सरहद कटाइएका सम्पदा
सयौं वर्षअघि चोरिएका मूर्तिको स्वदेश फिर्तीले ऐतिहासिक संरक्षणमा आशा जगाए पनि विदेश पुर्याइएका अरू थुप्रै अभिलेख कहाँ र कति छन्, तालुकदार निकायलाई थाहै छैन।
ऐतिहासिक घटना वा प्रसङ्गलाई प्रमाणित गरिदिने भएकैले अभिलेखलाई ‘जिउँदो इतिहास’ मानिन्छ। तर, हामीकहाँ इतिहास सुरक्षित बनाइदिने यी दस्तावेज आफैं चाहिं असुरक्षित छन्। हराएका वा चोरेर विदेश पुर्याइएका यस्ता दस्तावेजको फेहरिस्त निकै लामो छ।
सन् १८१६ को सुगौली र सन् १९५० को नेपाल-भारत मैत्री सन्धिकै कुरा गरौं। मेची-महाकालीपारिको तत्कालीन नेपाली मानचित्र र सार्वभौमिकता दर्शाउने यी दुवै सन्धिको सक्कल सरकारसँग छैन। सुगौली सन्धिमा नेपालका तर्फबाट हस्ताक्षर गरेका चन्द्रशेखर उपाध्यायले तत्कालीन प्रधानमन्त्री भीमसेन थापालाई बुझाएको सक्कल प्रति नारायणहिटी दरबारमा राजा वीरेन्द्रको पालासम्म रहेको विज्ञहरूले बताउँदै आएका छन्। तर, त्यसयता कुनै पत्तो छैन। ७१ वर्ष मात्र पुरानो नेपाल-भारत मैत्री सन्धिको सक्कल प्रति पनि कहाँ गयो भन्ने यकिन नरहेको सीमाविद् बुद्धिनारायण श्रेष्ठ बताउँछन्। “सन्धिको सक्कल प्रति नहुनाले नेपालको भौगोलिक अखण्डतामा धक्का लागेको छ,” उनी भन्छन्।
यस्ता पुरातात्त्विक दस्तावेज संरक्षण गर्ने दायित्व राष्ट्रिय अभिलेखालयको हो। तर, पाँच वर्षदेखि अभिलेखालयको नेतृत्व गरिरहेकी सौभाग्य प्रधानांग सुगौली र १९५० को सन्धिका सक्कल प्रति आफूहरूसँग नरहेको बताउँछिन्। “यसको जिम्मा अभिलेखालयका तत्कालीन पदाधिकारीले नै लिनुपर्ने हो,” उनी भन्छिन्।
सर्वोच्च अदालतले पुस २०७६ मा ‘तत्कालीन इस्ट इन्डिया कम्पनीसँग भएको सुगौली सन्धिको सक्कल पेस गर्न’ सरकारलाई आदेश दिएको थियो। भारतले नेपालका लिम्पियाधुरा र लिपुलेक सहितका भूभाग आफूतिर गाभेर जारी गरेको नक्शा बदर गरी उक्त भूमि नेपालको नक्शामा समेट्न र त्यसै अनुसार निशान छाप संशोधन गर्न माग राखी वरिष्ठ अधिवक्ता विश्वप्रकाश भण्डारीले रिट हालेका थिए। तर, सरकारले अहिलेसम्म उक्त दस्तावेज अदालतलाई बुझाउन सकेको छैन। परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्साल अझै पनि सन्धिका प्रतिहरूको खोजी जारी रहेको बताउँछिन्।
पुराकालमा शिलापत्र, ताम्रपत्र, सुवर्णपत्र, ताडपत्र, भोजपत्र र मूर्तिमा इतिहासको अभिलेख राख्ने गरिन्थ्यो। पहिले भुइँ, भित्ता, ढुङ्गामा चित्रका रूपमा अभिलेख कुँद्ने गरिएकामा बिस्तारै अक्षरमा लिपिबद्ध हुन थालेको इतिहासविद् दिनेशराज पन्त बताउँछन्। पुराना कुरा सङ्ग्रहका लागि वंशावली पनि बनाइन्थ्यो। गोपालराज वंशावली अनुसार, ६ सय वर्षअघि स्थितिराजा मल्लको पालामा यस्तो प्रचलन थालिएको थियो। मल्लकालमा ‘ठ्यासफु’ मा विशेष गरी ज्योतिषीहरूले आफ्नो समयका घटना टिपोट गर्थे। त्यस्तै चलन शाहकालमा पनि थियो।
