फिलिपिन्समा कसरी मिथ्या सूचनाको बलमा फर्कियो मार्कोस शासन?
फिलिपिन्समा सन् १९९० को दशकपछि जन्मिएको पुस्ताले मार्कोसको शासनबारे केही पनि थाहा पाएको थिएन। त्यो पुस्ताले आफ्ना मोबाइलका सामाजिक सञ्जालमा मार्कोस शासनको पुनरुत्थानवादी कथानक हेर्यो। प्रजातन्त्र स्थापनाका खातिर आफ्नो परिवार निशानामा परेको कथा मार्कोस परिवारले सिर्जनात्मक ढङ्गमा प्रस्तुत गरेको थियो।
नोबेल शान्ति पुरस्कार विजेता फिलिपिनी पत्रकार मारिया रेसा एक दशकअघि शुरू भएको सञ्चार संस्था र्याप्लरको सम्पादकीय कार्यालयमा आहोरदोहोर गर्दै थिइन्। रातको ९ बजेको थियो। फिलिपिन्सको राष्ट्रपति निर्वाचन सकिएको दुई घण्टा मात्र भएको थियो भने त्यतिन्जेलमा आधाजसो मतगणना भइसकेको थियो।
गणनामा फिलिपिन्सका पूर्व तानाशाह फडिनन्ड मार्कोसका छोरा फडिनन्ड जुनियरले अग्रता लिइरहेका थिए। मतान्तरको अनुपात हेर्दा उनी राष्ट्रपति बन्ने निश्चित जस्तै देखिएको थियो।
र्याप्लरको समाचार कक्षमा भने अर्कै दृश्य मडारिइरहेको थियो। २० वर्ष हाराहारीका अधिकांश पत्रकार उत्कट ऊर्जाका साथ काममा भिडिरहेका थिए। भिडिओ पोस्ट गर्न, समाचार अपडेट गर्न उनीहरूलाई भ्याईनभ्याई थियो।
सबैभन्दा ठूलो कुरा त र्याप्लर नवीन सोच भएका पत्रकारलाई स्थान दिने मञ्चका रूपमा स्थापित थियो। जहाँ तथ्य जाँचकी, अधिवक्ता तथा अभियन्ता सही सूचनाका लागि भिडिरहन्थे। तिनले मतदानका वेला प्रसार गरिएका मिथ्या सूचनाको चिरफार गरेका थिए। चुनावी परिणामले फिलिपिन्सको मात्रै होइन, र्याप्लरको भविष्यको पनि नयाँ रेखा कोर्नेछ।
मार्कोस जुनियरले आफ्नो बुबाको पालाको स्वर्णिम युगलाई पुनःस्थापना गर्ने दाबीलाई चुनावी रणनीतिका रूपमा अघि सारेका थिए। उनले बुबाबाट अन्यायपूर्वक खोसिएको शक्ति प्राप्त गर्ने प्रतिशोधी राजकुमारका रूपमा आफूलाई जनता समक्ष प्रस्तुत गरे।
फडिनन्ड मार्कोस र श्रीमती इमिल्डा मार्कोसले फिलिपिन्समा मार्सल ल मात्र लगाएनन्, असन्तुष्ट पक्षलाई कारावास सजाय सुनाए, कैयौंको हत्या गरे भने हजारौंलाई बेपत्ता बनाए। उनीहरूले आलोचक पत्रकारलाई ‘लामखुट्टे’ को संज्ञा दिएका थिए भने प्रश्न गर्ने सञ्चारकर्मीलाई देखिसहँदैनथे।
“जे होस्, उनीहरूले जितिछाडे,” रेसाले भनिन्। जब मतगणनाको शुरूआती परिणामले मार्कोस जुनियर विजयी हुने लक्षण देखियो तब पूर्व तानाशाहका छोराले आफ्नो बुबाको शासनबारे राम्रा छविको कथा बुनेको पुष्टि भयो।
मार्कोस जुनियरका प्रतिद्वन्द्वी निवर्तमान राष्ट्रपति रोड्रिगो डुतेर्तेकी छोरी अबकी उपराष्ट्रपति सारा डुतेर्तेको पुनः निर्वाचनको मागलाई पनि अमान्य करार गरिएको छ। आफ्नो ६ वर्षे कार्यकालमा डुतेर्तेले लोकरिझ्याइँका लागि सामाजिक सञ्जालको कुशलतापूर्वक सञ्चालन गरे।
