रञ्जन कोइरालाको फैसला उल्टियो, फेरि जेल बस्नुपर्ने
सशस्त्र प्रहरी बलका पूर्व नायब महानिरीक्षक (डीआईजी) रञ्जन कोइरालाको फैसला उल्टिएको छ। उनले जेल बस्नुपर्ने भएको छ।
बिहीबार सर्वोच्च अदालतको पूर्ण इजलासले कोइरालाको मुद्दामा भएको फैसला उल्ट्याउने निर्णय गरेको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले बताए। यसअघि गत असारमा सर्वोच्च अदालतले कोइरालाको कैद सजाय घटाउने फैसला गरेको थियो।
त्यसमाथि परेको पुनरावलोकनमा बिहीबार सर्वोच्च अदालतका न्यायाधीशहरू दीपककुमार कार्की, टंकबहादुर मोक्तान र कुमार चुडालको पूर्ण इजलासले यसअघिको फैसला उल्टी हुने आदेश दिएको हो।
सशस्त्र प्रहरी बलको डीआईजी रहेकै वेला २०६८ पुस २७ गते उनले बूढानीलकण्ठस्थित घरमा पत्नी गीता ढकालको हत्या गरेका थिए। हत्यापछि गीताको शव मकवानपुरको जङ्गलमा लगेर जलाएको तीन तहकै अदालतमा पुष्टि भएको थियो।
गीताको हत्या गरेको अभियोगमा काठमाडौं जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको थियो। त्यसका विरुद्ध उनी तत्कालीन पुनरावेदन अदालत, पाटन पुगेका थिए। पुनरावेदनले पनि जिल्ला अदालतकै फैसला सदर गरेको थियो।
त्यसपछि उनी सर्वोच्च अदालत पुगेका थिए। २०७७ असार १५ गते सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले उनको सजाय घटाइदिएको थियो।
सर्वोच्च अदालतले जन्मकैद बढी हुने भन्दै साढे आठ वर्ष मात्रै कैद गर्दा पनि 'सजायको मकसद पूरा हुने' फैसला गरेको थियो। सर्वोच्चको कैद घटाउने निर्णय गरे अनुसार उनी आठ वर्ष ६ महीना कैदमा बसेर २०७७ साउन १४ गते रिहा भएका थिए। उनी २०६८ माघ ८ गते पक्राउ परेका थिए।
महान्यायाधिवक्ताको कार्यालयले कोइरालासँगै उनकी प्रेमिका तारा रेग्मीको सजाय घटाउने सर्वोच्चको फैसला पनि पुनरावलोकन गर्न माग गरेको थियो। रेग्मीको हकमा भने सर्वोच्चले यसअघिकै फैसलालाई सदर गरेको प्रवक्ता पौडेलले बताए।