कसरी कमजोर भयो मधेशमा माओवादी?
पाँच वर्षअघि मधेशमा एमालेभन्दा पनि बलियो देखिएको माओवादी यस पटकको स्थानीय चुनावमा भने खुम्चिएर चौथो नम्बरमा पुगेको छ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले मधेशमा आयोजना गरिएको प्रायः सबैजसो चुनावी आमसभामा माओवादीले उठाएको मुद्दालाई मधेशका जनताले समर्थन गरेको जिकिर गरेका थिए। तर, स्थानीय चुनावको परिणाम आउँदा भने माओवादी मधेशमा कमजोर देखिएको छ।
सत्तारूढ पाँच दलीय गठबन्धन भए पनि माओवादीले गत निर्वाचनमा जितेका स्थानीय तह पनि जोगाउन सकेन। सीटको हिसाबले पनि माओवादी मधेशका स्थानीय तहमा खुम्चिएको छ।
भर्खरै सम्पन्न स्थानीय चुनावमा माओवादीले मधेशका १३६ स्थानीय तहमध्ये नौमा मात्रै जितेको छ। सात वटा नगरमा मेयर र दुई गाउँपालिकामा अध्यक्ष निर्वाचित भएका छन्। त्यस्तै, पाँच नगरमा उपमेयर र चार गाउँपालिकामा उपाध्यक्ष चुनिएका छन्।
२०७४ सालको स्थानीय निर्वाचनमा माओवादीले २१ स्थानीय तहमा प्रमुख जितेको थियो। जसमा मेयर १३ र आठ अध्यक्ष थिए। त्यस्तै, १८ उपमेयर र ६ उपाध्यक्ष निर्वाचित भएका थिए।
यस पटक माओवादीले मधेशमा १३९ वडाध्यक्ष, १४० महिला सदस्य, १३४ दलित महिला सदस्य र २४९ सदस्य जितेको छ। सबै गरेर मधेशमा माओवादीका ६८० जनप्रतिनिधि आएका छन्।
माओवादीले मधेशका आठ जिल्लामध्ये महोत्तरी र पर्सामा एक सीट पनि जित्न सकेन। जबकि, गत निर्वाचनमा महोत्तरीको गौशाला, बर्दिबास, रामगोपालपुर नगरपालिका र साम्सी गाउँपालिका तथा पर्साको छिपहरमाई र ठोरी नगरपालिकामा जितेको थियो।
माओवादीबाट जितपुर सिमरा उपमहानगरमा राजन पौडेल मेयर बनेका छन्। त्यस्तै, खडक नगरपालिकामा जयप्रकाश चौधरी, मिर्चैया नगरपालिकामा श्रवणकुमार यादव, सबैला नगरपालिकामा कारिराम यादव, बागमती नगरपालिकामा भरतकुमार थापा, हरिवन नगरपालिकमा रमेश बुढाथोकी र बलरा नगरपालिकामा रमाशंकरप्रसाद कुशवाहा आएका छन्। उपमेयरमा मिर्चैैयामा जिवछी देवी, मिथिला विहारीमा शोभादेवी साह, सबैलामा रहिमा खातुन, बागमतीमा लीलाकुमारी मोक्तान र बलरामा कोशिला देवी निर्वाचित भएका छन्।
गाउँपालिकामा सर्लाहीको रामनगरमा राजाबाबु यादव र रौतहटको दुर्गा भगवतीमा शम्भुकुमार सिंह अध्यक्ष बनेका छन्। छिन्नमस्तामा राजुदेवी यादव, चन्द्रनगरमा गीतादेवी महतो, रामनगरमा गीता देवी, दुर्गा भगवतीमा शिला देवी उपाध्यक्ष निर्वाचित भएका छन्।
