हवाई पूर्वाधार विकासका लागि १२ अर्ब २४ करोड विनियोजन
निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि ढाँचा निर्माण गरी नेपाल लगानी बोर्ड मार्फत आयोजना विकास कार्य अगाडि बढाइने भएको छ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा सञ्चालनमा ल्याइने अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिएका छन्। यससँगै धनगढी विमानस्थलको स्तरोन्नति गरी क्षेत्रीय विमानस्थलका रूपमा विकास गर्न सम्भाव्यता अध्ययन गरिने भएको छ।
सुर्खेतको रामघाटमा प्रादेशिक विमानस्थल निर्माणको कार्य अगाडि बढाइने भएको छ। आन्तरिक हवाई सेवा अभिवृद्धि गर्न डडेल्धुरा, बाग्लुङको बलेवा, दाङ लगायत विमानस्थलको स्तरोन्नति गरिनेछ।
त्यसै गरी उदयपुर विमानस्थलको निर्माण कार्य प्रारम्भ गरिने भएको छ। हवाई पूर्वाधार विकासका लागि रु.१२ अर्ब २४ करोड विनियोजन गरिएको छ।
त्यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चापलाई व्यवस्थित गर्न ट्याक्सी–वे र दोस्रो टर्मिनल भवन बनाउन रु.दुई अर्ब २० करोड बजेट विनियोजन गरिएको छ।