नायिका-दर्शक घटनाको सन्देश: हिंसाकाे तत्काल प्रतिवाद गर
अभिनेत्री मिरुना मगरले जनाएको प्रतिक्रियाले हिंसा तथा दुर्व्यवहारका घटनामा तत्काल प्रतिवाद गर्न डराउनु हुन्न भन्ने सन्देश दिएको छ।
सार्वजनिक स्थलमा दुर्व्यवहार गरेकाे भन्दै फिल्म ‘कबड्डी-४’ की अभिनेत्री मिरुना मगर प्रतिकारमा उत्रिइन्। उनले एक युवकलाई थप्पड हानिन्।
मिरुनाले प्रतिकार गरेकाे भिडिओ क्लिप सामाजिक सञ्जालमा शेयर भए। पक्ष र विपक्षमा बहस भयो। तिनै भिडिओ क्लिप हेरेर कतिपयले मिरुनाकाे पक्ष लिए भने कतिले ती युवाकाे।
जातीय तथा धार्मिक रूपमा विवाद नबढोस् भनेर अभिनेत्री मिरुनाले घटनाको भोलिपल्टै जेठ १७ गते युवकसँग सहमति गरिन्। दुवैले एक-अर्कासँग माफी मागे।
दुवैले हस्ताक्षर गरेर सार्वजनिक गरेको सहमतिपत्रमा पनि युवाले आफ्नो गल्ती स्वीकार गरेर माफी मागेको र मिरुनाले पनि आकस्मिक प्रतिक्रिया जनाउने क्रममा भएको घटनाबाट बौद्ध धर्मावलम्बी, भिक्षु, लामा समुदायप्रति पर्न गएको असरप्रति क्षमा याचना गरेकी छन्।
दुवैले एकआपसमा माफी मागे पनि बहस सेलाएको छैन। मुद्दा प्रक्रिया पनि रोकिएको छैन। दुर्व्यवहार गर्ने फुर्वा जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट तीन हजार धरौटीमा रिहा भएका छन्। मुद्दा प्रक्रिया भने जारी रहेको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले बताए।
“पीडित र पीडक पक्षबीच आपसी माफी माग वा मिलापत्र भए पनि कानूनी रूपमा मुद्दा टुङ्गिएको छैन। अनुसन्धान भइरहेको छ,” उनले भने, “मुद्दा दर्ता भएपछि फिर्ता नभएसम्म यसको प्रक्रिया अघि बढ्छ। दुवैले मिलापत्र गरेर मुद्दा फिर्ता लिए मात्र टुङ्गिन्छ।”
मुलुकी अपराध (संहिता) ऐन, २०७४ को दफा ११८ मा पनि अभद्र व्यवहार सम्बन्धी अपराध र सजायको व्यवस्था गरिएको छ। त्यसको उपदफा १ मा भनिएको छ, ‘कसैलाई सार्वजनिक स्थान वा प्रवेश गर्न कानूनी अधिकार नभएको ठाउँमा प्रवेश गरी कसैलाई अभद्र व्यवहार गर्न वा सार्वजनिक स्थानमा महिला, बालबालिका वा शारीरिक रूपमा अशक्त व्यक्तिलाई हातपात वा हैरानी गर्न वा त्यसको उद्योग गर्न हुँदैन।’
यो कानूनी पाटो भयो, सामाजिक रूपमा पनि यसमाथि छलफल र बहस भइरहेका छन्। अभिनेत्री मिरुनाले तत्कालै जनाएको प्रतिक्रियाको अधिकारकर्मीले प्रशंसा गरेका छन्। महिलामाथि हुने कुनै पनि हिंसाका घटनामा तत्कालै प्रक्रिया जनाउन डराउन नहुने उनीहरूको मत छ।
अधिकारकर्मी अमृता लम्सालले दुवै पक्षबीच भएको सहमतिको पत्र फेसबूकमा शेयर गर्दै लेखेकी छन्, “‘गल्ती स्वीकार गरी’ भनेपछि केही त भएकै रहेछ! यो घटना/दुर्घटनाले ‘गुड टच’ र ‘ब्याड टच’ बारे पाठ सिकियोस्! भीडको नाममा, सार्वजनिक यातायातमा, मन्दिरमा यस्ता व्यवहार धेरै भोगिन्छ। यसै गरी ठाउँको ठाउँ आवाज उठाउने शक्ति मिलोस्!”