त्यस्ता ऐतिहासिक ताम्रपत्रहरू दरबार र अरू ठाउँमा टाँसिएको दिनेशराज पन्त आफैंले देखेका थिए। तर, कालान्तरमा त्यस्ता सामग्री गायब हुन थाले। २००७ सालयता मूर्ति जति चोरिए, त्यसभन्दा बढी ताम्रपत्र हराएको पन्तको ठम्याइ छ। “विदेशीहरूसँग सम्पर्क बढेपछि असरल्ल छरिएका हाम्रा मूर्ति, ताम्रपत्र, सन्धि-सम्झौता र पुस्तकहरू पैसा कमाउनकै लागि लगे,” उनी भन्छन्, “कतिपय अवस्थामा तिनको महत्त्व नबुझी च्यात्ने, जलाउने काम पनि भयो।”
हराएका अभिलेखबारे छिटपुट रूपमा अनुसन्धाता तथा इतिहासविद्हरूले लेख मार्फत जानकारी गराउँदै आए पनि अभिलेखालयमा तिनको सूची भेटिँदैन। तर, अभिलेखालय प्रमुख प्रधानांग केही समयअघि अमेरिकाबाट नेपाली मूर्ति फिर्ता भएको प्रसङ्ग निकाल्दै अभिलेखहरू पनि फर्काउन सकिने सम्भावना बढेको बताउँछिन्। “अब विज्ञको टोली सहित बसेर कस्ता अभिलेख हामीसँग छैनन् भनेर खोजी गर्नेछौं,” उनी भन्छिन्। ललितपुर, पाटनबाट सन् १९८४ मा चोरेर अमेरिका पुर्याइएको लक्ष्मीनारायणको मूर्ति टेक्ससस्थित डालस् आर्ट म्यूजियममा भेटिएपछि गत वैशाखमा नेपाल फर्काइएको थियो।
हराएका अभिलेख
लिच्छविकालका थुप्रै ताम्रपत्र धेरै पछिसम्म उपलब्ध रहे पनि अहिले ती एउटै भेटिँदैनन्। इतिहासविद् दिनेशराजका अनुसार, २००७ सालपछि विदेशीका भरियाले ताम्रपत्र, सुवर्णपत्र झोलामा भरेरै विदेश पुर्याए। शिलापत्र भने गहु्रँगा भएकाले धेरै लैजान सकेनन्।
मल्लकालमा काठमाडौं, पाटन र भक्तपुरका तीन राजाबीचको सन्धिपत्र दरबारमा टाँसिएको हुन्थ्यो। ऐतिहासिक अध्ययन अनुसन्धान गर्दै आएको संस्था संशोधन-मण्डलको अभिलेख सङ्ग्रहमा पनि तिनको विवरण समेटिएको छ। तर, पछि ती दरबारबाटै हराए। शाहकालमा आइपुग्दा राजा, मन्त्री, उच्च ओहदाका व्यक्तिले लगाउने तक्मा समेत गायब पारिए। “अहिले त राणाहरूकै श्रीपेच छैनन्। पहिला माथिल्लो दर्जाका सबैको श्रीपेच हुन्थ्यो,” इतिहासविद् महेशराज पन्त भन्छन्, “अन्तिम पटक मोहनशमशेरले लगाएपछि श्रीपेच कहाँ गयो, खोजी भएको छैन।”
