खाद्यान्नको उत्पादन घट्यो, तरकारी र फलफूलको बढ्यो
चालू आर्थिक वर्षमा देशको खाद्यान्न उत्पादन घट्ने आकलन गरिएको छ।
शनिबार सार्वजनिक गरिएको आर्थिक सर्वेक्षण २०७८/७९ का अनुसार, यो वर्ष खाद्यान्न उत्पादन ३.१ प्रतिशत घट्ने अनुमान गरिएको हो। यो वर्ष धान, मकै, कोदो, गहुँ, जौ र फापर जस्ता खाद्यान्न बालीको उत्पादन एक करोड सात लाख ७२ हजार मेट्रिक टनमा सीमित हुनेछ।
यो गत आर्थिक वर्षको भन्दा थोरै हो। विश्वव्यापी खाद्यान्न सङ्कटका बीचमा खाद्यान्न उत्पादन घट्नु चिन्ताजनक हो। यो वर्ष खाद्यान्नको उत्पादकत्व पनि ३.७ प्रतिशतले घटेको छ।
तर, फलफूल, तरकारी, मसला बाली आदिको उत्पादन भने बढ्ने अनुमान गरिएको छ। यो वर्ष फलफूलको उत्पादन ४.१ प्रतिशत बढेर १४ लाख १६ हजार मेट्रिक टन पुग्ने अनुमान छ।
त्यसै गरी, तरकारीको उत्पादन चार प्रतिशत बढेर ४१ लाख ५३ हजार मेट्रिक टन पुग्नेछ।