उनले सञ्चारजगत्लाई आवाजहीन बनाइदिए, आफ्ना आलोचकहरूलाई जेल सजाय गरे र लागूऔषध विरुद्ध युद्ध छेडे। सो युद्धमा हजारौंको मृत्यु भयो र मनिलाका विस्तारित झुपडपट्टीमा लाशहरूको खात लाग्यो।
प्रहरी तथा अज्ञात हतियारधारीद्वारा हजारौंको गैरन्यायिक हत्या भएको तथ्यलाई र्याप्लरका पत्रकारहरूले उजागर गरे। युद्धको क्रूर पक्ष जनता समक्ष आयो। साथै, डुतेर्ते निकट अनलाइनहरूले प्रसार गरेका मिथ्या समाचार तथा गलत सूचनाले असन्तुष्ट पक्षलाई झन् उग्र बनायो।
परिणामतः राष्ट्रपति हिंसात्मक अभियानलाई तीव्र बनाउन लागिपरे। यसले र्याप्लरलाई धक्का पुग्यो। उसको फेसबूक पेजमा रेसालाई धम्की र अपमानित गर्ने अभिव्यक्तिको बाढी लाग्यो। त्यसपछि कानूनी प्रहारका शृङ्खला शुरू भए। यदि आरोपित मुद्दाहरूमा दोषी करार गरिए उनले सय वर्षभन्दा बढी जेल सजाय भोग्नुपर्ने हुन्छ।
सन् २०१९ मा रेसालाई सादा पोशाकमा आएका अधिकारीहरूले र्याप्लरको कार्यालयबाट गिरफ्तार गरे। रातारात हिरासतमा लिइए पनि उनलाई पछि जमानतमा रिहा गरियो।
त्यसको एक महीनामा विदेश भ्रमणबाट फिलिपिन्स फर्कंदा उनलाई विमानस्थलमै पुनः पक्राउ गरियो। त्यसले र्याप्लरको समाचार कक्षमा डर-त्रास मडारियो। सम्पादकहरूले थप सुरक्षा गार्ड तैनाथ गरे। सरकारले थप सहकर्मीहरू गिरफ्तार गर्न सक्ने र पत्रिका बन्द नै हुन सक्ने आकलन गरियो।
तर, गत डिसेम्बरमा प्रदान गरिएको नोबेल शान्ति पुरस्कारले र्याप्लरलाई विश्वव्यापी ख्याति पनि दियो। सम्पादन कक्षमा नैतिक साहस सञ्चारित भयो। विकलाङ्ग हाँसका प्रतीक मानिएका डुतेर्तेलाई महामारी सामना गर्ने क्रममा भ्रष्टाचार र अक्षमताको आरोप लाग्यो।
चुनावी माहोल तात्दै जाँदा डुतेर्तेको प्रहारबाट थलिएको प्रजातन्त्र पक्षधर समूह वर्तमान उपराष्ट्रपति मारिया लियोनोर रोब्रेडोको समर्थनमा गोलबद्ध हुन थाल्यो। उनको जिम्मेवार, पारदर्शी र जवाफदेही सरकारको नाराले जनमत एकत्र हुँदै गयो। देशभरमा हजारौं युवाले रेब्रेडोको ‘गुलाबी क्रान्ति’ लाई साथ दिए। उनको अभियानको गुलाबी रङ देशभर छाउन थाल्यो।
रेसाले प्रिन्सटनबाट सन् १९८६ मा स्नातक सकेकै वर्ष फिलिपिनी जनताले मार्कोसको परिवारलाई राष्ट्रपति भवनबाट निष्कासन गरी प्रवासमा जान बाध्य पारेका थिए। उनी त्यो वेलाको जनउभारले प्रभावित भइन्।
सन् १९८६ को फिलिपिनो क्रान्तिका वेला भिक्षुणीहरूले प्रार्थनाको माला र युवाहरूले मार्कोसको सेनालाई हिंसात्मक कारबाही नगर्न पुष्पगुच्छा दिएका थिए। आफ्नो त्यही देशमा उनी पत्रकारको रूपमा काम गर्न फर्किइन्।