एक समय पाटन दरबार, मूलचोकको पश्चिम भागमा लस्करै ताम्रपत्र टाँसिएका हुन्थे। त्यहाँबाट एकै वर्ष तीनदेखि चार वटासम्म ताम्रपत्र हराएको संशोधन-मण्डलबाट प्रकाशित पूर्णिमामा उल्लेख छ। हतिहासविद् महेशराजका अनुसार, कुनै वेला हनुमानढोका थानाअघि राजा प्रताप मल्लले बनाउन लगाएको विश्वरूपको मूर्ति राखिन्थ्यो। सुनको जलप लगाइएको उक्त मूर्तिसँगै प्रताप, उनका आमा, रानीहरू र छोराछोरीको शालिक पनि थियो। “तर २५ वर्षअघि हेर्न जाँदा ती मूर्ति र तिनले बोकेका ऐतिहासिक अभिलेख त्यहाँ थिएनन्,” उनी भन्छन्।
अभिलेखालय प्रमुख प्रधानांगका अनुसार, ३० वर्षअघि एक सरकारी टोलीले ताप्लेजुङ, ओलाङ्चुङगोलाको गुम्बामा पेमा काठान (तिब्बती ग्रन्थ) को ‘माइक्रोफिल्म’ गरेको थियो। तर, त्यो ग्रन्थ अहिले भेटिँदैन। हराएका यस्ता अभिलेखको खोजीका लागि इतिहासविद् सहितको गोष्ठी आयोजना गर्न लागिएको उनी बताउँछिन्।
थुप्रै ऐतिहासिक नेपाली ग्रन्थ उपहारका रूपमा विदेश पुर्याइएका छन्। केही चाहिं विदेशीहरूले अध्ययनकै लागि भनेर उम्काएका छन्। इतिहासविद् महेशराजका अनुसार, जंगबहादुर राणाको पालामा युरोपेलीहरूलाई राजकीय पुस्तकालयबाट पुस्तकहरू दिइएका थिए। तर, उनीहरूले संस्कृतका ३६ वटा ग्रन्थ फिर्तै गरेनन्।
पछि राष्ट्रिय पुस्तकालयका कर्मचारीले श्री ३ जंगबहादुरलाई यसबारे सुनाएपछि उनले ती ग्रन्थको नक्कल उतार्न लगाएर पुस्तकालयमा राखिएको लाइफ अफ महाराजा सर जंगबहादुर अफ नेपाल पुस्तकमा उल्लेख छ। “जंगबहादुरले सार्न लगाएका ती नक्कल नै डेढ सय वर्ष पुराना भए। यसका आधारमा तिनको सक्कल प्रति ५ देखि ६ सय वर्ष पुराना रहेको अनुमान गर्न सकिन्छ। तर, यहाँ कसले खोजी गर्ने?” उनी भन्छन्।
“जंगबहादुरले सार्न लगाएका ती नक्कल नै डेढ सय वर्ष पुराना भए। यसका आधारमा तिनको सक्कल प्रति ५ देखि ६ सय वर्ष पुराना रहेको अनुमान गर्न सकिन्छ। तर, यहाँ कसले खोजी गर्ने?”
अर्का इतिहासविद् धनवज्र वज्राचार्यको पुस्तक लिच्छविकालका अभिलेखमा लिच्छविकालका २३० जति शिलालेखबारे उल्लेख छ। तर, तीमध्ये अहिले धेरै हराइसकेको अभिलेखालयले जनाएको छ। “चोरी नै भएका हुन् भन्ने प्रमाण पनि छैन,” प्रधानांग भन्छिन्, “अभिलेखालयको एक्लो स्रोत र जनशक्तिले यस्ता पुरावस्तुको खोजी गर्नु चुनौतीपूर्ण छ।”
विदेश लगिए, फिर्ता आएनन्
राजा महेन्द्रको अगुवाइमा २०२१ सालमा अमेरिकामा नेपालका प्राचीन कलाकृतिको प्रदर्शनी गरिंदा पुरातत्त्व विभागले न्यूयोर्कको एशिया हाउस ग्यालरीलाई पठाएका कलाकृति फिर्तै आएनन्। पछि त्यहाँकी प्रसिद्ध कला-ऐतिहासिक स्टेला क्राम्रिशले आफ्नो पुस्तक द आर्ट अफ नेपालमा ती कलाकृतिको सूची सहित केहीको तस्वीर समेत प्रकाशित गरेकी थिइन्। तिनमा १३औं शताब्दीताकाको शिवधर्म पुस्तकको गाता, १४औं शताब्दीको अवलोकितेश्वरको मूर्ति, नवौं शताब्दीको बुद्धमूर्ति लगायत थिए।
