भोट नदिएको निहुँमा काटिएको खानेपानीको पाइप जोडियो
वैशाख ३० गते भएको स्थानीय तह निर्वाचन परिणामलाई लिएर काटिएको खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–३ छोरम्बुको याङसोलास्थित खानेपानीको पाइप जोडिएको छ।
वडाको निर्वाचन परिणाम सार्वजनिक भए लगत्तै जेठ १ गते राति काटिएको खानेपानीको पाइप तीन हप्तापछि मंगलबार जोडिएको हो। निवर्तमान वडाध्यक्ष इन्द्रबहादुर बस्नेत र नानीबाबु बस्नेतले जग्गाधनीलाई भेटेर सहमति कायम गरेको भोलिपल्ट खानेपानी धारा जोडिएको हो।
साविकको छोरम्बु–४ याङसोलाका स्थानीय हरि राईको जग्गामा पर्ने मुहानको पाइप काटिंदा साविकको छोरम्बु–६, ७, ८ र ९ का करीब दुई सय घर बासिन्दा पिउने पानीबाट वञ्चित थिए। नवनिर्वाचित वडाध्यक्ष भूपेन्द्र बस्नेत, खानेपानी उपभोक्ता समितिका अध्यक्ष गणेशबहादुर बस्नेत सहित १३ जनाको टोलीले बिहान ७ बजेदेखि दिउँसो १२ बजेसम्म लगाएर पाइप जोडेको हो।
छोरम्बुमा माथिल्लो टोलबाट कांग्रेसका महेन्द्र राई र तल्लो टोलबाट एमालेका भूपेन्द्र वडाध्यक्षका उम्मेदवार थिए। अघिल्लो निर्वाचनमा तल्लो टोलबाट कांग्रेसका इन्द्रबहादुर विजयी भएको वडामा यसपल्ट एमालेका उम्मेदवार विजयी बन्न पुगे।
कांग्रेसको पकड भएको ठाउँमा कांग्रेसका उम्मेदवारलाई हराउन अन्तर्घात भएको प्रतिक्रिया स्वरूप खानेपानीको पाइप काटिएको बताइएको थियो। यद्यपि, राजनीतिक हिसाबले नभई ‘मादक पदार्थ सेवन गरेका फटाहा र अज्ञात व्यक्ति’ बाट पाइप काटिएको उल्लेख गर्दै दोषीको खोजी गर्ने गरी घटनालाई ‘सेफल्यान्डिङ’ गरिएको जनाइएको छ।
“मुहानदाताले हामीले बिगार गरेको भनेनन्, कसले गरे, के गरे, पत्ता लगाएर कारबाही गर्नुपर्छ भनेका छन्। समझदारी गरेर आज पानी जोडेर आइसक्यौं,” निवर्तमान वडाध्यक्ष बस्नेतले हिमालखबरसँग भने।
पाइप काटिएको विषयलाई राजनीतिक ‘इस्यू’ बनाएर गलत प्रचार भएको निष्कर्ष सहित दुई पक्षबीच सहमति गरेर धारा सञ्चालन गराइएको जानकारी आएको कांग्रेस दिप्रुङ चुइचुम्मा गाउँपालिका सभापति अमृत गिरी बताउँछन्।
वडाको हरेक बूथको अलग अलग गणना गर्दा भोट ‘प्याटर्न’ बाट कांग्रेसलाई कांग्रेसबाट अन्तर्घात भएको खुलेको थियो। वडाको मत परिणाम सार्वजनिक भएकै रात पाइप काटिनुले भोट नहालेकै कारण घटना निम्तिएको पुष्टि हुन्छ।
खानेपानीको पाइप काटिनुका पछाडि वडाको भेगीय राजनीतिको पनि हात छ। पानीको मुहान भएको क्षेत्र र तल्लो क्षेत्रबीचमा बजेटदेखि स्रोत-साधन तानातान हुने गरेको छ।