पूर्व डीआईजी रञ्जन कोइराला पक्राउ
सशस्त्र प्रहरीका पूर्व नायब महानिरीक्षक (डीआईजी) रञ्जन कोइराला पक्राउ परेका छन्।
काठमाडौंको बानेश्वरबाट शुक्रबार साँझ पक्राउ गरिएको नेपाल प्रहरीका प्रवक्ता विष्णुकुमार केसीले बताए। “प्रहरी टोलीले बानेश्वरबाट पक्राउ गरेको छ,” प्रवक्ता केसीले भने।
सर्वोच्च अदालतले फैसला उल्ट्याएको भोलिपल्टै प्रहरीले कोइरालालाई पक्राउ गरेको हो।
१० वर्षअघि श्रीमती गीता ढकालको हत्या गरेको अभियोगमा काठमाडौं जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको थियो। उच्च अदालतले त्यसलाई सदर गरेपछि उनी सर्वोच्च अदालत पुगेका थिए।
गत असारमा सर्वोच्च अदालतले उनको सजाय घटाउने फैसला गरेको थियो। त्यसपछि उनी गत साउन १४ गते डिल्लीबजार कारागारबाट रिहा भएका थिए।
महान्यायाधिवक्ताको कार्यालयले त्यस विरुद्ध सर्वोच्चमा पुनरावलोकन गरेको थियो। त्यसमाथि भएको सुनुवाइमा बिहीबार सर्वोच्च अदालतको पूर्ण इजलासले कोइरालाको कैद घटाउने फैसला उल्ट्याएको थियो।
सर्वोच्च अदालतले फैसला उल्ट्याएसँगै उनले घर छोडेका थिए। बानेश्वरस्थित आफन्तको घरमा बसिरहेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रवक्ता केसीले बताए।