गुराँस खाने कि नखाने?
राष्ट्रिय फूल लालीगुराँस खाने र यसको जूस बनाएर पिउने पनि गरिन्छ, तर विज्ञ भन्छन्– लालीगुराँस खानै नहुने होइन तर अन्धाधुन्ध खान हुँदैन।
नेपालमा राष्ट्रिय फूल लालीगुराँस खाने चलन छ। गुराँस पाइने क्षेत्रमा जूस समेत बनाइन्छ, खाइन्छ। स्वास्थ्यका दृष्टिले लाभदायक भए पनि यसको जथाभावी प्रयोग गर्न नहुने विज्ञ बताउँछन्। “गुराँसको फूल, पात, मुना सबैमा विषालु तत्त्व हुन्छ,” वनस्पतिविद् सञ्जीवकुमार राई भन्छन्, “तसर्थ यो अन्धाधुन्ध खानु हुँदैन।”
नेपालमा लालीगुराँस खाने परम्परासँगै धेरै खाँदा मात लाग्ने ज्ञान समेत समाजमा पुस्तान्तरण हुँदै आएको छ। लालीगुराँस परिवारमा पर्ने अँगेरी पनि घातक प्रजाति भएको प्रदेश १ को वन तथा भूसंरक्षण मन्त्रालयका सचिव राई बताउँछन्। “लालीगुराँस र अँगेरी फुल्ने मौसमको मह धेरै खाँदा मात लाग्ने जनविश्वास गाउँघरमा छ,” उनी भन्छन्।
कुनै कुरा वर्षौंदेखि खाँदै आएको समुदायमा त्यसलाई पचाउन सक्ने क्षमता विकास हुने भएकाले अरूमा पनि त्यही कुरा लागू नहुने वनस्पति विभागका पूर्व महानिर्देशक हरिकृष्ण सैंजू बताउँछन्। “लालीगुराँस मात्र होइन, वनका अन्य फलफूल र वनस्पति खाँदा पनि लट्ठिइने, निदाइने हुन्छ,” उनी भन्छन्।
सभ्यताको विकासक्रमसँगै मान्छेलाई घरेलु वनस्पति र फलफूलमा बानी परेकाले जङ्गली प्रजाति पचाउन गाह्रो हुने सैंजूको भनाइ छ। “खानै हुँदैन भन्ने होइन तर कति खाँदा असर पुग्छ, कति खाँदा असर पुग्दैन भन्नेमा निश्चित हुनुपर्छ,” उनी भन्छन्।
नेपालमा लालीगुराँसको जूस बनाउने परियोजना जर्मन सहयोगमा १५ वर्षअघि नै सञ्चालनमा आएको थियो। यस अन्तर्गत किसानलाई लालीगुराँसबाट जूस बनाउन सिकाएर आयआर्जनको वैकल्पिक सीप हस्तान्तरण गरिएको मह व्यवसायी पवन सत्याल बताउँछन्। “हामीले चाहिं पहिलेदेखि नै गुराँसको अचार बनाएर खाने गरेका छौं,” उनी भन्छन्।
गुराँसको गुलियोपन मौरीलाई मह बनाउन पर्याप्त नहुने उनी बताउँछन्। “किनकि गुराँसमा चिनीको मात्रा कम हुन्छ,” उनी भन्छन्, “त्यसैले कसैले लालीगुराँसको मह भन्छ भने पनि त्यो अन्य फूलको रस मिश्रण भएको हो भन्ने बुझ्नुपर्छ।”
जुनसुकै कुरा धेरै खाँदा हानिकारक हुने भएकाले गुराँसको हकमा पनि सन्तुलित प्रयोग गर्नुपर्ने रसायनशास्त्री धर्मकान्त श्रीवास्तव बताउँछन्। वनस्पति विभागका पूर्व वरिष्ठ केमिस्ट समेत रहेका उनको बुझाइमा लालीगुराँस खानै नहुने होइन तर अन्धाधुन्ध खान हुँदैन। यसको ‘टक्सिन’ घटाएर वा हटाएर खान सकिन्छ।
परापूर्वकालदेखि लालीगुराँस हुने ठाउँका बासिन्दाले यसलाई कसरी उपयोग गर्छन्, त्यो पनि हेरिनुपर्ने श्रीवास्तव बताउँछन्। “रैथाने ज्ञान र सीपलाई आधुनिक ज्ञानसँग तादात्म्य गराउने सुविधा हामीलाई छ,” उनी भन्छन्, “गुराँसको हकमा पनि त्यही कुरा लागू गर्न सक्छौं।”
लालीगुराँसको जूस, सर्बत बनाएर खाने चलन भारतको उत्तराखण्डमा पनि रहेको रसायनशास्त्री सविना श्रेष्ठ जनाउँछिन्। “लालीगुराँस औषधीय वनस्पति हो र यसको उपयोग धेरै रोगको निवारणमा हुने गरेको छ,” उनी भन्छिन्।
