँदै राजनीतिक दलका नेता त्यसको आलोचनामा उत्रिएका छन्।
आइतबारको प्रतिनिधि सभाको बैठकमा पनि सांसद सुब्बाले त्यसको विरोध गरे। उनले भने, “अदालतको राष्ट्रघाती निर्णयको विपक्षमा बोल्नुपर्छ।”
उनले अदालतको फैसला भन्दैमा यसलाई मान्न जरुरी नभएको जिकिर गरे। “अदालतको फैसलाका नाममा मानिरहने हो भने बेठिक हुन्छ,” सुब्बाले भने।
तराईको चारकोसे झारी विनास गरेर विमानस्थल बनाउन लागेको भन्दै स्थानीय बासिन्दा र संरक्षणकर्मी सर्वोच्च पुगेका थिए। वातावरण विनास हुने जनाउँदै सर्वोच्चले निजगढको विकल्प खोज्नुपर्ने आदेश दिएको थियो।