१० करोड हाराहारी जनसङ्ख्या भएको फिलिपिन्सका युवापुस्ता झैं उनलाई पनि दक्षिण–पूर्वी एशियाको पुरानो प्रजातान्त्रिक मुलुक अब भने तानाशाहको शासनबाट मुक्त भएको लाग्यो।
वर्षौंको राजनीतिक अस्तव्यस्तता र भ्रष्टाचारले सन् १९९० र त्यसपछिको दशकलाई बन्दी बनायो। कतै फिलिपिन्समा प्रजातन्त्र नै हारेको हो कि भन्ने प्रतीत हुन थाल्यो। सन् २०१६ मा डुतेर्तेलाई उच्च बहुमतले जिताउनुको एउटा कारण दशकौंको बहुदलीय अस्तव्यस्तताले जनता वाक्कदिक्क भएकाले पनि हो।
झण्डै एक दशकयता सामाजिक सञ्जालहरूमा मार्कोसको शासनकाललाई शान्ति, प्रगति र उन्नतिको कालका रूपमा स्थापित गर्ने सङ्कथन बिस्तारै रोपिंदै गयो। यो काम विशेष गरी फेसबूक र यूट्युबमा बढी भएको थियो। ती सञ्जालमा प्रसारित सामग्रीहरू जनताले निःशुल्क रूपमा आफ्ना मोबाइलमा हेर्न पाए।
मूलधारका सञ्चार माध्यममा स्थान नपाए पनि मार्कोस परिवारले वैकल्पिक सूचना-चक्रलाई स्थापित गरायो। त्यसले समाजको ठूलो तप्कालाई प्रभावित पार्यो। मार्कोस परिवारले त्यो तप्कालाई लक्षित गर्यो जुन समूहले आफूलाई स्थापित भनिएका उदारवादी ‘कुलीन’ समाचार माध्यमले वास्ता नगरेको ठानेको थियो।
सन् १९९० को दशकपछि जन्मिएको पुस्ताले मार्कोसको शासनबारे केही पनि थाहा पाएको थिएन। त्यो पुस्ताले आफ्ना मोबाइलका सामाजिक सञ्जालमा मार्कोस शासनको पुरुत्थानवादी कथानकहरू हेर्यो। प्रजातन्त्र स्थापनाका खातिर आफ्नो परिवार निशानामा परेको कथा मार्कोस परिवारले सिर्जनात्मक ढङ्गमा प्रस्तुत गरेको थियो। सो कथनलाई औसत फिलिपिनोले आत्मसात् गरे।
उनीहरूले प्रजातन्त्रको स्वप्निल वाचा त देखे–सुनेका थिए, तर त्यस अनुसार जनताको सेवासुविधाका लागि केही नहुँदा प्रजातन्त्रप्रतिको प्रतिबद्धतालाई भ्रम मान्न थालेका थिए। डोनाल्ड ट्रम्पदेखि जायर बोल्सोनारोसम्मका पपुलिस्टहरू जस्तै मार्कोस जुनियरले पनि आफ्ना कुरा स्थापित गर्न सामाजिक सञ्जालको उपयोग गरे। यो क्रममा उनले गलत दाबीलाई प्रसार गरेर आफ्नो द्वेषलाई मलजल पुग्ने षड्यन्त्र सिद्धान्तको प्रवर्द्धन गरे।
“यो चुनाव धेरै हिसाबले प्रतीकात्मक छ। अब हामीले विश्वव्यापी संघर्ष गर्नुपर्ने देखिन्छ,” रेसा भनिन्छ। “प्रविधिले उपलब्ध गराएको सामाजिक सञ्जालले त मानिसहरूमा भएको राम्रो गुणलाई मार्ने काम पो गरिरहेको छ, किनभने यिनले रोष, क्रोध र घृणा फैलाउने काम गरिरहेको छ।”
