एकीकृत समाजवादीबाट बन्ने मन्त्रीको आज शपथ ग्रहण नहुने
नेकपा (एकीकृत समाजवादी) बाट बन्न लागेका चार मन्त्रीको आज शपथ ग्रहण नहुने भएको छ।
एकीकृत समाजवादीको शनिबार बसेको सचिवालय बैठकले चार जना मन्त्रीलाई फिर्ता बोलाएको थियो। उनीहरूको ठाउँमा जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, शेरबहादुर कुँवर र भवानी खापुङलाई मन्त्री बनाउने निर्णय गरेको हो।
श्रेष्ठले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, चौधरीले शहरी विकास, कुँवरले श्रम तथा रोजगार र खापुङले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाउने भएका छन्। यसअघि खापुङ स्वास्थ्य राज्यमन्त्री थिए।
सचिवालय बैठकपछि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मन्त्री बनाउने भएका चारै जनाको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएका छन्। प्रधानमन्त्री देउवाले उनीहरूलाई मन्त्री नियुक्त गर्न लागेका छन्।
नयाँ नियुक्त हुन लागेका मन्त्रीको शपथ ग्रहण भने आज नहुने भएको छ। सोमबार शपथ ग्रहण गर्ने तयारी गरिएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ।