उचाइ नाप्न सर्वोच्च शिखर टेकेको क्षण
सगरमाथा आरोहण गर्न नसक्नु सगरमाथाको दोष होइन,
जसरी मानिसले पौडन नसक्नु नदीको दोष होइन।
माथि पुग्दासम्म मौसम राम्रो रहोस् भनेर मनमनै कामना गरें। सुस्ताउँदै बाटो काट्दै थियौं। हामी कोही अघि, कोही पछि थियौं। वेलावेला एकअर्कातिर फर्केर पनि हेर्दै थियौं। अनुहार लगभग छोपिएकाले शरीरको उचाइ र लुगाको रङका आधारमा एकअर्कालाई पहिचान गर्दै थियौं। अनेक समस्या र हन्डरका बावजूद हामी चुली नजिकै पुग्यौं। विश्वास लागिरहेको थिएन, चुली अब हातैले छुन सकिन्छ। यतिन्जेल गरेका सङ्घर्ष र हिमालमा भोगेका दुःख बिर्सेर फ्याट्टै आइपुगियो जस्तो लागिरहेको थियो।
अन्ततः २०७६ जेठ ८ को बिहान तीन बजे हामी चुलीमा पुग्यौं। शुरूमा लाग्यो, यो चुली होइन होला; राति नै भएको हुँदा चुली यतैकतै हामी पुगेको चुलीले नै छोपेको छ। तर, हामी सगरमाथाकै चुलीमा पुगेका थियौं। सगरमाथाको चुलीमा पुग्नु भनेको प्रकृतिको चुलीमा पुग्नु हो; पृथ्वीकै चुलीमा पुग्नु हो। धरतीमा यहाँभन्दा माथि जाने ठाउँ छैन।
शिखरमा पुग्दा जतिसुकै विचारशून्य भए पनि मेरो मानसपटलमा केही विचार र भावना आए:
- मानिसले प्रकृतिमाथि विजय प्राप्त गर्न सक्दैन; त्यसलाई आत्मसात् गरेर प्रेम मात्र गर्न सक्छ। प्रकृतिसँग खेल्न र त्यसमाथि विचरण गर्न सक्छ। यति वेला म पृथ्वीको सबैभन्दा अग्लो प्रकृतिमा विचरण गरिरहेछु।
- मानिसले हिजो गर्न सकेको कुरा आज गर्न सक्दैन र आज गर्न सकेको कुरा भोलि गर्न सक्दैन। मलाई पहिलो अनुभवले दोस्रो पटक सगरमाथा आरोहण गर्न सजिलो भयो। तर, अनुभवले पनि उमेरसँग हार्नुपर्छ। मलाई पहिलो पटक जति सजिलो दोस्रो पटक भएन। संसारमै सबैभन्दा पहिले सगरमाथाको शिखर चुमेका एडमन्ड हिलारीले पछि मकालु हिमाल आरोहण गर्न सकेनन्।
- बलले मात्र सगरमाथा आरोहण गर्न सकिंदैन। आरोहण गर्नु कला पनि हो। तर, कलालाई प्रयोग गर्न स्वास्थ्य राम्रो हुन जरूरी छ।
- सगरमाथा आरोहण गर्न नसक्नु सगरमाथाको दोष होइन, जसरी मानिसले पौडन नसक्नु नदीको दोष होइन।
- सागरको पानीको रङ र सगर छोएका हिमालमा बरफको रङ उस्तै उस्तै हुँदो रहेछ, नीलो। नीलो बरफ चट्टान जस्तै कडा हुन्छ। तर, नीलो पानी प्रेमभन्दा कोमल हुन्छ।
- सामान्यतया हामीलाई हावाको भोक लागेको यादै गरेका हुँदैनौं। हावाको भोक कति गहिरो र कति चाँडै लाग्छ भन्ने कुराको महसूस गर्न हिमाल चढ्नुपर्ने रहेछ। मलाई हावाको भोक कति गहिरो हुन्छ भन्ने कुरा सगरमाथाले बुझायो। हामी दुईचार दिन खान नखाएर बाँच्न सक्छौं, दुईचार दिन पानी नपिएर बाँच्न सक्छौं। तर, दुईचार मिनेट हावा नलिई बाँच्न सक्दैनौं। त्यही हावा पनि अक्सिजन पर्याप्त भएको हावा। हावा त सगरमाथाको चुचुरोमा जति वेगिलो कहाँ होला। तर, त्यहाँ अक्सिजनको मात्र कम छ र सास फेर्न गाह्रो हुन्छ।
- हिमालमा साना कष्टहरूलाई ठूलो बनाउनु हुँदैन। बरू ठूला कष्टलाई सानो बनाउनुपर्छ। हिमालले सिकाएको यो कुरा जीवनमा धेरै काम लाग्छ।
- चिसो कठिन होइन, अक्सिजन नहुनु कठिन हो। हिमालमा हुने पातलो अक्सिजन र चर्को हावा नै जीवनको हावा खुस्काइदिने मुख्य कारण हो। सबै हावा अक्सिजन होइनन्। तर, अक्सिजन हावा हो। उचाइमा हावा धेरै लाग्छ। तर, अक्सिजन कम हुन्छ। मानव फोक्सोलाई पुग्ने अक्सिजन पनि हुँदैन। फोक्सोलाई नपुगेको अक्सिजनले जीवनलाई पुग्दैन।
शिखरमा पुग्दा त्यति अप्ठ्यारोमा पनि यति धेरै आनन्द आयो कि आफैंलाई बिर्सन्छु कि जस्तो भयो। अद्यावधिक उचाइ, त्यहाँ चल्ने वेगमय बतास र चिसोका कारण कतिपय आरोहीले त साँच्चै बिर्सिन्छन् रे। म कहाँ छु भन्ने पनि थाहा पाउँदैनन् रे। सहयोगीहरूले सुुरक्षित ओरालेपछि पनि धेरै दिनसम्म आरोहीहरूको मस्तिष्कका सम्झनाका फाइल खुल्दैनन् रे। धेरै कुरा बिर्सिए जस्तो भएँ म पनि। तर, आफ्नो उद्देश्य भने अझ ताजा भएको थियो। म उद्देश्यमा एकोहोरो भएको थिएँ। अरू कुरा बिर्सिएर उद्देश्य मात्र ताजा भएर आउँदा काम सफल हुन्छ भन्ने विश्वास बलियो भयो।
चुलीमा पुग्दाको खुशी र आनन्द व्याख्या गर्ने शब्दहरू मसँग थिएनन्/छैनन्। गमिरहेछु, प्रतिभावान् कवि या लेखकहरू त्यो उचाइमा पुग्ने हो भने त्यो दृश्य, क्षण र आनन्दलाई कसरी व्याख्या गर्दा हुन् ?
विचारशून्य भएर मेरा आँखा रसाए र ती बरफ भए। सुखदुःख र प्रेमपीडा पनि बरफ भए। मैले आकाशतिर फर्किएर मनमनै कामना गरें- मेरो रगत र शरीर बरफ नबनोस्; मेरो पञ्चतत्त्व बरफ नबनोस्।
उक्लिंदा र तयारी गर्दा जति विघ्नबाधा परे पनि ती सबै बिर्सिएको थिएँ। रविन कार्की त झन् रमाएका थिए। शायद दुःख र सङ्घर्ष बिर्सेरै हुनुपर्छ। उनको भावभङ्गिमा अस्वाभाविक जस्तो पनि देखिएको थियो। छिरिङ जाङ्बु शेर्पाजीले त चुचुरोको अनुभव यसअघि नै दुई पटक गरिसकेका थिए। सहयोगीहरू लाक्पा र दोर्ची पनि सगरमाथाको चुचुरोसँग मौन संवाद गरिरहेका थिए। उनीहरूका आँखा, बोली र व्यवहारमा व्याख्यातीत भाव थियो।
चुचुरोमा पुगे लगत्तै लामो सास फेरेर छिरिङजीले ट्राइपड निकाले। मैले पनि यन्त्र–उपकरण व्यवस्थित गर्न शुरू गरें। जीएनएसएस एन्टेना र ब्याट्री निकालेर छिरिङजीलाई दिएँ।
उपकरण जडान गर्दा त्यसको उपयोगिता झन् प्रस्ट भयो। त्यसमा लाग्ने स्क्रूहरू पनि निकालेर छिरिङ र मैले ट्राइपड सेटअप गर्यौं। तर, स्क्रूले ड्रिल गरेपछि पनि ट्राइपड लुज भए जस्तो लाग्यो। छिरिङले भने, “सर, हल्का पानी हालिदिऊँ? प्वालमा तत्काल जमिहाल्छ र हाम्रो ट्राइपड टाइट हुन्छ।”
त्यसै अनुसार पानी हालेको त तत्काल जमिहाल्ने रहेछ। त्यहाँ त पानी पनि सुपरग्लु जस्तो हुने रहेछ। एक मिनेटमै यसो ट्राइपड चेक गरेको त सिमेन्ट झैं कडा भइसकेको रहेछ। हामीले हालेको पानी चुचुरोको बरफसँग वेल्डिङ गरे जस्तो हुँदो रहेछ।