चुनावका दिन बिहान ५ बजे र्याप्लरका रिपोर्टरहरूले यूट्युब र फेसबूकमा प्रत्यक्ष प्रसारण गरिरहेका थिए। समाचार कक्षको मनोदशा उत्साहित पार्ने खालको थियो। किनभने, कोरोना महामारीका कारण लागू भएको हिंडडुलको प्रतिबन्धपछि सहकर्मीहरू कार्यालयमा जम्मा भएर काम गरिरहेका थिए।
यो चुनाव फिलिपिन्सको प्रजातन्त्र र खुला प्रेसका लागि अस्तित्वको प्रश्न थियो भन्ने सबैको मान्यता थियो। “हाम्रो साथीहरूलाई हेर्नुस् त,” रेसाले मलाई भनिन्, “उनीहरूले सर्वस्व लगाएर काम गरिरहेका छन्। दाउमा के छ भन्ने उनीहरूलाई राम्रै थाहा छ।”
र्याप्लरका रिपोर्टरहरू आफूलाई वैश्विक सूचना युद्धमा अग्रमोर्चामा रहेको महसूस गर्छन्। स्थापित गलत कुरालाई कमजोर पारिरहेका छौं भन्ने उनीहरूको मान्यता छ। उनीहरूले मार्कोस शासनमा भएको अत्याचार र मानव अधिकार उल्लंघनका घटनालाई ढाकछोप गर्न फेसबूक, टिकटक, यूट्युब र ट्वीटरमा मार्कोस शासन ढाल्नका लागि अमेरिकी गुप्तचर निकाए सीआईए र भ्याटिकनले लगाएको झूटो आरोपको पर्दाफास गरे। साथै, उनीहरूले मार्कोसले कसरी सम्पत्ति कमाए भन्नेबारे गरिएको गलत कथनलाई पनि भन्डाफोर गरे।
र्याप्लरले बनाएको भिडिओले सत्य के हो भन्ने उजागर गर्यो। जनवरीमा ट्वीटरले मार्कोसको पक्षमा बनाइएका तीन सय वटाभन्दा बढी भिडिओलाई प्रतिबन्ध लगायो। ती भिडिओ भ्रामक सूचनाले युक्त भएको पहिचान र्याप्लरले गरेको थियो।
र्यापलरका पत्रकार, तथ्य जाँचकीले फेसबूकसँग सहकार्य गरी गलत पोस्ट र भ्रामक सूचना प्रसारलाई सीमित पारिदिए। तर, यी सबै हुँदाहुँदै पनि स्थितिमा केही परिवर्तन आउन सकेन। मत सर्वेक्षणहरूमा मार्कोसको पक्षमा स्पष्ट बहुमत आउने देखियो। उनीसँग भएको यथेष्ट सम्पत्ति, मिथमेकिङ र राजनीतिक चालबाजीसँग प्रतिपक्षीले भिड्न सकेनन्।
चुनावी परिणामको समाचार अपडेट गर्न अबेरसम्म काम गर्नुपर्ने भएकाले चुनावको साँझ र्याप्लरको समाचार कक्षमा बट्टाबन्द गरिएका खाजाको व्यवस्था गरियो। मार्कोसको पक्षमा स्पष्ट बहुमत आउने लक्षण देखिएपछि समाचार कक्षमा सन्नाटा छायो। यस्तो बहुमत सहितको विजय ४० वर्षयता पहिलो पटक देखिएको थियो।
मिडियाकर्मीहरू आफ्नो काममा एकाग्र हुने प्रयास गरिरहेका थिए। सम्पादकहरूले चुनावअघि नै परिणाम जे आए पनि आफ्नो भावनाबाट अप्रभावित रहन निर्देशन दिइसकेका थिए। “आफ्नो भावनालाई परै राख्नुहोस्,” ग्लेन्डा ग्लोरियाले भने, “चुनाव तपाईंहरूको बारेमा त होइन नि।”
समाचार सम्पादक प्याटर्नाे इस्माक्वेललाई रिपोर्टिङमा खटिएका पत्रकारहरूले अब के गर्ने होला भनेर निरन्तर सोधखोज गरिरहेका थिए। एउटी रिपोर्टरले त रुँदै फोन गरिन्। इस्माक्वेलले उनलाई शान्त भएर यसो यसो गर भनेर निर्देशन दिए पनि उनलाई आफूहरूले सर्वसाधारणलाई सुसूचित पार्न गरिएको प्रयास पुग्दो भएन भन्ने लागिरहेको थियो।
