निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको ‘च्याप्टर क्लोज’
बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन सर्वोच्च अदालतले आदेश दिएको छ।
बिहीबार सर्वोच्च अदालतको बृहत् पूर्ण इजलासले रिट निवेदकको माग बमोजिम आदेश दिएको हो। सर्वोच्च अदालतका न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत र मनोजकुमार शर्माको बृहत् पूर्ण इजलासले निजगढ विमानस्थल सम्बन्धी सरकारले अहिलेसम्म गरेका निर्णय पनि बदर गरेको छ।
दुई वर्षअघि वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मा र रञ्जुहजुर पाँडेले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सरकारी निर्णय विरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए। २०७६ फागुन ७ गते दर्ता भएका रिटमा आज सर्वोच्चको बृहत् पूर्ण इजलासले फैसला सुनाएको हो।
सर्वोच्च अदालतको पाँच सदस्यीय बृहत् पूर्ण इजलासले गरेको निर्णय भएकाले यो आदेशको पुनरावलोकन हुनेछैन। सर्वोच्चको यो आदेशसँगै निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने प्रस्ताव अब सधैंका लागि सकिएको छ।
संरक्षणकर्मीले पनि निजगढमा विमानस्थल बनाउन नहुने भन्दै विरोध गर्दै आएका थिए। तराईको चारकोसे झाडी रहेको निजगढमा साना तथा ठूला गरी २४ लाख रूख काट्दा वातावरणमा असर पर्ने संरक्षणकर्मीको भनाइ थियो।
रिट निवेदक शर्मा र पाँडेले पनि त्यही जिकिर गरेका थिए। उनीहरूले विमानस्थलका लागि चारकोसे झाडी विनाश गर्दा वातावरणमा असर पर्ने उल्लेख गरेका थिए।