एन्टेना सेटअप गर्दा बिहानको तीन बजेर पाँच मिनेट गइसकेको थियो। दायाँबायाँ नगरी एकाग्र भएर हामी एन्टेना फिट गर्नतिर लाग्यौं।
एन्टेनाले डाटा लिन र रेकर्ड गर्न शुरू गर्दै थियो। मैले मोबाइलबाट डाटा लगइन भए–नभएको परीक्षण गरें। जुन लक्ष्य र सपना लिएर आएका थियौं, त्यसको कार्यप्रगति लिइरहनुपर्थ्यो । म यतातिर अत्यन्तै सचेत थिएँ। सोचें, सङ्कटपूर्ण साउथ कोलमा गरेको सङ्कल्प साकार हुने भयो।
एक्कासि सम्झिएँ, नापी विभागमा हाम्रो खबर पठाउनुपर्छ। विभागले लोबुचे (पिरामिड), दिङ्बोचे, इम्जा, कालापत्थर, कोङ्दे लगायत चुचुरो सहित नौ ठाउँमा उचाइ मापनका लागि रिफरेन्स स्टेशन स्थापना गरेको थियो।
कम्पनीले हामीलाई एउटा मात्र रेडियो सेट उपलब्ध गराएको थियो, जुन सेटले चुचुरोमा काम गरेन। त्यसका लागि दोस्रो शिविरमा पनि स्टेसन हुनुपर्थ्यो।
हामीसँग एउटा मात्र स्याटलाइट फोन थियो। चुलीमा पुगेर डायल गर्न सजिलो होला भनेर पहिल्यै मैले केही फोन नम्बर डायल लिस्टमा राखेको थिएँ। किनभने, चुलीमा एक सेकेन्डको महत्त्व बाहिरको एक दिन बराबरको हुन्छ। ३ः१० भएको हुँदो हो। छिरिङजीलाई स्याटलाइट फोन दिंदै भनें, “सबैभन्दा पहिले विभागमा सुशील डङ्गोल सरलाई हामी चुलीमा पुगेर काम गर्दै छौं भनेर जानकारी दिनोस्।”
उनले सुशील सरलाई फोन गरे। विभागमा कर्मचारीहरू रातभरि हाम्रो फोन कुरेर जागै बसिरहेका थिए। हामीले चुली चुमेको खबरले सबैलाई उत्साहित बनायो। विभागलाई गर्व गर्ने महत्त्वपूर्ण आधार बन्यो। सुशील सरले मेरा बाआमा र हेमालाई पनि उत्तिखेरै फोन गरिदिएछन्।
त्यसपछि छिरिङलाई आधारशिविरमा रहेका सुरजसिंह भण्डारीलाई फोन गर्न लगाएँ। छिरिङजीले फोन गरिरहँदा पनि हामी काम गरिरहेका थियौं।
मलाई चिन्ता ब्याट्रीको थियो। हुन त हामीले ६ सेट ब्याट्री लिएर गएका थियौं। तर, संयोगवश एउटा ब्याट्री नै काफी भयो।
अतिरिक्त ब्याट्रीको तौल मात्र लगभग १० किलो थियो। पछि त बेकार बोकेर ल्याए जस्तो लाग्यो। बाटोभरि गहौं भारी बोक्नुपर्यो।
मान्छे उडाउला जस्तो हिमहुरी चल्ने भएकाले कथंकदाचित् हुरी आएर जीएनएसएस ट्राइपड उडाइदिन्छ भन्ने डरले छिरिङजीलाई ट्राइपडको एउटा खुट्टो समातेर बस्न आग्रह गरेको थिएँ।
हिमहुरी चलिरहेको थियो। तर, गति त्यति तीव्र भएको थिएन। त्यसैले काम गर्न सजिलो हुँदै थियो। बिस्तारै चुचुरोमा अन्य आरोही पनि आउन थाले, जसले गर्दा हामीलाई काम गर्न अप्ठ्यारो हुन सक्थ्यो। त्यसैले हामीले जतिसक्दो चाँडो काम गर्न थाल्यौं।
जीएनएसएस एन्टेना सेटअप गरिसकेपछि जीपीआरतिर मेरो ध्यान गयो। रविनलाई पहिलाबाट नै जीपीआर चलाउन भनिसकेको थिएँ। उनी पनि सचेत भएर काम गरिरहेकै थिए।
रविनले मज्जासँग जीपीआर ट्याब्लेट चलाउने र डाटा सेभ गर्ने काम गरिराखेका थिए। मैले सम्झाउँदै थिएँ, “वेलावेलामा सेभ त गर्दै छौ नि ?”