उनले ठाने– गर्नुपर्ने काम अझ धेरै बाँकी छ। तर, त्यो रात भने उनले अर्डर अनुसार आएको खाजा खानु बाहेक केही गर्न सक्ने अवस्था थिएन।
स्थलगत रिपोर्टिङ मार्फत रोब्रेडोको चुनावी अभियानलाई नियारिहेका र्याप्लरका रिपोर्टर मारा सिपेडाको बुझाइमा मार्कोसको विजय बकवास हो। “चुनावी परिणाम आउन थालेपछि हामीलाई प्रतिपक्ष कति बलियो रहेछ भन्ने आभास भयो,” उनले भनिन्। उनले यो कुरा सामाजिक सञ्जालको गलत कथनका सन्दर्भमा भनेकी थिइन्, “पत्रकारका रूपमा मलाई के लाग्यो भने गलत सूचनालाई चिर्न पुग्ने गरी काम भएको रहेनछ।”
रातको ११ बजे मार्कोस आफ्ना समर्थकलाई सम्बोधन गर्न टेलिभिजनमा देखिए। रातो पारी भएको सेतो सर्टमा चम्किएका उनी बुबाकै अवतार झैं देखिए। मनिलामा भएको मार्कोस हेडक्वार्टर बाहिर भने समर्थकहरू खुशीले चिच्याइरहेका थिए। उनीहरूले ‘ब्यागोन लिपुनान’ गाउँदै नाचिरहेका थिए। सो गीत मार्कोस पत्नी इमिल्डा मार्कोसले सन् १९७६ मा मार्सल ल लगाएपछि तयार पार्न लगाएकी थिइन्।
मार्कोस समर्थकहरूले खिचेको भ्लग र तिनका प्रभावशाली समर्थकहरू जसले टिकटक र यूट्युबमा ती भिडिओ पोस्ट गरे। अब त नयाँ अनलाइन कथन जन्मिएको छ, र त्यो क्षण ती विजेताहरूको थियो। “तानाशाह इन्कर्पोरेशनले जित्यो,” रेसाले भनिन्। अब फेरि एक पटक उनको र र्याप्लरको भविष्य दाउमा परेको छ। सदा आशावादी हुने रेसा पछिल्लो गतिविधिले आश्चर्यमा परेकी छैनन्। “हाम्रो समाचार कक्षले ६ वर्षदेखि निरन्तर प्रहार झेलिरहेको छ,” उनले भनिन्, “सोच्न सकिने जति प्रत्येक खराब अवस्थाको योजना हामीले बनाएका छौं।”
११ बजेर २० मिनेट जाँदा र्याप्लरले आफ्नो प्रत्यक्ष प्रसारण सक्यो। “कस्तो लाग्यो त ?” रेसाले आफ्नो एक सहकर्मीलाई सोधिन्। “ठीकै छ,” एक सम्पादकले जवाफ दिए, “हामीले काम जारी राख्नुपर्छ।” तर, केही पर रहेका सामाजिक सञ्जाल हेर्ने सदस्यका आँखा भने आँसुले टम्म थिए।
र्याप्लरका २४ वर्षीय रिपोर्टर र्याम्बो तालाबोङ कति दुःखी देखिए भने उनले मलाई भने, “मलाई त कसैले छुरा रोपे जस्तो भइरहेको छ।” मार्कोस समर्थकले उनलाई वर्षौंदेखि अनलाइनमा ट्रोल बनाउने र तर्साउने–धम्क्याउने गरेका थिए।
त्यस साँझ उनी मार्कोस हेडक्वार्टरमा विजय उत्सव मनाइरहेका वेला पुग्दा मार्कोसका समर्थकहरूले देख्नासाथ ‘फेक न्यूज’, ‘फेक न्यूज’ भन्दै चिच्याउन थाले। “उनीहरूले यस्तो भनिरहेका थिए कि मानौं तिमीले अहिलेसम्म गरेका सबै काम अमान्य भयो किनभने तिमीले हार्यौ,” उनले बताए।
