'अत्यधिक आयोडिन भेटियाे, तर ढिके नुन नै खानुस् भन्न सकिन्न'
‘घरसम्म पुग्दा २० प्रतिशत उडेर जान सक्ने सम्भावनालाई मध्यनजर गरेर राखिएको आयोडिन भान्सामा पुग्दा पनि अहिले बढी नै देखिएको छ।’
आयोडिनको मात्रा बढी भएको नुन नेपालीको भान्सामा प्रयोग भइरहेको सम्बन्धी अध्ययन अन्तर्राष्ट्रिय जर्नल एनल्स अफ द न्यूयोर्क एकेडेमी अफ साइन्सेस मा जेठ ११ गते प्रकाशित भएको छ। विश्व स्वास्थ्य संगठनले सुझाएको आयोडिनको मात्राभन्दा तीन गुणा बढी आयोडिन भएको नुन नेपाली भान्सामा रहेको यो अध्ययनले देखाएको छ।
यसै विषयमा अध्ययनका प्रमुख शोधकर्तामध्ये एक त्रिभुवन विश्वविद्यालयको केन्द्रीय रसायन विभागका उपप्राध्यापक भानुभक्त न्यौपानेसँग हिमालखबरका लागि अनिता श्रेष्ठले गरेको संवादः
किन यो अनुसन्धान गर्नुभयो?
योभन्दा अघि पनि नेपालमा आयोडिनयुक्त नुनबारे अनुसन्धान भएका छन्। ती अनुसन्धानले पनि नेपाली भान्सामा प्रयोग हुने नुनमा आयोडिनको मात्रा बढी देखाएको थियो। यसअघिका अनुसन्धान कम नमूनाका आधारमा भएकाले हामीले अलि धेरै नमूना सङ्कलन गरेर अध्ययन गर्ने विचार गर्यौं। नुनमा प्रयोग भएको आयोडिनको मात्रा परीक्षण गर्नुपर्ने आवश्यकतालाई हेरेरै यो अनुसन्धान थालिएको हो।
अहिले नुनमा आयोडिनको मात्रा कति छ भन्ने बुझ्न अध्ययन गरेका हौं। सन् २०१७ दखि २०१८ सम्म नुनका नमूना सङ्कलन गरेका थियौं। पहाड र तराईका विभिन्न सात वटा जिल्ला छनोट गरेको थियौं। पहाडी क्षेत्रका धनकुटा, काठमाडौं र कास्की तथा तराईका सिराहा, चितवन, रुपन्देही र कैलालीलाई छनोट गरिएको थियो। योसँगै सातै जिल्लामा मौसम परिवर्तन (वर्षा, गर्मी र जाडो मौसम) ले पनि आयोडिनमा असर गर्छ/गर्दैन भनेर हेरिएको थियो। अनुसन्धानका लागि दुई हजार ११७ घरबाट नमूना सङ्कलन गरिएको थियो।
यसका लागि विभिन्न विद्यालयका कक्षा ७ देखि १० सम्मका विद्यार्थीलाई छनोट गरी उनीहरूलाई आफ्नो घरमा पकाउन तयार गरिएको नुन ५० ग्राम ल्याउन लगाएका थियौं। सङ्कलन गरिएका नमूनालाई धनकुटा बहुमुखी क्याम्पस, बुटवल बहुमुखी क्याम्पस, पोखरा विश्वविद्यालय, अमृत विज्ञान क्याम्पस, कैलाली बहुमुखी क्याम्पस, काठमाडौं इन्स्टिच्यूट अफ अप्लाइड साइन्सेस्, वीरेन्द्र बहुमुखी क्याम्पस र जेएस मुरार्का बहुमुखी क्याम्पसमा परीक्षण गरिएको थियो।
यो अध्ययनको नतीजाले के देखायो?