यही कामको परिणामका निम्ति संसारले हामीलाई नियालिरहेको थियो। यही कामका निम्ति साउथ कोलमा म धरधरी रोएको थिएँ।
हामीले आधारशिविरबाटै एउटा डोरीले जीपीआरको स्क्यानरलाई घिसार्न सजिलो हुने गरी बाँधेर लगेका थियौं। त्यसो गर्दा हिउँमा स्क्यानर यताउता लैजान सहज हुन्थ्यो। यो कार्य साह्रै बुद्धिमत्ता भएछ भन्ने समिटमा पुगेर काम गर्दा अनुभूति भयो।
मैले त्यो डोरी समातेर पहिला चुचुरोमा राखी जीपीआर स्क्यानर घिसारें। त्यसपछि चुचुरोको वरिपरि लगभग १५–२० वर्गमिटर क्षेत्रफल कभर हुने गरी सम्झे जति सबै ठाउँमा घिसारें। यसो गर्दा स्क्यानरले भेटेसम्मका स्थानमुनिको हिउँको सतहको मोटाइ कति छ भन्ने तथ्याङ्क थाहा हुन्छ।
काम गरिरहँदा बीचैमा यसो सम्झिएँ, हामीलाई त फोटो पनि चाहिन्छ नि। यो ऐतिहासिक कामको चिनो त राख्नुपर्छ। किनभने, हामी ओरालो झर्ने बित्तिकै यो कार्य इतिहास हुन्छ। फेरि फर्केर खिच्छु र फोटोमा सम्झना सँगाल्छु भनेर कहाँ पाइन्छ र! छिरिङजीलाई फोटो खिच्न अनुरोध गरें। उनी फोटाग्राफर पनि हुन्।
उनले बाक्लो पन्जा फुकाले र पातलो पन्जा लगाए। किनभने, त्यहाँ पातलो पन्जा लगाएर मात्र फोटो खिच्न सकिन्छ। तर, धेरै बेर पातलो पन्जा लगाउनुहुँदैन। त्यसैले चाँडोचाँडो फोटो खिचेर बाक्ला पन्जा लगाइहाल्नुपर्छ। तर, उनी हामीपछि आएका जापानी महिला र उनका सहयोगी आशिष गुरुङको फोटो खिच्नतिर लागेछन्। फोटो खिच्दाखिच्दा क्यामराको ब्याट्री नै सकिएछ। उनी अत्तालिन पुगे। उनको हतास र हडबडी मैले प्रस्टसँग देखें। एकछिनपछि एक्कासि उनी चिच्याउन थाले, “सर, मेरो हात गयो! ऐया, आत्था!”
