नेपालमा केही दिनभित्रै मनसुन प्रवेश गर्ने
नेपालमा केही दिनभित्रै मनसुन प्रवेश गर्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका मौसमविद् हीरा भट्टराईले अबको दुई-चार दिनभित्रै नेपालमा मनसुन प्रवेश गर्ने बताए। उनका अनुसार‚ पूर्वी भेगबाट मनसुन शुरू हुनेछ। मनसुन प्रवेश नभए पनि अहिले मनसुनी गतिविधिको प्रभावले बदली र वर्षा भइरहेको उनको भनाइ छ।
“अहिले प्रि-मनसुन र मनसुनको शुरूआती चरणको ट्रान्जिसन फेजमा रहेको छ,” उनले भने‚ “अबको दुई-चार दिनभित्रै नेपालमा मनसुन भित्रिनेछ।” प्रदेश १, मधेश र बागमती प्रदेशका कतिपय स्थानमा आज र भोलि वर्षा भए पनि पश्चिमी भेगमा भने वर्षाको सम्भावना नदेखिएको मौसमविद् भट्टराईले जानकारी दिए।
नेपालमा सामान्यतया मनसुन जुन १० मा प्रवेश गर्ने गर्दछ। देशको पूर्वी भेगबाट मनसुन प्रवेश गरी क्रमशः पश्चिमतर्फ विस्तार हुन्छ। जुनदेखि सेप्टेम्बरसम्म चार महीनाको अवधिलाई दक्षिणएशियाली क्षेत्रमा मनसुनको अवधि भनिन्छ। उक्त समयमा नेपालमा वार्षिक वर्षाको करीब ८० प्रतिशत वर्षा हुने गर्दछ।
नेपालमा हाल स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पूर्वी बाङ्लादेशसम्म पूर्व–पश्चिम फैलिएको न्यूनचापीय रेखाको प्रभाव रहेको छ। उक्त मौसमी प्रभावले हाल प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ। आज प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन सहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
दिउँसो प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश तथा देशका अन्य पहाडी भूभागमा सामान्य बदली रही बाँकी भेगमा आंशिक बदली रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा तथा मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। -रासस