नमूना परीक्षण गर्दा नुनमा ५४.० पीपीएम आयोडिनको मात्रा देखिएको छ। ४० वटा नमूनामा आयोडिन नै देखिएको थिएन। सबै जिल्लामा ४३.५ पीपीएमदेखि ६१.४ पीपीएम आयोडिन भएको पाइएको छ। कैलालीमा ४३.५ पीपीएम (६४.८ प्रतिशत) आयोडिन पाइएको थियो भने रुपन्देहीमा सबैभन्दा बढी ६१.४ पीपीएम (९८.१ प्रतिशत) देखिएको थियो। चितवनमा पनि त्यही हाराहारीमा आयोडिनको मात्रा पाइएको थियो। काठमाडौं, कास्की, धनकुटा र सिराहामा पनि त्यही मात्रा भेटिएको छ।
त्यस्तै, मौसम अनुसार पनि आयोडिनको मात्रा फरक पाइएको छ। वर्षा याममा ५४.५ पीपीएम, गर्मीमा ५६.२ र जाडोमा ५३.७ पीपीएम आयोडिन देखिएको छ। काठमाडौंमा मनसुनमा ५१.७ पीपीएम, गर्मीमा ५७.१ र जाडोयाममा ४९.७ पीपीएम देखिएको छ।
धनकुटामा कुनै मौसमले पनि आयोडिनको मात्रामा फरक पारेको देखिएन। सिरहामा गर्मी र मनसुनको तुलनामा जाडो मौसममा बढी आयोडिन देखिएको छ। कास्की र चितवनमा भने मनसुनमा धेरै मात्रा आयोडिन पाइएको छ।
विश्व स्वास्थ्य संगठनको मापदण्ड र हाम्रो भान्सामा आयोडिनको मात्रा कति फरक देखियो?
विश्व स्वास्थ्य संगठनको सुझाव अनुसार, भर्खर जन्मेका शिशुदेखि ६ वर्षका बालबालिकालाई दैनिक ९० माइक्रोग्राम, ६ देखि १२ वर्षसम्मका बालबालिकालाई १२० माइक्रोग्राम, गर्भवती तथा दूध खुवाउने आमालाई दैनिक २५० माइक्रोग्राम तथा किशोरकिशोरी र वयस्कलाई १५० माइक्रोग्राम आयोडिन दैनिक आवश्यक पर्छ।
नेपालले विश्व स्वास्थ्य संगठनको मापदण्डलाई पालना गर्छ। जस अनुसार, शुरूआतमा नुन प्याक गर्दा ५० पीपीएम राखिनुपर्छ। बिस्तारै आयोडिनको मात्रा घट्दै जान्छ। जुन किराना पसलसम्म पुग्दा ३० पीपीएम र भान्साघरसम्म पुग्दा १५ पीपीएम हुनुपर्छ। तर, अध्ययन अनुसार, भान्साघरमै तीन गुणाभन्दा बढी आयोडिनको मात्रा देखिएको छ।
किन शुरूआतमै धेरै आयोडिन राखिन्छ?
नुनमा भएको आयोडिन उडेर जान्छ भन्ने विचारले नै शुरूआतमै धेरै मात्रा राखेर पठाउने गरिएको हो। नेपालको हकमा भान्सासम्म नुन पुग्दा आयोडिन उडेर १५ पीपीएम पुगोस् भनेर शुरूआतमा ५० पीपीएम प्याकिङ गर्दा र वितरण गर्दा ३० पीपीएम पुग्ने अनुमान अनुसार राखिएको हुन्छ।
यो कार्यक्रम लागू हुँदा नुनमा ‘पोटासियम आयोडाइट’ भन्ने कम्पाउन्ड राखिने गरिएको थियो। यसमा आयोडिन उड्ने सम्भावना थियो। अहिले आएर ‘पोटासियम आयोडेट’ भन्ने कम्पाउन्ड राखिने गरिएको छ। यी दुवै फरक हुन्। पोटासियम आयोडाइट लामो समयसम्म राख्दा गर्मीमा आयोडिन उड्ने सम्भावना हुन्छ, तर अहिले राखिने गरेको पोटासियम आयोडेटले गर्दा आयोडिन उड्ने सम्भावना कमै हुन्छ। नेपालमा १० वर्ष अघिदेखि पोटासियम आयोडेट प्रयोग गर्न थालिएको हो।
नेपालका दुर्गम ठाउँ जस्तो हुम्ला, जुम्लासम्म पुग्दा आयोडिन उड्ने, पकाउँदा पनि उड्ने सम्भावना हुन्छ। विभिन्न अध्ययन अनुसार, आयोडिनयुक्त नुन पकाउँदा झण्डै ३० प्रतिशत आयोडिन उड्न सक्ने सम्भावना हुन्छ। तर, २० प्रतिशत उडेर जान सक्ने सम्भावनालाई मध्यनजर गरेर राखिएको आयोडिन भान्सासम्म पुग्दा पनि अहिले बढी नै देखिएको छ।
नुनमा प्रयोग हुने आयोडिनको मात्रा संसारभर फरक हुन्छ कि समान हुन्छ?