त्यो फ्रस्टबाइटको लक्षण थियो। निकै चिसो हावाका कारण उनका हातका औंला फ्रिज भइसकेका रहेछन्। उनमा हतास र छटपटी झन् झन् बढ्न थाल्यो। अतालिएर हात झट्कार्न थाले र कराउन थाले। जसरी आगोले पोल्छ, त्यसरी नै धेरै चिसोले पनि पोल्छ।
“लौ जा! साँच्चै फ्रस्टबाइट नै भएछ क्या हो!” नजिक गएर मैले आत्तिंदै भनें। छिरिङजीको ऐया, आत्था बढिरहेकै थियो। त्यति दुर्गम ठाउँमा कसरी उनलाई बचाउने? छिरिङजीको छटपटीले म पनि डराएँ।
हिमालमा जब हातखुट्टामा अत्यन्त चिसो हावा पस्छ, त्यसका कारण फ्रस्टबाइट हुन्छ। यसको असर बढ्दै गए हातखुट्टा गुमाउनुपर्ने समेत हुन सक्छ। छिरिङजीको हालत पनि त्यस्तै हुँदै थियो। उनका औंला पूरै प्रभावित भइसकेछन्।
“लौ बर्बाद भयो! खोइ, यता आउनू त, छिरिङजी।” उनीसँगै उभिएर उनका हात समाउन थालें। उनी औंलाहरू चलाउन नसक्ने भएका थिए। मैले पन्जा लगाएरै उनको हात मेरा दुई हत्केलाका बीचमा राखेर रगडें र ताप सिर्जना गर्न थालें। वेलावेलामा मर्याकमुरुक पनि पारिदिएँ। यसरी तीनचार मिनेटसम्म मिचिदिएँ। बिस्तारै उनको अनुहार उज्यालो भयो र भने, “अलिअलि ठीक होला जस्तो पो भयो, सर।”
उनको अनुहार उज्यालिएको देखेर मेरो अनुहार पनि उज्यालियो। हिमहुरीमा अडिएर त्यसरी मर्याकमुरुक पारेर मिच्दामिच्दा मेरा हात गलेछन् क्यारे। त्यसपछि छिरिङजीले हातमा ठूलो पन्जा (बिग मिटन) लगाएर बसे। हिमालमा लगाउने पन्जाका तीन पत्र हुन्छन्। भित्री पन्जालाई फ्लिस भनिन्छ; त्यसभन्दा बाहिरको बाक्लो पन्जालाई मिटन र बाहिरको चिसो हावा छेक्ने पन्जालाई बिग मिटन भनिन्छ।
फ्लिस पातलो हुने भएकाले त्यस्तो पन्जा लगाएर हिमआँधी नचलेका वेलामा फोटो खिच्ने, मोबाइल चलाउने गर्न सकिन्छ। तर, दुईतीन मिनेटमै मिटन र बिग मिटन लगाइहाल्नुपर्छ। केही बेर आराम गरेपछि उनले केही फोटा मोबाइलबाट पनि लिए।
चुचुरोमा हामीलाई माइनस ४३ डिग्री तापक्रममा काम गर्नु थियो। बाक्लो मिटन पन्जा लगाएर नटबोल्ट र आइस स्क्रूहरू कस्न सम्भव नै थिएन। त्यसका निम्ति पातलो, हलुका र च्याप्प समात्न सकिने खालका फ्लिस पन्जा लगाएर काम गर्यौं।
मेरो मोबाइलबाट ब्लूटूथ कनेक्शनद्वारा उचाइ नाप्ने जीएनएसएस रिसिभर र एन्टेनासँग सम्पर्क गरिराखेको थिएँ। एन्टेनाले तापक्रम पनि देखाउँथ्यो। शुरूमा अत्यन्तै चिसो (माइनस ४३ डिग्री) देखिएको तापक्रम काम गर्न थालेको एक घण्टापछि लगभग २० डिग्री बढेर माइनस २३ डिग्री पुगेछ।