अभिनेत्री मिरुनाले तत्काल जनाएको प्रतिक्रियाले अरूलाई पनि दुर्व्यवहार विरुद्ध आवाज उठाउन हौसला मिलेको उनको भनाइ छ। त्यसैले आफूसँग दुर्व्यवहार हुँदा आवाज उठाउनु पनि अरू महिलाका लागि आवाज उठाउनु सरह नै भएको लम्साल बताउँछिन्।
त्यस्तै, अधिकारकर्मी वन्दना राणा पनि मिरुनाको साहसले अरूलाई साहस थपेको बताउँछिन्। यौन हिंसामा शून्य सहिष्णुता हुनुपर्ने बताउँदै राणा भन्छिन्, “पहिले आफूमाथि हिंसा हुँदा मौन बस्थे, बोल्दा पनि अवहेलनाको डर हुन्थ्यो। हिजोआज मौनता तोडेर हिंसा विरुद्ध बोल्न थालेका छन्। मौन बस्नुभन्दा बोल्नु राम्रो हो।”
महिलामाथि हुने दुर्व्यवहारका घटना बाहिर ल्याउनुपर्ने राणाको भनाइ छ। “यो घटनाले पनि अन्य महिला तथा नयाँ पुस्तालाई तत्काल प्रतिवाद गर्ने हौसला मिलेको छ,” उनी भन्छिन्।
यो घटनाले सर्वसाधारणलाई सचेत बनाएको अन्तरपुस्ता महिलावादी मञ्चकी संयोजक शरू जोशी बताउँछिन्। “महिलाले ढिलो वा चाँडो हिंसा विरुद्ध प्रतिक्रिया देखाउन थालेका छन्,” जोशी भन्छिन्, “यी बाहिर आउँदा विपक्षमा छिटोछिटो प्रतिक्रिया जनाउने प्रवृत्ति बढ्दै गएको छ। यसले गर्दा कति घटना लुकेर बस्न सक्छन्।”
सबै मिलेर प्रतिवाद गर्ने महिलालाई सहयोगी वातावरण बनाउनुपर्ने जोशीको भनाइ छ। “सबै महिलाले तत्काल प्रतिवाद जनाउन सक्दैनन्, उनीहरू विभिन्न खालको मनस्थितिबाट गुज्रिरहेका हुन सक्छन्,” उनले भनिन्, “बरु प्रतिवाद गर्ने महिलालाई सहयोगी वातावरण तयार गरिदिन जरुरी छ।”
अभिनेत्री मिरुनाले उठाएको अर्को विषय हो, ‘गुड टच’ र ‘ब्याड टच’। कतिपय मानिसलाई यसबारे थाहा नहुँदा सार्वजनिक स्थलमा महिलामाथि हिंसा गरिरहेका हुन्छन्। सार्वजनिक स्थलमा गरिने अभद्र व्यवहार पनि अपराध भएको जानकारी दिनु जरुरी रहेको जोशी बताउँछिन्। यो घटनाले ‘गुड टच’ र ‘ब्याड टच’ माथि सार्वजनिक बहसको शुरूआत गरेको उनको भनाइ छ।
सरकारसँगै राजनीतिक दलले यौनजन्य हिंसामा शून्य सहनशीलता अपनाउन भूमिका खेल्नुपर्ने अधिकारकर्मीहरू बताउँछन्। राजनीतिक दलहरूले आफ्ना कार्यकर्तालाई के गर्नु हुँदैन भनेर जानकारी दिनुपर्ने उनीहरूको भनाइ छ।
अधिकारकर्मी जोशी अब कानून कार्यान्वयन र अनुगमनमा पनि जोड दिनुपर्ने बताउँछिन्। हिंसाका घटनामा प्रतिवाद गर्ने वातावरण बनाउन सबैले पहल गर्नुपर्ने उनको भनाइ छ। “हिंसा विरुद्ध सकभर तुरुन्तै प्रतिवाद गर्नुपर्छ, तत्काल सकिएन भने पनि आवाज उठाउन छोड्नु हुन्न,” जोशी भन्छिन्, “ढिलो गरी हुने प्रतिवादको पनि सम्बोधन गर्नैपर्छ।”