मिरुना र फुर्वाको घटनाले देखायो- पहिचानको आन्दोलन गलत रहेछ
पहिचानको आन्दोलनले अन्ततः मेरो भन्नेमा पुर्याउँदो रहेछ। जस्तैः मेरो जाति, मेरो भाषा, मेरो मान्छे, मेरो ठाउँ, मेरो एरिया भन्नेमा पुर्याउँदो रहेछ। यसले त साँच्चै नै समाज विभाजित बनाउँदो रहेछ।
पहिचानको पक्षमा दुई दशकदेखि निरन्तर लेख्दै‚ बोल्दै आएको छु। नेपालमा आदिवासी जनजाति र पहिचानको आन्दोलन शुरू हुनअघि हामीले ‘सिर्जनशील अराजकता’ नामक साहित्यिक आन्दोलन नै गर्यौं।
हाम्रो आन्दोलनको उद्देश्य हरेक मान्छेको आफ्नै विशिष्ट पहिचान हुन्छ‚ ऊ त्यहीबाट चिनिनुपर्छ‚ समाजमा सबैसँग मिलेर उभिंदा-उभिंदै पनि ऊ फरक हुन्छ भन्ने हो। जस्तो- म लिम्बू हो‚ लिम्बू हुनुमा मैले गर्व गर्नुपर्छ। मसँगै ‘सिर्जनशील अराजकता’ आन्दोलनमा लागेका राजन मुकारुङ राई हुन्। उनले राई संस्कृति र राई हुनुमा गर्व गर्नुपर्छ।
पहिचानको आन्दोलनले साम्प्रदायिकता भड्काउँछ‚ समाज टुक्र्याउँछ भन्ने कुराको विपक्षमा उभिंदै आएँ। मेरो विश्वास थियो‚ पहिचान जरुरी कुरा हो। तर‚ कबड्डी-४ की नायिका मिरुना मगरमाथि भएको घटनाले उक्त आस्था भत्कियो। यतिका लामो समय मेरो ‘आइडियोलोजी’ भत्कियो। पहिचानको आन्दोलन त खतरनाक हुँदो रहेछ भन्ने निष्कर्षमा पुर्यायो।
किनकि‚ पहिचानको आन्दोलनले हाम्रो समाज यति सङ्कीर्ण र साम्प्रदायिक भइसकेछ कि हामीबाट मेरो भन्ने भइसकेछौं। मेरो जाति, मेरो भाषा, मेरो मान्छे भन्ने भइसकेका रहेछौं। यतिसम्म कि मेरो जति सबै राम्रो भन्ने भइसकेछौं। अरूले मात्र गल्ती गर्छ‚ मेरोले गल्ती नै गर्दैन भन्ने भइसकेका रहेछौं।
पहिचानको आन्दोलनले साम्प्रदायिकता भड्काउँछ‚ समाज टुक्र्याउँछ भन्ने कुराको विपक्षमा उभिंदै आएँ। तर‚ मिरुना मगरमाथि भएको घटनाले उक्त आस्था भत्कियो। पहिचानको आन्दोलन त खतरनाक हुँदो रहेछ भन्ने निष्कर्षमा पुर्यायो।
पहिचानको आन्दोलनले अन्ततः मेरो भन्नेमा पुर्याउँदो रहेछ। जस्तै- मेरो जाति, मेरो भाषा, मेरो मान्छे, मेरो ठाउँ, मेरो एरिया भन्नेमा पुर्याउँदो रहेछ। यसले त साँच्चै नै समाज विभाजित बनाउँदो रहेछ। यस्तो कुरूप समाज बन्नमा मेरो पनि सानो हात छ। मैले यो सत्य आफूलाई पर्दा मात्र थाहा पाएँ। किनकि‚ कबड्डी-४ को लेखक हुँ म।
हामीले निर्माण गरेको फिल्म कबड्डी-४ को प्रवर्द्धन गर्न जाँदा फुर्वा तामाङ नामका एक युवकबाट फिल्मकी नायिका मिरुनामाथि दुर्व्यवहार भयो। मिरुनाले प्रतिकार गरिन्। यस घटनासँग सम्बन्धित एउटा सानो भिडिओको क्लिप आयो। त्यसैको आधारमा फुर्वाको समुदायले आफ्नो धारणा बनायो- फुर्वा निर्दोष छन्। उनीहरू सत्यतथ्य के हो भन्नेतर्फ लागेनन्।