लगभग ४५ मिनेटपछि आरोहीहरू चुचुरोमा आइपुग्ने क्रम शुरू भयो, जसले गर्दा हामीले स्वतन्त्र रूपमा काम गर्न पाएनौं। एक घण्टापछि त आरोहीहरू आउने क्रम झन् बढ्यो। हामीलाई काम गर्न धेरै नै बाधा पुग्न थाल्यो। तैपनि, समयमै माथि पुगेकाले आरोहीहरूको भीड हुँदासम्म धेरै काम गरिसकेका थियौं। चार बजेपछि आरोहीहरूको ताँती नै देखिन थाल्यो। हावाको वेग पनि बढ्न थाल्यो। दुवैले हामीलाई अप्ठ्यारो पार्न थाले। अचम्म त के भने, जहाँ हावाको वेग तीव्र छ, त्यहाँ सास फेर्न अक्सिजन माक्स लगाउनुपर्छ।
चुचुरोमा बसेर भू-उपग्रहबाट प्राप्त तथ्याङ्क विवरण जति लामो अवधिको लिन सकिन्छ, उति नै परिशुद्ध उचाइ सङ्गणना गर्न सकिन्छ। हामीले काम शुरू गरेको एक घण्टा भइसकेको थियो। अब मान्छेबाट कसरी मशिन जोगाउने भन्नेतर्फ विचार गर्न लागें। आरोहीहरूको क्र्याम्पनले अल्झाएर हामीले सेफ्टीका लागि प्रयोग गरेको डोरी हल्लिन थाल्यो, जसले गर्दा काम गर्न गाह्रो भयो। सहयोगका लागि रविनको अनुहारमा हेरें। यसै त कम बोल्ने उनी चुचुरोमा झन् के बोल्थे। एक त उचाइमा बोल्न सबैलाई गाह्रो हुन्छ; धेरैजसो इशाराले काम गर्नुपर्छ। त्यसमा पनि उनी अलि भावुक भए जस्तो लाग्यो। मौसम र परिवेशले अझै मौन बनाएको हुँदो हो।
“डाटा रेकर्डिङ स्टार्ट गरेको एक घण्टा भए जस्तो छ,” मैले भने, “अब फर्किनुपर्छ।”
जति लामो समय जीएनएसएस अवलोकन गर्न सक्यो त्यति नै धेरै परिशुद्ध तथ्याङ्क आउने हुँदा मलाई केही समय अझै अवलोकन गर्न मन लागेको थियो। सोही बमोजिम जीएनएसएस एन्टेना सगरमाथाको चुचुरोमा इन्स्टलेशन गरेको लगभग सवा घण्टा भएको थियो। त्यति वेलासम्म चुचुरोमा चाप अत्यन्त बढिसकेको थियो। आरोहीहरूको मात्र होइन, हावाको चाप पनि बढेको थियो। त्यसैले रविनलाई भनें, “यहाँ अब भीड बढ्न थाल्यो। तिमीलाई गाह्रो पनि भयो। त्यसैले तिमी सानो लाक्पासँग ओर्लिंदै गर। म र छिरिङजी एकैछिनमा मशिन प्याक गरेर बिस्तारै आउँछौं।”
आरोहीहरू हुलका हुल भएर उक्लिरहेका थिए। कसैलाई नआओ, हामी सगरमाथाको उचाइ नाप्दै छौं भन्ने कुरा भएन; हामीलाई विघ्नबाधा नपुर्याऊ भन्नु पनि भएन। किनकि, सबैका आआफ्ना उद्देश्य थिए। करोडौं लगानी गरी आफ्नो ज्यानको बाजी लगाएर चुचुरो चुम्न पुगेका आरोहीहरूलाई टुप्पोमै नआऊ भन्ने मसँग अधिकार थिएन। तैपनि, मैले हाम्रो एन्टेना वरिपरि कसैलाई पुग्न दिएको थिइनँ।
यसो पूर्वतिर हेरें, तिब्बतका पठार र हिमालहरूको क्षितिज। त्यो क्षितिजबाट सूर्यलाई निम्ता गर्ने उषाको लाली फैलिएर आकाश नै रातो देखिएको थियो। केही समयमै सूर्य सगरमाथालाई हेर्न आउँदै थियो। सूर्यले हामीलाई पनि हेर्नेछ। सगरमाथाको चुचुरोमा हामी उभिएको सूर्यले देखोस् भन्ने भावना थियो। तर, धेरैबेर चुलीमा रहनु ठूलो जोखिम