श्रेष्ठका अनुसार गुुराँसको नयाँ पालुवा विषालु हुन्छ। गुराँसमा म्याग्नेसिया, आइरन, जिङ्क, कपर, सोडियम, क्रोमियम, कोबल्ट, क्याडमियम, मिलेब्डेनम, निकेल, लिड, आर्सेनिक जस्ता तत्त्व हुन्छन्। त्यस्तै अल्कालोयड, फ्लाभ्नोइड, ग्लाइकोसाइड, स्यापोनिन, ट्यानिन्स, स्टेरोइड र फ्लाबोटेनन जस्ता उपयोगी वानस्पतीय अवयव पाइन्छन्, जसलाई वैज्ञानिक भाषामा ‘सेकेन्डरी मेटाबोलाइट्स’ भनिन्छ।
“यस्तो सेकेन्डरी मेटाबोलाइट्स बिरुवाको जीवनरक्षाका लागि अत्यावश्यक मानिन्छ भने यसले मानवीय स्वास्थ्यमा पनि प्रभावकारी भूमिका निर्वाह गर्छ तर यसको तथ्यपरक र सही उपयोग हुनु जरुरी छ,” उनी भन्छिन्, “गुराँसको फूलभित्र हुने पुष्पदल घाँटीमा माछाको काँडा अड्केका वेला खाने गरिन्छ।”
लालीगुराँसको फूल र पातमा हुने ‘ग्रायानोटोक्सिन’ ले शरीरमा अक्सिजनको मात्रा कम गराएर बेहोस बनाउने, निद्रा लगाउने वनस्पतिविद् राई बताउँछन्। उनका अनुसार लालीगुराँसको कुन प्रजातिमा कुन रसायन कति छ र कति खाँदा हानि गर्दैन भन्ने परीक्षण काठमाडौंस्थित वनस्पति विभागमा गर्न सकिन्छ।
लालीगुराँसको अंग्रेजी नाम ‘रोडोडेन्ड्रन’ हो। ग्रिक भाषामा रोडोको अर्थ गुलाफ र ‘डेन्ड्रन’को अर्थ रूख हो। एशिया, उत्तर अमेरिका, यूरोप र अस्ट्रेलिया महादेशमा पाइने गुराँस नेपालमा पूर्वदेखि पश्चिमसम्मका मध्य र उच्च पहाडी क्षेत्रका विभिन्न ४३ वटा जिल्लामा भेटिन्छ।
नेपालमा मुख्य गरी गुराँस पाइने क्षेत्रहरूमा प्रदेश १ को तिनजुरे-मिल्के-जलजले, सोलुखुम्बु र इलाम, प्रदेश ३ मकवानपुरको दामन-सिमभन्ज्याङ छन्। साथै, प्रदेश १ को रसुवा, गण्डकीका घोडेपानी, लमजुङ र म्याग्दी क्षेत्र, कर्णालीका रुकुम, मुगु, हुम्ला, डोल्पा, जुम्ला र दैलेखको गुराँसे क्षेत्र र सुदूरपश्चिमका बझाङ, बाजुरा, दार्चुला, डोटी, डडेल्धुरा र बैतडीमा पनि गुराँस पाइन्छ।
नेपालमा पाइने गुराँसका ३४ प्रजातिमध्ये बाहुल्य लालीगुराँसको छ जुन हिमाली वन क्षेत्रको उच्च पारिस्थितिक महत्त्वको प्रजाति हो। यो समुद्री सतहबाट १२ सयदेखि ३५ सय मिटरको उचाइसम्म पाइन्छ। वन तथा भूसंरक्षण मन्त्रालयले २०७५ सालमा जारी गरेको गुराँस संरक्षण कार्ययोजना (२०७५-२०८०) मा गुराँस ४३ जिल्लामा पाइने उल्लेख छ।
यो प्रजातिको फूल रातो, सेतो, खरानी, हल्का पहेंलो आदि रङमा फुल्छ। कम उचाइ र पारिलो घाम भएको ठाउँमा पुस महिनाबाटै फुल्न शुरू हुन्छ। ३४-३५ सय मिटर उचाइमा भने असारसम्म फुल्छ। त्यो उचाइमा यसको बोट पोथ्राजस्तो हुन्छ।
नेपालमा लालीगुराँसका दुई उपप्रजाति (रोडोडेन्ड्रन अर्बाेरियम उपप्रजाति अर्बाेरियम, रोडोडेन्ड्रन अर्बाेरियम उपप्रजाति सिन्नामोमियम) र दुई प्रकार (रोडोडेन्ड्रन अर्बाेरियम भेराइटी अल्बम तथा रोडोडेन्ड्रन अर्बाेरियम भेराइटी रोसियम) छन्। यी दुई प्रजाति उस्ताउस्तै देखिने र चिन्न गाह्रो हुने विज्ञको अनुभव छ।
अर्बाेरियम नेपालभर पाइन्छ तर सिन्नामोमियम मध्य र पूर्वी क्षेत्रमा मात्र हुन्छ। सिन्नामोमियको पातको मुनिपट्टि हल्का रातो र पहेंलो रङको बाक्लो रसायन जमेको हुन्छ। यो उपप्रजाति विशेष गरी संखुवासभाको मिल्के क्षेत्रमा भेटिन्छ।