अमेरिकाको क्रिस्टी’ज नामक संस्थाले ६ चैत १९६९ मा न्यूयोर्कको रक्फेलर प्लाजामा ताडपत्रमा लेखिएका अभिलेख र नेपाली पुस्तकका काठका सचित्र गाता लिलामीमा राखेको थियो। ती गाता ५० हजार डलरसम्ममा बिक्री गर्ने संस्थाको तयारी थियो। तर, हार्वर्ड र बर्कले विश्वविद्यालयका दुई प्राध्यापकले नेपाल-जर्मन हस्तलिखित ग्रन्थ संरक्षण परियोजनाको सूचीसँग दाँज्दा ती गाता राष्ट्रिय अभिलेखालयका रहेको ठहरिएपछि लिलामीबाट हटाइएको थियो।
दिनेशराजका अनुसार, २०४६ सालमा तिनै गाता निजी सङ्ग्रहका रूपमा पेरिसमा प्रदर्शनीमा राखिएका थिए। “यस्ता घटना बढ्दै गएका वेला चोरहरू कहाँ छन् भन्नु भन्दा पनि को चाहिं चोर रहेन भन्ने प्रश्न उठ्ने अवस्था थियो,” उनी भन्छन्, “विदेशमा गरिएका प्रदर्शनीबाट धेरै अभिलेख तथा पुरातात्त्विक वस्तु नफर्कनुले त्यस्ता प्रदर्शनी पनि अभिलेख चोरिनु र हराउनुका कारण बने।”
छैन सुरक्षा चेत
विज्ञका अनुसार, भूकम्प, आगलागी र बाढी जस्ता प्राकृतिक कारणले पनि हाम्रा हजारौं पुस्तक गुमे। केही पुस्तकका अंश पछि लेखिए पनि धेरैजसो मूल पुस्तक हराएको हरायै भए। ताडपत्र र भोजपत्र समयान्तरमा मक्किने भएकाले तिनमा लेखिएका पुस्तकको आयु पनि छोटै हुन्छ। तर, नेपालको हावापानी समशीतोष्ण रहेकाले भारतखण्डका अन्य ठाउँको तुलनामा यहाँ पुस्तक लामो समय टिक्ने गरेको इतिहासविद् दिनेशराज बताउँछन्।
“भारतमा हराइसकेका धेरै ग्रन्थ नेपालमा छन्,” उनी भन्छन्, “केही ग्रन्थको सबभन्दा पुरानो प्रति नै यहीं पाइएको छ। उदाहरणका लागि शुक्लयजुर्वेद, रामायण, महाभारत हेर्न सकिन्छ।” तर, यहाँका स्रोत-सम्पत्तिको खोजी, सुरक्षा तथा व्यवस्थापनमा कसैकोे चेत नपुगेको अर्का इतिहासविद् महेशराज बताउँछन्। “परापूर्वकालदेखि नै आफ्ना वंशावली, चिना, टिपोट, धार्मिक ग्रन्थ बसाइँसराइका क्रममा नष्ट गर्दै हिंड्ने नेपालीहरूको कमजोरीले पनि अभिलेख रहेनन्,” उनी भन्छन्।
“भारतमा हराइसकेका धेरै ग्रन्थ नेपालमा छन्,” उनी भन्छन्, “केही ग्रन्थको सबभन्दा पुरानो प्रति नै यहीं पाइएको छ। उदाहरणका लागि शुक्लयजुर्वेद, रामायण, महाभारत हेर्न सकिन्छ।”
प्राचीन अभिलेख बैठक कोठामा सजाउने, धार्मिक प्रयोजनले लैजाने होडबाजी अनि प्रदर्शनीबाटै गायब पार्ने प्रवृत्तिले गर्दा बाकसका बाकस ऐतिहासिक ग्रन्थ हराएको अर्का इतिहासविद् सत्यमोहन जोशीको ठम्याइ छ। “विदेशीहरू अध्ययन र खोजका भोका हुन्छन्,” उनी भन्छन्, “आफ्नो इतिहासलाई बलियो देखाउन पनि उनीहरूले नेपाली मूर्ति, ग्रन्थहरू आफ्नो देश पुर्याएका हुन सक्छन्।”
फर्केलान् अभिलेख?
