जहाज दुर्घटनामा एकै परिवारका सात जनाको मृत्यु‚ शोकमा डुब्यो लोटा गाउँ
तारा एअरको जहाज दुर्घटनामा धनुषाको मिथिला नगरपालिकाका-११ लोटा गाउँका एकै परिवारका सात जनाको मृत्यु भएको छ। जसले गाउँ नै शोकमा डुबेको छ।
आइतवार बिहान पोखराबाट जोमसोमका लागि उडेको तारा एअरको यात्रु बाहक जहाज सम्पर्कविहीन भएलगत्तै धनुषाको लोटा गाउँ शोकमा डुबिसकेको थियो। किनकि‚ जहाजमा रहेको २२ मध्ये सात जना धनुषाको मिथिला नगरपालिकाका-११ लोटा गाउँका एकै परिवार थिए। उनीहरू सपरिवार मुक्तिनाथ दर्शनका लागि गएका थिए।
आइवार बिहानदेखि बेपत्ता तारा एअरको ९ एन-एईटी जहाज आज बिहान मुस्ताङको थसाङ गाउँपालिका-२ सानोसरेमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ। जहाज सवार धनुषाका सातै जनाको मृत्यु भएको छ। यस खबरले लोटा गाउँलाई शोकमग्न बनाएको छ।
मधेश प्रदेशका पर्यटन, उद्योग तथा वन मन्त्री सत्रुधन महतोका अनुसार‚ मृत्यु हुनेमा नेकपा (एकीकृत समाजवादी) का मधेश प्रदेश समितिका सदस्य राजनकुमार गोले रहेका छन्। यस्तै‚ उनका बुव इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङको जहाज दुर्घटनामा मृत्यु भएको मन्त्री महतोले जानकारी दिए।
जहाज बेपत्ता भएको खबरले आएपछि परिवारमा त रुवाबासी चलेको थियो नै गाउँलेहरू पनि शोकमा डुबेका थिए। अहिले मृतकका परिवालाई सन्त्वना दिने गाउँलेको घुइँचो लागेको छ। पुरै गाउँ शोकमा डुबेको छ।
एकीकृत समाजवादीका नेता सोम शर्मा केहीको मोबाइलमा फोन लागरहेकाले झिनो आशा रहे पनि आज बिहान जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला परेपछि आशा मरेको बताउँछन्।
मधेस प्रदेशका पर्यटनमन्त्री शत्रुधन महतो स्थानीय विकास राज्यमन्त्री हुँदा राजनले उनका स्वकीय सचिवको रुपमा काम गरेका थिए। राजन समाजिकसँगै राजनीतिक क्षेत्रमा समेत सकृय थिए। स्थानीय तहको निर्वाचनको मत गणनासम्म धनुषामै रहेका उनी मत परिणाम आएपछि काठमाडौं गएका थिए। उनका बुवा-आमा काठमाडौंको गोकर्णेश्वमा बस्दै आएका थिए।
राजनले मन्त्री महतोसँग दुई दिनपछि आउने बताएका थिए। “राजनको कुराकानी भएको थियो‚” महतोले भने‚ “केही काम भएकाले जनकपुर आउन आग्रह गर्दा उनले मामा‚ आमाबाबुलाई मुक्तिनाथ घुमाएर दुई दिनमा आउँदै छु भनेका थिए।”
मामाका साथी भएकाले मन्त्री महतोलाई राजनले मामा भन्दै बोलाउँथे। उनी र उनको आफन्त धेरैजसो काठमाडौ नै बस्दै आएका थिए।