हुन्थ्यो। किनभने, हामीसँग अक्सिजन पनि सकिंदै थियो। हामीले लिनुपर्ने डाटा पनि लगभग लिइसकेका थियौं। सूर्यको दर्शन हिलारी स्टेपमै गएर गर्नुपर्ला भनेर तल ओर्लन इन्स्ट्रुमेन्ट प्याक गर्नतिर लाग्यौं। छिरिङजीले छिरलिएर रहेका सरसामान भेला पारे र झोलामा हाले। जीएनएसएस रिसिभर खोलेर मैले आफ्नो झोलामा राखें र बोकें, जसमा अमूल्य डाटा थियो। ब्याट्री, एउटा ट्राइपड र अन्य सामग्री छिरिङजीले राखे र बोके। हामीले अतिरिक्त ट्राइपड पनि लगेका थियौं। तर, ती सबै बोकेर तल झर्न भारी हुने देखियो। छिरिङजीले सोधे, “के गरौं यी एक्स्ट्रा ट्राइपड?” मैले भनें, “यतै कतै व्यवस्थापन गर्नू।” उनले ती ट्राइपड चुचुरोको पूर्व–उत्तरपट्टि काङसुङ फेसतिर फ्याँकिदिए। हामी दुई भाइ पनि लगभग पौने पाँच बजे पुनः एक पटक चुचुरोलाई ढोगेर तल ओर्लिन शुरू गर्यौं।
लेखक सरूभक्तले आफ्नो उपन्यास चुलीमा लेखेका छन्, “हिमाल चढ्नु भनेको ओर्लनु पनि हो।” त्यसैले चढ्दैमा सफल भएको मानिंदैन। ओर्लन पनि सक्नुपर्छ।
ओर्लंदै गर्दा एकाएक मलाई झोला एकदमै गह्रुँगो भयो। केही बेरसम्म त किन केले गह्रुँगो भयो, थाहै पाइनँ। चुलीमा जाँदा डिभाइस मात्र थियो। त्यो भारी थिएन। जब चुलीमा बसेर डिभाइसमा डाटा भरियो, त्यो भारी मलाई आफ्नो तौलभन्दा गह्रौं लाग्यो। बल्ल पो थाहा पाएँ, मलाई त डाटा रिसिभर डिभाइस पो गह्रुँगो भएको रहेछ। रिसिभर त पहिले जति तौलको थियो, उही तौलको थियो। पहिले खाली थियो, पछि डाटा रेकर्ड भएको थियो, तौल भने बढेको थिएन। तर, मलाई क्विन्टल जत्तिकै भारी हुँदै थियो। किनभने, त्यहाँ हामीले सगरमाथा मापन गरेको डाटा सुरक्षित थियो। बल्ल महसूस भयो, मलाई त सगरमाथाको डाटा गह्रौं भएको रहेछ; जिम्मेवारी पो भारी भएको रहेछ। आफ्नोभन्दा त्यो महत्त्वपूर्ण डाटाको माया लागिरहेको थियो। कथंकदाचित् मलाई केही भइहाल्यो भने मसँगसँगै त्यति दुःख गरेर सङ्कलन गरेको डाटा पनि नष्ट हुन सक्थ्यो। मलाई कतिखेर आधारशिविर पुगौं र मापन डाटा जिम्मा लगाऊँ भयो।
ओर्लिने वेला फेरि एक पटक चारैतिर नजर घुमाएँ, सेतो टोपी लगाएका हिमालै हिमाल बाहेक केही देखिएन। संसारमा हिमाल र हिउँ बाहेक केही छैन जस्तो। धेरै कुरा बिर्सिएर मुग्ध भएका वेला एक्कासि अमर न्यौपानेको प्रख्यात उपन्यास सेतो धरती सम्झिएँ। उनले बालविधवाको जीवनमा सेतो धरती देखे; मैले सगरमाथाको चुलीबाट सेतो धरती देखें; मैले देखेको सेतो धरती भौतिक, उनले देखेको अभौतिक; मैले देखेको भूगोल, उनले देखेको भावना; मैले देखेको वस्तुगत, उनले देखेको आत्मगत। हामीले देखेका दुई सेतो धरतीमा कति धेरै फरक!