आयोडिनको मात्रा पुर्याउन संसारभर नै नुनको प्रयोग गरिएको छ। ‘युनिभर्सल साल्ट आयोडाइजेशन’ कार्यक्रम अन्तर्गत नेपालमा पनि नुनमा आयोडिन मिसाएर पठाउने गरिएको हो। भान्सामा हरेक पटक नुन प्रयोग गरिन्छ। नुनको कमीले विभिन्न रोग लाग्छन् भन्ने तथ्यलाई विश्लेषण गरी नुनमै आयोडाइज गरेर पठाउन थालियो।
देश अनुसार आयोडिनको मात्रा राखिएको हुन्छ। बाङ्लादेश र श्रीलंकामा ३० पीपीएम, अमेरिकामा ४० पीपीएम र नेपालमा ५० पीपीएम राख्ने गरिएको छ। तर, अनुसन्धान अनुसार ५० पीपीएमभन्दा पनि बढी पाएका छौं। सरकारले तोकेभन्दा बढी, अझ चाहिनेभन्दा बढी नै आयोडिनको मात्रा देखिएको छ।
आयोडिनको मात्रा धेरै हुँदा स्वास्थ्यमा कस्तो असर पर्छ?
थाइरोइड ग्रन्थिको विकासका लागि आयोडिन अत्यावश्यक हुन्छ। यसको कमी वा बढी उपभोगले स्वास्थ्यमा विभिन्न असर गर्न सक्छन। जस्तै हाइपोथाइरोडिज्म, हाइपरथाइरोडिज्म, थाइरोडिटिस्, थाइरोइडको क्यान्सर आदि। तर, यो अध्ययन बढी आयोडिन सेवन गर्दा कस्तो असर गर्छ भन्नेमा केन्द्रित छैन। यसको लागि छुट्टै अनुसन्धानको आवश्यकता छ। लामो समयसम्म आयोडिन धेरै खाँदा हुने समस्याबारे थाहा पाउनु जरुरी छ।
त्यसो भए अब हामी ढिके नुनमै फर्किनुपर्ने हो त?
हाम्रो अध्ययन स्वास्थ्यबारे होइन। कति मात्रा आयोडिन बढी खाँदा स्वास्थ्यलाई कस्तो असर गर्छ भन्ने अध्ययन गरिएको होइन। हाम्रो भनाइ ५० पीपीएम राख्नुको सट्टा ३७ पीपीएम राखे पनि हुन्छ भन्ने हो। यसलाई अलि ‘रिभाइज’ गरेर घटाउँदा पनि हुन्छ।
तर, यसका आधारमा ढिके नुन नै खानुस् भन्न सकिन्न। किनकि, आयोडिनको कमी पनि हुन दिनु भएन। अलि बढी आयोडिन देखिएको हुनाले घटाएर स्थानीय तहमा पठाउँदा राम्रो हुन्छ भन्ने हो। यसको असर पछि के हुन्छ भनेर अहिले भन्न सकिने अवस्था छैन। वर्षौंपछि बढी आयोडिनले गर्दा स्वास्थ्यमा समस्या आएको देखायो भने राम्रो भएन नि। अब कम आयोडिन मिसाउँदा उपयुक्त हुन्छ भनेर सरकारलाई सुझाव मात्र दिएका हौं।