अभिलेखालयले विदेश पुर्याइएका केही नेपाली अभिलेख सन् २०१३ ताका फिर्ता ल्याउन सकेको थियो। न्यूयोर्कको क्रिस्टी’ज संस्थाले विष्णुधर्म पञ्चम-३४४, भागवत पुराण चतुर्थ-७५०, विष्णुधर्म प्रथम-१००२ र शिवधर्म प्रथम-१०७५ का ६ वटा गाताचित्र लिलामीमा राखेको थियो। ती काठका गाताचित्रको मूल्य एक लाख ५० हजार डलर तोकिएको थियो।
सन् १९७० ताका जर्मन विज्ञहरू नेपाल आएर ती कृतिको ‘माइक्रोफिल्म’ गरेकाले त्यही प्रमाणका आधारमा नेपाली सम्पदा फर्काउन सकिएको प्रधानांगको भनाइ छ। “यस बाहेक अभिलेखालय सहित अन्य विभिन्न ऐतिहासिक पुस्तकमा रहेका तिनका फोटोलाई पनि प्रमाणका रूपमा पेश गरिएको थियो,” उनी भन्छिन्।
तर, पुराना सबै अभिलेखको प्रमाण सम्बद्ध सङ्घसंस्थाले राख्न नसकेकाले पुरातात्त्विक वस्तु स्वदेश फर्काउन सहज नरहेको इतिहासविद् महेशराजको मत छ। यसका लागि लक्ष्मीनारायणको मूर्ति फर्काउँदाकै जस्तो अभियान सञ्चालन गर्नुपर्ने उनी औंल्याउँछन्। “सरकारी कार्यदल र अभिलेखालयको सक्रियता अपरिहार्य छ,” उनी भन्छन्।
अभिलेखहरू फर्काउन पहिले हराएका दस्तावेजहरूको सूची तयार पार्नुपर्ने इतिहासविद् जोशी बताउँछन्। “विदेशमा नेपाली अभिलेख भनिएकामध्ये आफ्ना के-के हुन्, पहिल्याउन सक्नुपर्यो,” उनी भन्छन्, “त्यसका लागि अभिलेखको महत्त्व बुझाउन सकिएकै छैन।”
महेशराज नेपालभित्रैका अभिलेख पनि सुरक्षित राख्न नसकिएको बताउँछन्। “अभिलेखहरू मन्त्रालयका शाखा शाखामा कुहिएर बसेका छन्। यस्तो लठिबज्र नदेख्ने अनि हराएका मात्र खोजेर पनि पार लाग्दैन,” उनी भन्छन्। २५ वर्षभन्दा पुराना सामग्रीबारे हरेक सरकारी विभागले अभिलेखालयलाई जानकारी पठाउनुपर्छ। तर, वर्षको दुई पटक पत्र लेख्दा पनि त्यस्ता सामग्रीको तथ्याङ्क नआएको अभिलेखालय प्रमुख प्रधानांग बताउँछिन्।
“अभिलेखहरू मन्त्रालयका शाखा शाखामा कुहिएर बसेका छन्। यस्तो लठिबज्र नदेख्ने अनि हराएका मात्र खोजेर पनि पार लाग्दैन”
राष्ट्रिय सभाका सांसद रामनारायण बिडारी तोकिएका सामग्रीको विवरण नबुझाउने संस्थालाई कारबाही गर्ने नियम बनाउन आवश्यक ठान्छन्। त्यसका लागि अभिलेखालय ऐन नै संशोधन गर्नुपर्ने आवश्यकता उनी औंल्याउँछन्। “पहिला देशभित्रका अभिलेख सुरक्षित राखेर बल्ल सरकारले चोरी भएकाको खोजी गर्न कार्यदल बनाउनुपर्ने हो,” उनी भन्छन्।
कहाँ छ लालबाकस?
