मूर्ति: अमेरिकाबाट फर्काउन सकिने‚ छिमेकी टोलबाट नसकिने!
४३ वर्षअगाडि चोरी भएर अमेरिका पुगेको पार्वतीको मूर्ति फर्काएर वीरभद्रेश्वर महादेव मन्दिरमा प्रतिस्थापन गरिंदै छ। तर, छिमेकी टोलको पुरातात्त्विक महत्त्वको उड्ने सिंहको मूर्तिलाई भने ८८ वर्ष पहिले राखिएको ढुङ्गेधाराबाट झिकेर यथास्थानमा राख्न दिइएको छैन।
शिलु महादेव मन्दिर भक्तपुर दरबार परिसरको पूर्वी चोकको उत्तरमा छ। यसलाई नीलकण्ठेश्वर महादेव पनि भनिन्छ। यो मन्दिर राजा जगतप्रकाश मल्लको पालामा विसं १७०७ (सन् १६५०) सालमा बनेको हो। यो गोसाइँकुण्ड महादेवको नामबाट बनेको मन्दिर हो। गोसाइँकुण्डलाई नेवारी भाषामा शिलु भनिन्छ।
यस मन्दिरको मौलिक स्वरूप १९९० सालअघि नै परिवर्तन भएको पाइन्छ। १९९० सालको भूकम्पले भत्काएपछि यस मन्दिरलाई पुनर्निर्माण गर्दा फर्सी जस्तो डल्लो आकारमा बनाइयो। त्यसैले नेवारी भाषामा ‘फसी देग’ भनिन थालियो। मन्दिरको पेटीका पाँचमध्ये तीन तहमा जोर जनावर छन्। सबभन्दा तल हात्ती, त्यसको माथि दोस्रो तहमा सिंह र त्योभन्दा माथि साँढे राखिएका छन्।
२०७२ सालकाे विनासकारी भूकम्पले पनि यस मन्दिरलाई पाताल बनाएको थियो। पुरातत्त्व विभागले तीन महीनाअघि पुनर्निर्माण गरिसक्ने योजना राखे पनि उड्ने सिंहको मूर्ति नहुँदा सकिएको छैन। यो ग्रन्थकुट वा शिखर शैलीको अग्लो मन्दिर हो।
१९९० सालको भूकम्पले भत्काएपछि मन्दिरको चारै भित्तामा रहेका उड्ने सिंहलाई त्यसै फालियो। फालिएका सिंहमध्ये दुई वटालाई भक्तपुर दरबार परिसरमा रहेको भक्तपुर नगरपालिकाको पुरानो भवनको मूल ढोकाको दायाँ-बायाँ राखियो। बाँकी दुई वटालाई भने १९९० पछि पुनर्निर्माण गरिएको गोलमढी टोलको गहिरो ढुङ्गेधाराको दायाँ-बायाँ राखियो। ती मूर्ति अहिले पनि छन्।
उड्ने सिंहलाई जमीन वा जमीनको सतहभन्दा तल राखिंदैन। भूकम्पले शिलु महादेव मन्दिर भत्काएपछि फालिएका उड्ने सिंहलाई गोलमढी टोलको ढुङ्गेधारा पुनर्निर्माण गर्दा कालीगढले पानी झर्ने धाराको दायाँ-बायाँ राखेका थिए। तर‚ उक्त सिंह भुइँको नभई उड्ने हुन्। उड्ने सिंहलाई भने मन्दिरको बाहिरी भित्ताको बीच भागमा राखिन्छ। उड्ने सिंहलाई नेवारीमा ‘बो सिंह’ भनिन्छ। धारा‚ ढोकामा वा मन्दिरको पेटीमा राखिने सिंहको बनावट फरक हुन्छ।
मन्दिरका देवताको पहरेदारका रूपमा ढोका वा सिंढीमा सिंह र अन्य जनावर राखिएका हुन्छन्। सिंहलाई मन्दिरको हाता वा मूल ढोकामा राखिन्छ। ढुङ्गेधाराको पानी खस्ने ठाउँको दायाँ-बायाँ राखिंदैन। त्यसैले ढुङ्गेधारामा रहेका उड्ने सिंहको मूर्तिलाई पहिलेकै ठाउँ शिलु महादेव मन्दिरमा राख्ने योजना छ। तर‚ गोलमढी टोलका स्थानीयले लैजान दिएका छैनन्। सिंह राख्न नपाएपछि मन्दिरको काम रोकिएको छ।
गोलमढी ढुङ्गेधारा अगाडि वीरभद्रेश्वर महादेव मन्दिरको कलात्मक पार्वतीको मूर्ति करीब ४३ वर्ष अगाडि चोरी भएको थियो। उक्त मूर्ति अहिले अमेरिकाको कनेटिकटस्थित येल विश्वविद्यालयमा भेटिएको छ। त्यहाँ रहेको संवत् ५१६ को शिलापत्र अनुसार‚ उक्त मूर्ति लिच्छविकालीन भन्ने पुष्टि हुन्छ।
धनवज्र वज्राचार्यको लिच्छविकालका अभिलेखको पृ.२४९ मा यो अभिलेख प्रकाशित छ। अभिलेखमा उल्लेख भएको महासामन्त अंशुवर्माको प्रतिवेदन अनुसार‚ राजा शिवदेवले ‘माखोपृङ द्रङ’ मा त्रिकर (भाग, भोग, कर) असुल गर्न अधिकारीहरू नपठाउनू, स्थानीय रूपमै असुल गर्नू भनी राजाज्ञा जारी गरेको देखिन्छ। त्यस कारण यो शिव मन्दिर र ढुङ्गेधारा लिच्छविकालीन भएको प्रमाणित हुन्छ।
त्यस पार्वतीको मूर्ति अमेरिकाबाट फर्काएर वीरभद्रेश्वर महादेव मन्दिरमा प्रतिस्थापन गरिंदै छ। तर, आफ्नै नगर‚ छिमेकी टोलको ३७१ वर्ष पुरानो पुरातात्त्विक महत्त्वको उड्ने सिंहको मूर्तिलाई भने ८८ वर्ष पहिले राखिएको ढुङ्गेधाराबाट झिकेर यथास्थानमा पठाउन दिइएको छैन। यसमा फोहोरी राजनीति मिसिएको प्रष्ट देखिन्छ।
भक्तपुर नगरपालिका र स्थानीय प्रशासनले स्थानीय चुनावपछि उड्ने सिंहको मूर्तिलाई पुन:स्थापना गर्ने आश्वासन पुरातत्त्व कार्यालयलाई दिएका थिए। स्थानीयको माग अनुसार‚ ढुङ्गेधारामा राख्न नयाँ उड्ने सिंहको मूर्ति बनाइयो। तर‚ स्थानीयले पुरानो उड्ने सिंह झिक्न दिएका छैनन्। यस विवादलाई मिलाउन नेपाल सरकार उदासीन देखियो। त्यसैले नवनिर्वाचित स्थानीय सरकार प्रमुखको सक्रियता आवश्यक छ।