त्यसपछि मस्तिष्कका केही फाइल खुल्दै गए। सोचें, यहाँको हिउँमा धेरै आरोहीका खुट्टाले धेरै कथा लेखेका छन् र ती कथा हिउँले छोपिएका छन्। तर, छोपिएको हिउँ उठाएर हेर्दा त्यहाँ आरोहीहरूको कथा हुँदैन। त्यसैले हिउँ, हिउँ मात्र होइन, नदेखिने कथाहरूको हिमाल हो। साहस र दुःखको शिखर हो।
हिउँमा हाम्रा पैतालाले कथा लेख्छन्, जसलाई उत्तिखेरै हिउँले छोपिदिन्छ। जीवनका कथा भने छोप्दाछोप्दै पनि देखिन्छन्। हिमाल र मानव जीवनबीच तुलना गर्दा हिमाल हेर्दा जीवन जस्तो र जीवन हेर्दा हिमाल जस्तो लाग्यो।
ओर्लंदै गर्दा पनि कतै कुनै स्टेप बिर्सिएँ कि अथवा केही महत्त्वपूर्ण काम गर्न भुलें कि भन्ने चिन्ता लागिरह्यो। किनकि, मलाई राम्रोसँग थाहा थियो, अक्सिजन प्रेसर एकदम कम हुने हुँदा धेरैजसो आरोहीले डेथ जोनमा पुगेपछि धेरै कुरा बिर्सिन्छन्। गहिरो पीडा होस् या प्रेम, परिवार होऊन् या आफन्त, साथीहरू होऊन् या शत्रुहरू; कुण्ठा होऊन् या खुशी।
त्यसैले धेरैजसो आरोहीहरूले सगरमाथा चुली चुम्दाको अनुभव र खुशी शब्दमा भन्न सक्दैनन्। उनीहरूले चुलीमा धेरै कुरा बिर्सिन्छन्। शायद आफूलाई मात्र सम्झिएर ओर्लिन्छन्। चुली चुम्दा कतिले त आफूलाई पनि बिर्सिन्छन्।
पहिले मलाई कहिल्यै लागेको थिएन, म कुनै दिन सगरमाथा आरोहण गर्नेछु। लाग्थ्यो, म त हिमाल हेर्न मात्र जन्मेको मान्छे हुँ। परिस्थितिले दुई पटकसम्म सगरमाथाको चुचुरोसम्म पुर्याइदियो। नेपालको कर्मचारी इतिहासमा दुई पटक सगरमाथाको चुचुरो चुम्ने पहिलो कर्मचारी बन्न पाउँदा आफैंसँग धन्य भएँ। संसारमै पहिलो पटक सर्भेयरद्वारा सगरमाथा मापन हुँदा र त्यसको नेतृत्व आफूले गर्न पाउँदा म आफैंसँग दोब्बर धन्य भएँ। यस अभियानलाई संयोजन र सहयोग गर्ने सबैलाई सगरमाथामै उभिएर पटक पटक सरसर्ती सम्झिएँ र उनीहरूप्रति कृतज्ञ भएँ। जन्म दिने आमा, कर्म दिने बा, आफ्नो जन्मभूमि, जीवनयात्रामा साथ दिने जीवनसाथी, आफन्त, साथीहरू, सुशील सर लगायत विभागका कर्मचारीहरू, आरोहण सहयोगीहरू सबैलाई सम्झेर शिर झुकाएँ।
***
धेरै आरोही भन्छन्, “चुचुरोमा पुगेपछि म विचार र भावनाशून्य भएँ।”
अचम्म त के भने, म दुवै पटक न विचारशून्य भएँ न भावनाशून्य। बरु जति उचाइमा पुग्यो, उति ताजा र आनन्दानुभूति गरें। जति अप्ठ्यारो भयो, उति आनन्द आयो। यस्तो भएको मेरो मात्र कारणले होइन, कुनै अन्तर्शक्तिले काम गरेको हो भन्ने लाग्यो। यति भने भएको थियो, चुचुरो र चुचुरो वरिपरि ममा एकदमै कम विचार र भावना आए। थोरै विचार मस्तिष्क र थोरै भावना मनले बोक्दा जीवन नै हलुका महसूस हुँदो रहेछ। त्यसैले पनि मलाई चुलीमा धेरै आनन्द आयो।
आफ्नो हृदय चेतना देखेर आफैंसँग छक्क परें। चुचुरोमा पनि मैले सबै काम सचेततापूर्वक गरेको थिएँ। हिमालप्रतिको विश्वास बढ्दै गएको थियो। आत्मविश्वास कत्ति कम भएको थिएन। त्यसैले लगभग पौने दुई घण्टासम्म चुचुरोमा बसेको पनि एकएक याद भइरहेको छ।
रविनलाई चुचुरोमा हुँदाको संस्मरण सोध्दा याद खासै छैन भने। अरू पनि धेरै आरोहीले यसै भनेका थिए। तर, मेरो मानसपटलमा एकएक पल सुरक्षित छन्।
(सगरमाथाको चुचुरोमा पुगेर नयाँ उचाइ पत्ता लगाउने नेपाली सर्भेयर खिमलाल गौतमको अनुभव गाथा पन्ध्रौं चुली फाइनप्रिन्टले जेठ १४ गते सार्वजनिक गरेको हो।)