विश्वयुद्धमा बगाएको रगतले सार्वभौम बनेको देश
पहिलो विश्वयुद्धमा दुई लाख गोर्खालीले बगाएको रगत र २० हजारले ज्यान गुमाएकाले नै नेपाल सार्वभौम राष्ट्र बनेको हो।
नयाँ पुस्ताले आफ्ना गोर्खाली बाउबाजे ‘बहादुर थिए, शूरवीर थिए’ भनेर पढ्छन्, भन्छन्। तर, कसरी र कस्तो काम गरेर गोर्खाली वीर भए भन्ने उनीहरूसँग जवाफ हुँदैन।
गोर्खालीले संसारभर युद्ध लडेको छ। वीरतासँगै इमानदारीले चिनाएको छ। त्यो लडाइँले कहाँ के प्राप्त गर्यो भन्ने थाहा छैन। किनकि, आजसम्म गोर्खालीबारे विदेशीले मात्रै किताब लेखे। जसमा ब्रिटिश अफिसरहरूले आफूलाई नायक बनाए, आफ्नै कुरा मात्र बढी लेखे। गोर्खाली समुदायबाट आफ्नो कथा आफैं लेखिएन। यसको एउटा कारण गोर्खाली आफैंले लेख्न सकेनन्, र अर्को लेख्न सक्ने व्यक्तिले पनि लेखिदिएन।
ब्रिटिश युद्धको दुई सय वर्षको लामो इतिहासमा बल्ल मैले गोर्खाको इतिहास लेख्ने प्रयत्न गरें। दुई वटा कारणले पुस्तक लेख्न प्रेरणा दियो। पहिलो, हाम्रो कथा वास्तविकता भोगेको व्यक्तिले लेखेको थिएन। गोर्खालीको कथा गोर्खाली समुदायबाटै नआउँदा वास्तविक कथा आउँदैन भन्ने लाग्यो।
सबैभन्दा नामी गोर्खा वीर बलभद्र कुँवर थिए। त्यति वेला उनले दिनको १५ रुपैयाँ तलबमा महाराजा रञ्जित सिंह सिखकोमा काम गरेका थिए।
अर्को, अहिले गोर्खा भर्तीको सङ्ख्या बढेको छ। नयाँ पुस्ताले आफ्ना पूर्वजको वास्तविक गाथा र इतिहास नपढे, आगामी दिनमा कसरी अधिकार खोज्न सक्लान् भन्ने लाग्यो। त्यसपछि जन्मियो, आयो गोर्खाली पुस्तक। यो पुस्तकमा गोर्खाली इतिहासका सबैभन्दा ठूला पाँच वटा घटना समावेश छन्। यी घटनाले गोर्खालीको शिर उच्च बनाउनेछ।
पहिलो, लाहुरे भर्तीबाटै शुरू हुन्छ। अहिलेको पाकिस्तानको लाहोर भन्ने ठाउँबाट सन् १९०७ मा नेपालीले लाहुरे हुन शुरू गरेका हुन्। सबैभन्दा नामी गोर्खा वीर बलभद्र कुँवर थिए। त्यति वेला उनले दिनको १५ रुपैयाँ तलबमा महाराजा रञ्जित सिंह सिखकोमा काम गरेका थिए।
लाहुरे हुन जाने भनेर त सन् १८१४ देखि १८१६ बीचमा शुरू भएको हो। त्यो वेला ब्रिटिश इन्डिया कम्पनी र गोर्खालीको फौजले सामना गरे। प्रशस्त हातहतियार, गोलाबारुद भएको ब्रिटिश इन्डियासँग गोर्खालीले हारे पनि वीरता देखाएकाले प्रशंसा गरियो। उनीहरूले गोर्खालीको वीरता देखेर दुश्मन भन्दा आफ्नै पक्षमा पानुपर्छ भनेर पनि भर्ती गराउन थाले। त्यसैले पनि ब्रिटिश इन्डिया काठमाडौंसम्म आएन।
त्यसपछि नेपालीलाई सेनामा भर्ती गर्न थालियो। त्यति वेला ब्रिटिश इन्डियाको नेपालसँग लड्ने तीन वटा उद्देश्य थिए। पहिलो, नेपाललाई अधीनमा राखेर काठमाडौंको दरबारमा ब्रिटिश रेसिडेन्सी राख्ने, दोस्रो, काठमाडौं भएर भोटमा सुन र पित्तलको खानीबाट खरखजाना ल्याउने र तेस्रो, गोर्खाली सेनालाई आफ्नो सेनामा भर्ती गराउने।