मधेशमा गठबन्धन हुँदा पनि माओवादीका लागि निराशाजनक परिणाम आएको छ। माओवादी नेता तथा कार्यकर्ता आन्तरिक विवादको प्रभाव परेको बताउँछन्। गिरिराजमणि पोखरेल र मातृकाप्रसाद यादवबीचको गुटबन्दीले माओवादी कमजोर देखिएको केन्द्रीय सदस्य रामकुमार शर्माको भनाइ छ। “माओवादीबाट सधैं सत्तामा रहने गरेका गिरिराजमणि पोखरेल र मातृका यादवले मधेश विकासको वैज्ञानिक मोडल प्रस्तुत गर्न सकेनन्। उनीहरू सत्तामा रहँदा पनि आआफ्नो निर्वाचन क्षेत्रमा केन्द्रित भए,” शर्मा भन्छन्।
माओवादीको केन्द्रीय अधिवेशनदेखि नै पोखरेल र यादवबीच टकराव हुँदै आएको थियो। पोखरेलले जनमोर्चाबाट आएका कार्यकर्तालाई प्राथमिकता दिएको र यादवसँगै आएका कार्यकर्तालाई पाखा लगाएको माओवादी कार्यकर्ताको आरोप छ। त्यसमा यादव पक्षले लिखित रूपमै पार्टी केन्द्रको ध्यानाकर्षण पनि गराएको थियो।
माओवादीका अर्का नेता दिलीप साह पनि पार्टीभित्रको द्वन्द्वले नै समस्या आएको बताउँछन्। “हाम्रो आन्तरिक कलहको केन्द्रबिन्दु मधेश प्रदेश नै हो,” साह भन्छन्, “पार्टीभित्र विभिन्न समूह सक्रिय रहेकाले पनि चुनावी परिणाममा असर परेको हो।”
योसँगै मधेशमा एमालेको सक्रियता बढेकाले पनि माओवादीलाई असर परेको उनको ठम्याइ छ। त्यस्तै, माओवादीले नयाँभन्दा पुरानैलाई उम्मेदवार बनाउँदा पनि हार्न पुगेको साहको भनाइ छ। राम्रो काम गर्न नसकेका पुरानै उम्मेदवारलाई जनताले नपत्याएको उनी बताउँछन्।
माओवादी नेता यादव मधेशमा पार्टी र संगठनभित्र समस्या आउन थालेको बताउँछन्। उनी नेता तथा कार्यकर्ताबीच देखिएको विवाद व्यवस्थापन गर्ने जिम्मेवारी नेतृत्वको भएको बताउँछन्। “जीवन्त पार्टीमा टकराव हुनु स्वाभाविक हो, तर अन्तर्घातलाई स्वाभाविक मान्नु हुँदैन,” यादव भन्छन्, “विगतमा पनि निर्वाचनमा अन्तर्घात भयो, त्यसलाई कारबाही गरिएन। यस पटक भएको अन्तर्घातबारे पार्टीले छानबिन गरोस्, हारका कारणहरू थाहा भइहाल्छन्।”
माओवादी प्रदेश अध्यक्ष प्रह्लाद बुढाथोकी भने आन्तरिकभन्दा पनि गठबन्धनलाई दोष लगाउँछन्। “संगठनको अवस्था कमजोर थियो, त्यसलाई व्यवस्थापन गर्न सकेनौं। निर्वाचनअघि नेता-कार्यकर्ता परिचालनमा पनि कमजोरी देखियो,” अध्यक्ष बुढाथोकी भन्छन्, “हामीले गठबन्धनमा नै धेरै भर परेकाले आन्तरिक तयारी गर्न सकेनौं।”
गठबन्धनको भर पर्दा धेरै ठाउँमा हार्नुपरेको उनको निष्कर्ष छ। “मधेशमा कतै पनि गठबन्धन प्रभावकारी भएन,” उनी भन्छन्, “जबकि हामीले आफ्नै तयारी गर्दा बढी जित्ने अवस्था थियो। गठबन्धनको भर परेकाले यस्तो अवस्था आयो।”