भोलिपल्ट बिहान तालाबोङ कार्यालयको रिपोर्टिङ कक्षमा आएर उनले संस्थाले गरिरहेको काममाथि प्रश्न उठाए। “मलाई लाग्छ, हामीले मार्कोसका समर्थकहरूलाई कम आँक्यौं। त्यसैले हामीलाई चुनावी परिणामले आश्चर्यचकित बनायो,” उनले भने, “हामीले उनीहरूलाई कहिल्यै पनि गम्भीर रूपले लिएनौं।”
तालाबोङको भनाइमा मार्कोसका समर्थकहरूलाई तथ्यसँग केही वास्ता छैन। उनीहरू पहिल्यैदेखि मार्कोस परिवारले प्रचार गरेको कथनमा विश्वस्त थिए। त्यो कथनले फिलिपिनो जनतालाई मार्कोस अत्याचारी होइनन् भन्ने पढाएको छ। मार्कोसका समर्थकहरूलाई गलत सूचनाले युक्त भएको भन्नु वा सामाजिक सञ्जालमा पोख्त ठान्दा उनीहरू सामाजिक मूल प्रवाहीकरणबाट वञ्चित मानिए पनि वास्तविकता अर्कै देखियो।
चुनावको परिणामले के देखायो भने उनीहरू चाहिं मूल प्रवाहमा रहेछन्। “हाम्रो बुझाइमा उनीहरू गलत सूचनाले प्रभावित भएका हुन्,” उनले भने, “उनीहरूको बुझाइमा हामी चाहिं मूर्ख हौं।” उनको बुझाइ के छ भने, “मार्कोसलाई भोट हाल्ने तीन करोड दश लाखमध्ये अधिकांशले हामीलाई पढेनन्। अधिकांश त लेखपढ नै गर्दैनन्। अनि तिनीहरूसम्म हामी कसरी पुग्न सक्छौं?”
फिलिपिन्सको मिथ्या सूचनाबारे अध्ययन गरेका म्यासाचुसेट युनिभर्सिटीकी प्राध्यापक जोनाथन ओङले लेखे, “लामो समयदेखि प्रोगेसिभहरूले आफूसँग भएको सूचनालाई पुग्दो ठानिरहेका थिए। फिलिपिन्सको हकमा ऐतिहासिक तथ्यपरकता र तथ्य जाँच जस्ता उदारवादी संयन्त्रको तुलना मार्कोसको समर्थकहरूले सामाजिक सञ्जाल मार्फत व्यापक बनाएका सिर्जनात्मक लोककथाको प्रभावसँग हुनै सक्दैन।”
चुनावपछिका दिनमा सम्पादकहरूले के कुरा स्वीकार गरे भने, अब चुनिएका राष्ट्रपतिले पत्रकारहरूलाई विश्वास गर्नेछैनन्। उनी आफ्ना सहयोगीहरूले सञ्चालन गरेका मञ्च मार्फत बोल्न रुचाउँछन्। ती मञ्च भनेको भ्लगर, अनलाइन र नयाँ टेलिभिजन नेटवर्क हो जुन फिलिपिनो संस्करणको फक्स न्यूज च्यानल सरह छ।
वरिष्ठ सम्पादक चाअए होफलिनाले मिथ्या समाचारसँग निरन्तर लड्ने प्रतिबद्धता गरेकी छिन्। “डुतेर्ते राष्ट्रपति हुँदा मानव अधिकार मुख्य मुद्दा बनेको थियो भने मार्कोस जुनियरको कार्यकालमा सत्यका लागि लड्नुपर्ने हुन्छ। जीवनको कदर नगर्ने र सत्यको कदर नगर्नेबीच कुन चाहिं खराब हो मलाई थाहा छैन।”
उनका अनुसार, अबको चुनौती भनेको फिलिपिनो जनता समक्ष पुग्ने प्रयास नै हो। ती जनता जो र्याप्लरको पहुँच बाहिरको संसारमा छन्। उनी भन्छिन्, “त्यसको लागि पत्रकारहरूले सुन्ने, धैर्य गर्ने र विनम्र भएर उनीहरूसँग सम्पर्क स्थापित गर्न सक्छन्।”
(शीला कोरोनेलको न्यू योर्करमा प्रकाशित लेखको शीर्षक परिवर्तन गरिएकाे छ। यसकाे भावानुवाद महेश्वर आचार्यले गरेका हुन्।)