त्यति भएपछि नेपाली सेना कमजोर हुनेछ भन्ने रणनीति थियो। तर, सन् १८१६ मा सुगौली सन्धि भयो। त्यति वेला गोर्खाली सेनालाई ब्रिटिश इन्डियामा भर्तीको मुख्य शर्त राखिएको थियो। त्यसले थप लडाइँ रोकेर मित्रवत् सम्बन्ध देखाएको छ। तर, त्यो विषय इतिहासमा वा सन्धिमा उल्लेख गरिएको देखिंदैन।
दोस्रो, सन् १८८५ मा नेपाल सरकारले नै गोर्खाली ब्रिटिश सेनामा भर्ती हुन आधिकारिक रूपमा अनुमति दियो। त्यसभन्दा अघिसम्म जति लड्न जान्थे, लुकेर तथा छलेर जान्थे। त्यसरी गएका व्यक्ति फर्किंदा नेपाल सरकारले बाटोमै कुटपिट गर्ने, पैसा लुट्ने, परिवारलाई मार्ने गर्थ्यो।
त्यति वेला सत्ताको ठूलो खेलो थियो। वीरशमशेर जबरा प्रधानमन्त्री थिए। उनलाई ब्रिटिशले जंगबहादुरका सन्तानलाई साथ दिएर आफ्नो सत्ता पल्टाउँछ कि भन्ने डर थियो। त्यसैले उनले अंग्रेजलाई खुशी बनाउन लाहुरे हुन खुला गरिदिए। उनले आफ्नो सत्ता बचाउन र सम्बन्ध सुधार गर्न गोर्खालीलाई नै प्रयोग गरे। त्योभन्दा अघि जम्मा पाँच वटा रेजिमेन्ट मात्र भएका थिए।
सन् १८८५ अघिसम्म जति लड्न जान्थे, लुकेर तथा छलेर जान्थे। त्यसरी गएका व्यक्ति फर्किंदा नेपाल सरकारले बाटोमै कुटपिट गर्ने, पैसा लुट्ने, परिवारलाई मार्ने गर्थ्यो।
तेस्रो, सन् १९१४ देखि १९१८ सम्म पहिलो विश्वयुद्ध हुँदा चन्द्रशमशेर राणा सत्तामा थिए। उनी सन् १९१० मा बेलायत गए। त्योभन्दा अघिसम्म उनी ब्रिटिशको कट्टर विरोधी थिए। ब्रिटिश सरकारले राजा–महाराज जस्तो स्वागत र सत्कार गर्यो। उनी यति प्रफुल्ल भए कि ब्रिटिशको एक नम्बर समर्थक बने।
जब पहिलो विश्वयुद्ध शुरू भयो, चन्द्रशमशेरले सबै भर्ती खुला गरे। जबर्जस्ती पनि लडाइँमा पठाइयो। पहिलो विश्वयुद्ध हुँदा दुई लाखभन्दा बढी नेपाली लडाइँमा गए। जबकि, त्यति वेला नेपालको जनसङ्ख्या ५० लाख मात्र थियो। त्यहाँ २० हजार नेपालीले ज्यान गुमाए। कति हराए, कतिलाई चोटपटक लाग्यो। त्यसको कुनै पनि विवरण छैन।
त्यो वेला नेपालमा समुद्रलाई कालो पानी अर्थात अशुद्ध पानी भनिन्थ्यो। त्यो पानी तरेर जानु हुन्न भन्ने धार्मिक विश्वास थियो। तर, चन्द्रशमशेरले तत्कालै राजगुरुलाई बोलाएर सबै जान सक्ने भनेर व्यवस्था गरिदिए। सबैलाई जान उत्प्रेरित गरे।
पहिलो विश्वयुद्ध लडेर प्राप्त सबैभन्दा ठूलो उपलब्धि नेपाल सार्वभौमसत्ता राष्ट्र बन्नु हो। त्यसअघि नेपाल सार्वभौम थिएन। काठमाडौंमा ब्रिटिश रेसिडेन्सी बसेको थियो। त्यसको सल्लाह र अनुमति विना मन्त्रिमण्डल र राजाहरूले पनि काम गर्दैनथे। यदि नेपाल सरकारले कुनै देशसँग हातहतियार वा आवश्यक सरसामान खरीद गर्नुपरेमा ब्रिटिश रेजिडेन्सीले स्वीकृति दिनुपर्थ्यो, स्वीकृत नदिए किन्न नसक्ने अवस्था थियो।