नेपालले लिपुलेक सहितको नक्शा जारी गरेयता ऐतिहासिक अभिलेखप्रति सरकारी चासो बढेको छ। यससँगै खोजी भएको विषय हो- लालबाकस।
कुनै वेला दरबारमा यस्तो बाकस रहेको र पुराना महत्त्वपूर्ण दस्तावेज त्यसैमा राखिने गरेको विश्वास गरिन्छ। तर त्यो बाकस अहिले कहाँ छ, पत्तो छैन। दुई वर्षअघि गठित ‘राष्ट्रिय महत्त्वका अभिलेख व्यवस्थापन अध्ययन कार्यदल’ ले पनि यो बाकसको खोजी तीव्र पारेको छ। राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले बनाएको कार्यदलका अनुसार, यसबीच पूर्व राजाको सचिवालयका विभिन्न पदाधिकारी, परराष्ट्र मन्त्रालयका पूर्व पदाधिकारी, पुरातत्त्व विभाग, राष्ट्रिय अभिलेखालयका पूर्व पदाधिकारी, मुन्सीखाना, जैसी कोठा र परराष्ट्रका बुद्धिजीवीसँग सोधपुछ गरिएको छ।
यस क्रममा कार्यदल लालबाकस अस्तित्वमा रहेको र त्यसमा सन्धि, महासन्धि, अभिसन्धिका पत्र, धार्मिक, सांस्कृतिक, पुरातात्त्विक वस्तु, भौगोलिक नक्सा, सुगौली सन्धि र त्यसपछिका कागजपत्रहरू राखिएको निष्कर्षमा पुगेको छ। उक्त बाकस पूर्व राजाले दरबार छाड्दा लिएर गएको हुन सक्ने आशङ्का समेत व्यक्त भइरहेको कार्यदलका संयोजक रामनारायण बिडारी बताउँछन्।
“कतिले सिंहदरबार वा नारायणहिटी दरबारमा रहेको भने त कसैले सिंहदरबारमा आगलागी हुँदा ती कागज नष्ट भएको आशङ्का गरे,” उनी भन्छन्, “तर राजाका तत्कालीन प्रमुख सचिव चिरनशमशेर थापाले लालबाकस पछिसम्मै रहेको पटक पटक भनिरहेका छन्। थप पत्ता लाग्न बाँकी छ।”
दरबारसँग निकटहरूका अनुसार, लालबाकसको साँचो बहालवाला राजाले बाहेक अरूले राख्न पाउँदैनथे। केही सामान राख्न र झिक्न परे उनैसँग सोध्न पथ्र्यो। सक्रिय राजतन्त्रका वेला परराष्ट्र मन्त्रालयका महत्त्वपूर्ण कागज त्यही बाकसमा राख्ने गरिन्थ्यो। इतिहासविद् रमेश ढुंगेल पनि लालबाकस भ्रम नभई खोजीको विषय भएको बताउँछन्।
उनका अनुसार, इतिहासशिरोमणि बाबुराम आचार्यले बडामहाराजा पृथ्वीनारायण शाहको जीवनी किताबमा आफूले लालबाकस हेरेको उल्लेख गरेका छन्। राणाकालमा लालबाकसमा के-के थियो भनी सूची समेत बनाइएको थियो। “उक्त सूची आचार्यका छोरी-ज्वाइँसँग रहेको र उहाँहरूले त्यो सूची छाप्ने पनि भन्नुभएको थियो,” ढुंगेल भन्छन्।
लालबाकसकै खोजीमा राष्ट्रिय अभिलेखालयले पनि दुई वर्षयता नारायणहिटी दरबारमा रहेका कागजात सूचीकरण गरिरहेको छ। “लालबाकस भेटिए चोरिएका र हराएका बाँकी अभिलेखको खोजीमा ध्यान केन्द्रित गर्न सकिन्थ्यो,” प्रधानांग भन्छिन्।
(हिमालको २०७८ फागुन अंकबाट।)