उनीहरू ‘फुर्वा लामा हो, तामाङ हो’ भन्दै उनको पक्षमा उत्रिए। आन्दोलन गरे। हाम्रो फिल्मको पोस्टर च्याते। फिल्म बहिष्कार गर्नुपर्छ भन्दै उर्लिए। उनीहरूले उक्त भिडिओको क्लिप कसले खिचेका हुन्? कसले सार्वजनिक गरेका हुन्? यस घटनालाई साम्प्रदायिक रूप दिन कसले सामाजिक सञ्जालमा लेखे भन्ने बुझ्न समेत जरुरी ठानेनन्।
अपवाद बाहेक मिरुनालाई कसैले नैतिक सहयोग समेत गरेका छैनन्। एउटी चेलीलाई दश दुनियाँ गाली गरेका छन्। ती गाली गर्नेहरू आदिवासी जनजाति नै हुन्। के आदिवासी जनजातिको संस्कार‚ सौन्दर्य भनेको चेलीलाई गाली गर्ने हो? आदिवासी जनजातिले एउटा महिलामाथि यति धेरै हिंसा गर्छ? चेलीसँग माफी माग्न सक्दैन? मलाई लाग्छ‚ यो आदिवासी जनजातिको संस्कार होइन।
हामीले त संयम अपनायौं। मिरुनाको पक्षमा बोल्दा अर्को पक्ष उर्लिएला‚ हिंसा बढ्छ‚ समाज द्वन्द्वमा फस्छ भनेर चूपचाप बस्यौं। हाम्रो टीमले सामाजिक सञ्जालमा एउटा स्टेटस पनि लेखेन। मिरुना र फुर्वा अर्थात् मगर र तामाङ एक ठाउँमा उभिंदा मिलिहाल्थ्यो। त्यसैले विवाद मिलाउन आदिवासी जनजाति, पहिचानको आन्दोलनका अगुवाहरूलाई हामीले गुहार्यौं। तर, अगुवा भनाउँदाहरू नै उल्टै आगो लगाएर रमिता हेर्न थाले।
आदिवासी जनजाति, पहिचानको अगुवा भन्नेहरू समाज भँडुवा हुन्। किनकि‚ समाज भाँडेन भने उनीहरूको अस्तित्व समाप्त हुने रहेछ। पहिचान समाप्त हुने रहेछ। ऊ नेता हुनै नपाउने रहेछ।
पहिचानको मुद्दा उठाएर उदाएको राजनीतिक दल छ। नेपाल आदिवासी जनजाति महासंघ भन्ने संस्था पनि छ। प्रत्येक जातिको जातीय संगठन छ। तर, मिरुना र फुर्वाको घटनामा ती राजनीतिक दल‚ संघसंस्थाहरूले एक शब्द पनि बोलेका छैनन्। नेता, अभियन्ता भन्नेहरू त जहाँ भीड छ‚ त्यसको पक्षमा पो उभिने रहेछन्।
अहिलेसम्म मैले गरेका सिर्जना पहिचानका लागि नै हुन्। म आफूलाई पहिचानको आन्दोलनको सिपाही ठान्छु। किनकि‚ मेरो 'आइडियोलोजी' पहिचान नै हो। म पहिचानको आन्दोलनमा हिंडेको व्यक्ति हुँ। तर‚ मिरुना र फुर्वाको घटनाले पहिचानको आन्दोलन गलत रहेछ भन्ने निष्कर्षमा पुर्यायो। आदिवासी जनजाति, पहिचानको अगुवा भन्नेहरूका क्रियाकलापले समाज भाँडिन थालेछ भन्ने निष्कर्षमा पुगें।
किनकि‚ समाज भाँडेन भने उनीहरूको अस्तित्व समाप्त हुने रहेछ। पहिचान समाप्त हुने रहेछ। ऊ नेता हुनै नपाउने रहेछ। जस्तै- एक जना लिम्बूले लिम्बू समाज नबनाई ऊ नेता हुनै सक्दैन। तामाङको समूह नबनाई एउटा तामाङ नेता बन्नै नसक्ने रहेछ। हामीलाई आदिवासी जनजाति भन्न लगाएर ऊ आदिवासी नेता बनेको रहेछ। हामीले आदिवासी होइनौं भन्यौं भने त्यो व्यक्ति नेता हुन नपाउने रहेछ। हामी त गोटी बनिरहेका रहेछौं।
(हिमालखबरका लागि धनबहादुर फागोले गरेको कुराकानीमा आधारित)