पहिलो विश्वयुद्धमा जसरी गोर्खालीले लडे, अङ्गभङ्ग भए, दुःख पाए, काम गरे अनुसार तलब पनि पाएनन्, त्यसको मूल्याङ्कनका आधारमा देशले सार्वभौमसत्ता पाएको भन्न सकिन्छ। यसअघि नेपालको सार्वभौमसत्तामा अङ्कुश लागेको थियो। सन् १९२३ मा नेपाल र ब्रिट्रेनबीच ‘फ्रेन्डशिप ट्रिटी’ भयो। त्यहींबाट नेपाल एउटा सार्वभौम राष्ट्र भयो। गोर्खालीले पहिलो विश्वयुद्धमा बलिदान दिएकाले मात्र यो सम्भव भएको हो।
चौथो, सन् १९३९ मा दोस्रो विश्वयुद्ध शुरू भएपछि यूरोपमा हङ्गामा नै मच्चियो। त्यति वेला नेपालमा प्रधानमन्त्री जुद्धशमसेर राणा थिए। दोस्रो विश्वयुद्धमा कैदी, गाउँमा भेटिएका जति युवा बटुलेर पठाइयो। दुई लाख ५० हजारभन्दा बढी नेपाली युद्धमा गए। जबकि, त्यति वेला नेपालको जनसङ्ख्या ६० लाख थियो। त्यो युद्धमा ३३ हजारभन्दा बढी नेपालीको ज्यान गयो। घाइते, अङ्गभङ्ग, बेपत्ता त कति भए कति।
दोस्रो विश्वयुद्धमा हजारौं गार्खालीको बलिदानले गर्दा लन्डनमा दूतावास राख्न सहज भयो। त्यति भएपछि नेपाल सरकारले आफ्नो पहुँच बढाउन पायो।
त्यो लडाइँ यूरोप, अफ्रिका, मध्यपूर्व, जापान, मलेशिया, सिंगापुर हुँदै बर्मामा सकियो। मुख्य युद्ध त गोर्खालीले जापानमा नै सकाएका थिए। युद्ध सकिएपछि ब्रिटिशले अलिकति बाटो खर्च दियो र घर पठायो। नेपाल सरकारले पनि आफ्ना गोर्खालीले गरेको त्यागलाई लिएर ब्रिटिश सरकारसँग केही आश गर्यो। ब्रिटिश इन्डियाले कब्जा गरेको क्षेत्र दार्जिलिङ, सिक्किम नेपाललाई फर्काउँछ भन्ने आश गरिएको थियो।
तर, त्यो त फर्काएन, लन्डनमा नेपाली दूतावास खोल्न दियो। दोस्रो विश्वयुद्धमा हजारौं गार्खालीको बलिदानले गर्दा लन्डनमा दूतावास राख्न सहज भयो। यसलाई पनि हामीले उपलब्धि मानेका छौं। किनकि, त्यति भएपछि नेपाल सरकारले आफ्नो पहुँच बढाउन पायो।
पाँचौं, सन् १९५० मा प्रजातन्त्र आयो। राणा शासनको अन्त्यसँगै शक्तिमा राजा फर्किए। त्यस वेला राणा शासन अन्त्य हुनुमा गोर्खालीको योगदान के भन्ने कतै पाइँदैन। त्यसमा सबैभन्दा ठूलो योगदान गोर्खालीको छ। अझै प्रजातन्त्र ल्याउनमा गोर्खालीको ठूलो भूमिका छ।
जब कांग्रेसले भारतको सहायोगमा आन्दोलन शुरू गर्यो, तब राणा सरकारले नेपाली सेना थपेर ठाउँ–ठाउँमा राखेको थियो। सेनालाई जितेर काठमाडौंसम्म आउन लडाइँ गर्ने कसले त? त्यति वेला सबै अवकाशप्राप्त ब्रिटिश लाहुरेलाई जम्मा गरियो। ब्रिटिश सेनामा कमान्डर भएकालाई कमान्डर, सिपाही भएकालाई सिपाही र गुरूजी भएकालाई गुरुजीको पद दिएर बाटो बाटोमा राख्यो। नेपाल सेनालाई छल्दै, लड्दै काठमाडौं आएका हुन्।
यही सन्दर्भमा सन् २०१८ मा किताबका लागि अध्ययन गर्न आउँदा महाकाली पारि एक जना व्यक्ति भेटाएको थिए। छुट्टी मानेर पल्टन फर्कन लाग्दा ती व्यक्तिलाई बाटोमा नै कांग्रेसका मान्छेले भेटेर तालीम गर्न लगाएर त्यतै राखेको बताएका थिए। त्यसरी प्रजातन्त्र ल्याउन विभिन्न समयमा अभियान र पार्टीलाई सुरक्षा दिन पनि गोर्खालीले काम गरेका छन्।
