भोट नदिएको भन्दै माथिल्लो गाउँका बासिन्दाले खानेपानीको पाइप काटे
स्थानीय चुनावमा भोट नदिएको भन्दै माथिल्लो गाउँका बासिन्दाले खानेपानीको पाइप काटेपछि खोटाङको छोरम्बुको तल्लो गाउँका बासिन्दा समस्यामा परेका छन्।
भर्खरै सम्पन्न भएको स्थानीय चुनावमा खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका-३ छोरम्बुको वडाध्यक्षमा नेपाली कांग्रेसबाट महेन्द्र राई र नेकपा (एमाले) बाट भूपेन्द्र बस्नेत उम्मेदवार थिए। यो गाउँ दुई भागमा विभाजित छ। महेन्द्र छोरम्बुको माथिल्लो गाउँका बासिन्दा हुन् भने भूपेन्द्र तल्लो गाउँका बासिन्दा हुन्।
स्थानीय चुनावमा तल्लो गाउँका भूपेन्द्र वडाध्यक्षमा निर्वाचित भए। उनले ३९५ मत पाए। कांग्रेसका महेन्द्र २५५ मत पाएर तेस्रो नम्बरमा रहे। दोस्रो स्थानमा भने २७८ सहित नेकपा (माओवादी केन्द्र) का अजम्बर राई आए। गत निर्वाचनमा कांग्रेसका इन्द्रबहादुर बस्नेत निर्वाचित भएका थिए। उनी पनि तल्लो गाउँकै हुन्।
तल्लो र माथिल्लो गाउँमा कांग्रेसको बाहुल्य छ। यस पटक तल्लो गाउँका कांग्रेसका कार्यकर्ताले आफ्नै उम्मेदवार महेन्द्रलाई मत नदिएको माथिल्लो गाउँका कार्यकर्ताको आरोप छ।
मतगणनाको रुझानले पनि उनीहरूलाई यस्तो आरोप लगाउन बल पुग्यो। यसअघि सबै मतदान केन्द्रका मतपेटिका मिसाएर गणना हुने गरेको थियो। यस पटक प्रत्येक मतदान केन्द्रको छुट्टाछुट्टै मतगणना भएपछि कुन ठाउँबाट कति मत आयो भन्ने अनुमान गर्न सजिलो भयो।
मतगणना सकिएसँगै जेठ १ गते राति खानेपानीको पाइप काटिएको स्थानीय बासिन्दा बताउँछन्। खोटाङका प्रमुख जिल्ला अधिकारी फणीन्द्र दाहालले पनि खानेपानीको पाइप काटिएको विषयमा अनौपचारिक जानकारी आएको बताए। तर, दुई साता बितिसक्दा पनि जोडिएको छैन। जसले गर्दा तल्लो गाउँका बासिन्दा खानेपानीको समस्या भोगिरहेका छन्।
खानेपानीको पाइप काटिएको विषयमा जानकारी आएको र समस्या सुल्झाउन छलफल गर्न नसकिएको कांग्रेस दिप्रुङ गाउँपालिका सभापति अमृत गिरीले बताए। “स्थानीय नेतृत्वलाई बुझ्दा समस्या आएको देखिन्छ,” गिरीले हिमालखबरसँग भने, “छलफलबाटै समस्या समाधान गर्न पहल गर्छौं।”
कांग्रेस वडा कार्यसमितिका सभापति तुलस राई राजनीतिक विवादले नै समस्या आएको बताउँछन्। “म व्यक्तिगत कामले गाउँ बाहिर थिएँ, अहिले घर पुगेको छु,” उनले भने, “यो कांग्रेसले कांग्रेसलाई भोट नहाल्दाको परिणाम हो। सबै पक्षलाई राखेर खानेपानीको समस्या हल गर्नेछु।”
कांग्रेस वडाध्यक्षका उम्मेदवार महेन्द्र भने यसलाई राजनीतिसँग जोड्न नहुने तर्क छन्। स्थानीय जग्गाधनीको पीरमर्का नबुझ्दा समस्या आएको उनको भनाइ छ। “जग्गाधनीले पानी दिन्नँ भनेकै छैन, तर वार्ता र समन्वयमा कोही अघि सरेको देखिएन,” महेन्द्रले भने, “निर्वाचनमा अन्तर्घात गर्नेहरू छलफलमा आउनुपर्यो, हाम्रो कुरा सुनियोस् भन्ने गाउँका भाइहरूको माग छ।”
नवनिर्वाचित वडाध्यक्ष भूपेन्द्रले यस विषयमा छलफल गरेर समाधान निकालिने बताए। “एकपल्ट माथिल्लो गाउँ गएर कुराकानी गरिसकेका छौं। बसेर समझदारी कायम गरौं भन्ने सल्लाह भएको छ,” वडाध्यक्ष बस्नेतले भने, “आज छलफलमा बोलाउनुभएको थियो, तर एक जना प्रतिनिधि गाईघाट गएकाले भ्याएनौं। बिहीबार माथिल्लो गाउँ गएर विवाद हल गर्नेछौं।”
अक्षम्य अपराध
मधुकर उपाध्या, जलाधारविद्
आफूले भने जस्तो नहुँदा कतिपयले पानीलाई हतियार बनाएको देखिन्छ। मुहान र तल्लो गाउँलेबीचको विवादमा पानी काट्ने गरेको घटना सुनेको थिएँ। तर, भोट नदिएको नाममा यस्तो गरेको पहिलो पटक सुनें। जसले गरेको भए पनि यो अक्षम्य अपराध हो।
पानी प्रकृतिले सबैलाई दिएको साझा सम्पत्ति हो। यसमा तेरोमेरो भन्ने नै हुँदैन। पानी सबैको हुन्छ। पानी त दुश्मनलाई पनि दिनुपर्छ भन्ने भनाइ छ। पानी जीवन हो। जीवनको मुहान नै रोक्नुभन्दा ठूलो अपराध केही पनि छैन।