नेपालीले खाने नुनमा अत्यधिक आयोडिन
नेपालमा खाने गरिएको नुनमा अत्यधिक आयोडिन पाइएको एक अध्ययनले देखाएको छ। नेपाली वैज्ञानिकहरूले गरेको अध्ययनमा नेपालीले खाइरहेको नुनमा विश्व स्वास्थ संगठनले सिफारिश गरेको मात्राभन्दा बढी आयोडिन पाइएको हो।
काठमाडौं इन्स्टिच्यूट अफ एप्लाइड साइन्सका निर्देशक वरिष्ठ वैज्ञानिक डा. वसन्त गिरीको टोलीले अनुसन्धान गरेको थियो। उक्त अनुसन्धानबारेको लेख अमेरिकाको द न्यूयोर्क एकेडेमी अफ साइन्सको जर्नल एनल्स मा प्रकाशित छ।
डा. गिरीका अनुसार, नेपालका सात जिल्लाका भान्साबाट दुई हजार ११७ नुनका नमूना सङ्कलन गरेर आयोडिनको मात्रा विश्लेषण गरिएको थियो। उक्त अनुसन्धान अनुसार‚ ९८ प्रतिशत घरमा आयोडिनयुक्त नुन प्रयोग गरिएको पाइएको थियो। ती नमूनाहरूमध्ये करीब एक प्रतिशतमा आवश्यक मात्राभन्दा कम आयोडिन, १३ प्रतिशतमा नमूनामा पर्याप्त आयोडिन र करीब ८४ प्रतिशत नुनका नमूनामा अत्यधिक आयोडिन पाइएको डा. गिरीले जानकारी दिए।
डा. गिरीले भने‚ “हाम्रो अध्ययनले नेपालीहरूले आवश्यकताभन्दा धेरै गुणा आयोडिन सेवन गरिरहेको भेटिएकाले सम्बन्धित निकायले यसलाई गम्भीरतापूर्वक लिएर अब नुनमा मिसाउने आयोडिनको मात्रालाई पुनरावलोकन गर्न जरुरी देखिन्छ।”
विश्व स्वास्थ्य संगठनले भान्सामा हुने नुनमा करीब १५ पिपिएम आयोडिन पर्याप्त हुने जनाएको छ। अत्यधिक आयोडिन सेवन गर्नाले मानव स्वास्थ्यलाई हानि गर्ने विभिन्न अध्ययनले देखाएको डा. गिरीले बताए।