सङ्क्षेपमा भन्दा सुगौली सन्धि हुनुमा गोर्खालीको वीरताको योगदान छ, जसले गर्दा ब्रिटिश इन्डियाले सेनामा गोर्खालीलाई भर्ना गर्यो र काठमाडौंसम्म आएन। दोस्रो, नेपाली नेताहरूले गोर्खालीलाई प्रयोग गरे, सन् १८५० मा वीरशमसेरले आफ्नो सत्ता बचाउन गोर्खाभर्ती आधिकारिक रूपमा नै खुला गरे।
वास्तविक इतिहास र घटनालाई स्वीकार गर्दै गोर्खालीको त्यागलाई सम्मान गरेर छाती फुलाएर हिंड्नुपर्छ, झुक्नु हुँदैन। हाम्रा पुर्खाले झुक्ने काम गरेका छैनन्।
तेस्रो, पहिलो विश्वयुद्धमा दुई लाख गोर्खाली लडाइँमा होमिए, २० हजारले ज्यान दिए। त्यही कारणले नेपाल सार्वभौम राष्ट्र बन्यो। चौथो, दोस्रो विश्वयुद्धमा दुई लाख ५० हजार नेपालीले लडे भने ३३ हजारभन्दा बढीले ज्यान गुमाए। त्यसका लागि लन्डनमा दूतावासको सुनिश्चितता भयो र नेपाल संसारसँग जोडियो। पाँचौं गोर्खालीको सहयोगले राणा विरुद्धको क्रान्ति सफल भयो र प्रजातन्त्र आयो।
त्यसैले, आज हामीले यी पाँच कामलाई नै पनि हेरेर गोर्खाली हुनुमा गर्व गर्न भुल्नै हुँदैन। यो नै गोर्खालीको सबैभन्दा ठूलो देन हो। यो हामीले गर्वका साथ भन्नै पर्छ। अहिलेको जमानामा हामी वीर गोर्खाली भनेर मात्र पुग्दैन।
अझ नयाँ पुस्ताले भने आफ्ना बाउबाजेले नपाएको अधिकारका लागि पनि पहिले गरेको योगदान पत्ता लगाउनुपर्छ। त्यस कारण पनि गोर्खालीले खाली लडाइँ मात्र गरेका हैनन्, लडाइँपछि गरेका काम पनि याद राख्नुपर्छ।
गोर्खाली इमानदार भएर गरेको कामको प्रशंसा नराम्रो हैन, तर एउटा देशको नागरिकले अर्को देशको बन्दुक चलाउनु भने गर्वको कुरा हैन। तथापि, लाहुरे भएर हाम्रा बाउबाजेले गरेको योगदान कुनै लाज मान्ने कुरा हैन। त्यसलाई सम्मान गर्नुपर्छ। यद्यपि, कसैले लाहुरेको त्याग र उपलब्धि भनेर सोध्यो भने आजको दिनमा वीर गोर्खाली मात्र भनेर हुँदैन। यी मुख्य पाँच उपलब्धि भन्नुपर्छ।
त्यसैले, गोर्खालीले गरेको कामको इतिहास खालि बहादुरीको मात्र हैन, दुःख र आँशुको पनि हो। विश्वको जुनसुकै देशमा पनि पहिला युद्धमा अघि सर्ने नेपाली, गोर्खाली हो। २०७ वर्षको अवधिमा ब्रिटिशसँग भएका युद्धमा गोर्खालीको योगदान नभएको कुनै पनि युद्ध छैन। यसमा वीरको कुरा गर्दा, गोर्खाली वीर हो भन्ने ब्रिटिश सरकारको प्रोपागान्डा मात्र हो। हामी वीर हौं ठीक छ, तर वीरका नाममा गोर्खालीको अधिकार भने गुमनाम पारिनुहुन्न।
विगतमा गर्व गर्ने हो, आफूले पाउने अधिकारबारे बोल्ने पनि हो। वास्तविक इतिहास र घटनालाई स्वीकार गर्दै गोर्खालीको त्यागलाई सम्मान गरेर छाती फुलाएर हिंड्नुपर्छ, झुक्नु हुँदैन। हाम्रा पुर्खाले झुक्ने काम गरेका छैनन्।
(लेखक गुरुङले तमू बौद्ध सेवा समिति, नेपालले जेठ २२ गते काठमाडौंमा आयोजना गरेको ‘लाहुरे, बहादुरी र वास्तविकता’ विषयक अन्तरक्रियामा व्यक्त गरेका विचारको सम्पादित अंश।)