मधेशमा किन खुम्चियो ठाकुरको लोसपा?
स्थानीय तहको चुनावमा महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मधेशमा खुम्चिएको छ।
चुनावभन्दा दुई महीनाअघि लोसपामा असन्तुष्ट रहेका नेताहरूले नयाँ पार्टी गठन गर्न लागेको प्रसङ्गमा अध्यक्ष ठाकुरले भनेका थिए, ‘पार्टीबाट जानेहरूका लागि झ्यालढोका खुला छ।’ असन्तुष्ट नेता जाँदा पनि कुनै फरक नपर्ने उनको भनाइ थियो।
ठाकुरको यो भनाइ आएको केही समयपछि असन्तुष्ट नेताहरूले तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) त गठन गरे नै, अन्य केही नेता पनि नेकपा (एमाले) लगायत पार्टीमा प्रवेश गरे। त्यसको परिणाम स्थानीय तहको निर्वाचनमा देखिएको छ। जनता समाजवादी पार्टी (जसपा) बाट विभाजन भएर बनेको लोसपा मधेशमा खुम्चिएको छ।
स्थानीय तहमा लोसपाले मेयर र अध्यक्ष गरी १४ पालिका प्रमुख जितेको छ। जबकि, गत निर्वाचनमा ठाकुर नेतृत्वको तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) ले २५ वटा स्थानीय तहमा जितेको थियो। जसपा विभाजन भएर लोसपा बन्दा पनि १७ जना स्थानीय सरकार प्रमुख ठाकुरसँग आएका थिए।
मधेश प्रदेशको राजधानी जनकपुरधाममा लोसपा शून्यमा झरेको छ। गत निर्वाचनमा उपमहानगरमा जितेको थियो।
धनुषाका अन्य स्थानीय तहमा पनि जित्न सकेन। गत निर्वाचनमा उपमहानगर र एक नगरपालिकामा जितेको थियो।
लोसपाबाट महोत्तरीको औरही नगरपालिकामा प्रदीपकुमार खड्का, बलवा नगरपालिकामा रामविजय महतो, भंगहा नगरपालिकामा सञ्जीवकुमार साह, मटिहानी नगरपालिकामा हरिप्रसाद मण्डल निर्वाचित भएका छन्। त्यस्तै, सर्लाहीको गोडैटा नगरपालिकामा देवेन्द्रकुमार यादव, रौतहटको ईशनाथ नगरपालिकामा कौशल्या देवी, बाराको सिम्रौनगढ नगरपालिकामा किशोरीप्रसाद कलवार मेयर बनेका छन्।
त्यसै गरी सप्तरीको छिन्नमस्ता गाउँपालिकामा विद्यानन्द चौधरी, महादेवा गाउँपालिकामा सुनीलकुमार मण्डल, रुपनी गाउँपालिकामा दिनेशकुमार यादव, सोनमा गाउँपालिकामा विश्वेश्वरप्रसाद यादव, यमुनामाई गाउँपालिकामा महम्मद साउद, विश्रामपुर गाउँपालिकामा जुल्फकार अली भुटो र विन्ध्यवासनी गाउँपालिकामा प्रमोद तिवारी अध्यक्ष निर्वाचित भएका छन्।
उपमेयरमा औरही नगरपालिकामा रेणु झा, मटिहानी नगरपालिकामा मञ्जु देवी, गोडैटा नगरपालिकामा अञ्जना कुशवाहा, ईशनाथ नगरपालिकामा मोहम्मद परवेज र सिम्रौनगढ नगरपालिकामा नजमु शेहर निर्वाचित भएका छन्। सप्तरीको महादेवा गाउँपालिकामा अर्चनाकुमारी यादव, रुपनी गाउँपालिकामा पुष्पकुमारी श्रेष्ठ, सोनमा गाउँपालिकामा जहिदा खातुन, यमुनामाई गाउँपालिकामा अनुराधा कुमारी र विश्रामपुर गाउँपालिकामा प्रियंका देवी उपाध्यक्ष बनेका छन्।
पार्टीमा देखिएको असन्तुष्टिलाई मिनाउनुको सट्टा ‘जाने जाओस्’ भन्ने सन्देशले चुनावमा प्रभाव परेको स्थानीय नेता तथा कार्यकर्ता बताउँछन्। उनीहरूका अनुसार, नेताहरूको व्यक्तिगत टकराव र गुटबन्दीले पनि स्थानीय चुनावमा असर पर्यो।
निर्वाचनको केही समयअघि अध्यक्ष ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोबीच खटपट हुँदा कार्यकर्ता पनि दुई ध्रुवमा विभाजित भएका थिए। पछि दुई नेता नजिक आए पनि कार्यकर्ता नजिक आउन नसकेको जनाइएको छ।
लोसपाका नेता एवं प्रदेश सभा सचेतक परमेश्वर साह गत निर्वाचनमा विजयी जनप्रतिनिधिले जनताको मन जित्ने काम गर्न नसकेको बताउँछन्। उनीहरूलाई नै अहिले पनि टिकट दिंदा हार बेहोर्नुपरेको उनको भनाइ छ। उम्मेदवार छनोटमा कमजोरी भएको औंल्याउँदै साह भन्छन्, “कसलाई उम्मेदवार बनाउँदा कस्तो अवस्था हुन्छ भन्ने विषयमा छलफल गरिएन। यसले पार्टीमा समस्या आयो।”
लोसपाका कार्यकारिणी समिति सदस्य केशव झा पार्टी धेरै कमजोर नदेखिएको तर अपेक्षाकृत परिणाम नआएको बताउँछन्। “पार्टी विभाजन भएर बनेको थियो। संगठन पनि कमजोर अवस्थामा थियो,” उनी भन्छन्, “अर्को, पुराना जनप्रतिनिधिलाई नै दोहोर्याउने पार्टी निर्णय जनताले रुचाएनन्।” स्थानीय तहको निर्वाचन परिणामबारे पार्टीमा समीक्षा हुने उनको भनाइ छ।