कहाँबाट कसरी आइपुग्यो नेपालमा गुराँस?
संसारभर गुराँसका करीब एक हजार ५० प्रजाति छन्। नेपालमा भने ३३ प्रजाति पाइन्छन्। तीमध्ये दुई प्रजाति नेपालबाहेक अन्यत्र छैन। नेपालको पश्चिमी हिमाली भेगमा पाइने ती गुराँस ५० देखि ६० लाख वर्षपहिले हिमालय क्षेत्रमा उद्भव भएको मानिन्छ।
गुराँसको उद्विकास उत्तर अमेरिकाको अलास्कामा करीब ६ करोड ५० लाख वर्षअघि भएको मानिन्छ। अलास्कामा गुराँस उद्विकास भएको युगमा अहिले नेपाल रहेको हिमालय क्षेत्रमा टेथिस सागर थियो। त्यसैले यहाँ समुद्री जन्तु तथा वनस्पति मात्र थिए।
‘द ओरिजिन अफ कन्टिनेन्ट एन्ड ओसन्स’ अनुसार त्यसबेला दक्षिण एसियाली देशकाे सतह दक्षिण अफ्रिका नजिकबाट यता बढ्दै आउने क्रममा थियो। भारतीय उपमहाद्वीप सायद अरेबियन तथा भारतीय सागरको बीचतिर आइपुगेको थियाे। यसैले दक्षिण एसियामा गुराँसको आगमन हिमालय उद्विकास भइसकेपछि भएको हो।
नवल श्रेष्ठ र अरूहरूले लेखेको ‘ग्लोबल प्याटर्न्स अफ रोडोडेन्ड्रन डाइभर्सिटी : द रोल अफ इभोलुसनरी टाइम एन्ड डाइभर्सिफिकेसन रेट्स’ (सन् २०१८) शीर्षक लेखमा गुराँस उद्विकास र यसको विस्तारबारे उल्लेख छ। यो लेख गुराँस प्रजातिमा पाइने हरितकण विश्लेषणका आधारमा लेखिएको हो। जसअनुसार दक्षिण एसियाका गुराँस करीब ७० लाख वर्षपहिले उद्विकास भएका हुन्।
जलवायु परिवर्तनका कारण पृथ्वीमा अनेकन् पटक हिमयुग रहेको इतिहास छ। कुनै हिमयुग लाखौं वर्ष पनि चल्थ्यो। कुनै केही हजार वर्षसम्म। पृथ्वीका भिन्नभिन्न भाग हिउँले ढाकेका हुन्थे। कहिले आधा गोलार्ध ढाकेको हुन्थ्यो, धेरैजसो चाहिँ उत्तरी गोलार्धको धेरै भाग ढाकिन्थ्यो। यही क्रममा जाडो सहन नसक्ने वा सम्बन्धित भूभाग छाड्न नसक्नेहरू लोप भए।
बेरिङ ल्यान्ड ब्रिजबाट अलास्कामा उद्विकास भएका गुराँस सर्वप्रथम उत्तरपूर्वी एसिया पुगे। तीमध्ये केही साइबेरिया हुँदै यूरोप पुगे। कुनै चीनको पूर्वी भेगबाट दक्षिणपूर्व चीनतिर विस्तार भए। दक्षिणतिर लागेका गुराँसले दक्षिण पूर्व चीनमा प्रचुर मात्रामा फैलन उपयुक्त वातावरण पाए।
तीनदेखि चार करोड वर्षअघि नै गुराँस यूरोप पुगेको प्रमाण फेला परेका छन्। भौगोलिक रूपमा जमीन नजोडिएका कारण उत्तर अमेरिकाको वनस्पति प्राकृतिक रूपमा सोझै यूरोप पुग्न सक्दैन। उत्तर अमेरिकाबाट यूरोप मात्र नभएर एसिया पुग्ने स्थलमार्ग पनि छैन। तर, १५ देखि २० हजार वर्षअघिसम्म उत्तरपश्चिम उत्तर अमेरिकाबाट उत्तरपूर्वी एसिया प्रवेश गर्ने स्थलमार्ग थियो। त्यो भाग ‘बेरिङ ल्यान्ड ब्रिज’ नामले चिनिन्छ।
बेरिङ ल्यान्ड ब्रिजबाट अलास्कामा उद्विकास भएका गुराँस सर्वप्रथम उत्तरपूर्वी एसिया पुगे। तीमध्ये केही साइबेरिया हुँदै यूरोप पुगे। कुनै चीनको पूर्वी भेगबाट दक्षिणपूर्व चीनतिर विस्तार भए। दक्षिणतिर लागेका गुराँसले दक्षिण पूर्व चीनमा प्रचुर मात्रामा फैलन उपयुक्त वातावरण पाए। यसैकारण, चीनको युनान प्रान्तको हेङदुवाङ पर्वत शृंखलामा गुराँसका २५० भन्दा बढी प्रजाति छन्।
समुच्च चीनमा गुराँसका करीब ६०० प्रजाति छन्। तीमध्ये ४०० जति चीनका रैथाने प्रजाति हुन्। संसारभर फैलिएकाे गुराँस प्रजाति तथा तिनका उप–प्रजातिमध्ये झन्डै ९० प्रतिशत गुराँस दक्षिणपूर्व चीनदेखि दक्षिणतर्फ फैलिएका ‘द मलाय अर्किपेलागो’ द्वीपहरूमा पाइन्छ। रोडोडेन्ड्रन लेपिडोटम भनिने झाडीदार गुराँस नेपाल लगायत भारत, चीन, म्यान्मार, पाकिस्तान, तिब्बतमा पाइन्छ। यिनै गुराँस नेपालको हिमालय क्षेत्र आइपुग्दा नयाँ दुई प्रजाति उद्विकास भए।
नेपालको हिमाली क्षेत्रको माथिल्लो भाग हिउँले ढाकिरहन्छ। त्यसैले नेपालमा उद्भव भएका दुई प्रजाति उत्तरतिर फैलिन सकेनन्। यी गुराँस मनाङ, मुस्ताङ, रसुवा, डोल्पाजस्ता क्षेत्रमा पाइने हुँदा पश्चिम तथा पूर्वतर्फ फैलन पनि अनुपयुक्त भूगोल छ। दक्षिणतर्फ सुहाउँदिलो हावापानी नहुँदा विस्तार भएन। यसैले यी दुई प्रजाति नेपालबाहेक अन्य देशमा प्राकृतिक रूपमा अस्तित्वमा छैनन्।
रोडोडेन्ड्रन ल्वोन्डेसी
डोनाल्ड जर्ज ल्वोन्डेस पेसाले इस्ट इन्डिया अन्तर्गत गड्वाल राइफल्सका कर्नेल थिए। उनी वनस्पति औधी मन पराउँथे। उनी सन् १९५० मा प्रसिद्ध ब्रिटिश हिमालय आरोही एच. डब्लु. तिल्मानसँग माथिल्लो मर्स्याङ्दी उपत्यका पुगेका थिए। उनैले नेपालमा संकलन गरेको गुराँसको नमूना बेलायतमा एच.एच. डेभिडियनले अध्ययन गरे। डेभिडियन गुराँसविज्ञ हुन्।
अध्ययनका क्रममा डेभिडियनले एक किसिमको गुराँसको नमूना विश्वकै निम्ति नयाँ पाए। उनले पत्ता लगाएको गुराँसको वैज्ञानिक नाम ल्वोन्डेसको सम्मानमा रोडोडेन्ड्रन ल्वोन्डेसी राखे। यसको नामकरण गर्दा प्रयोग गरेका दुई नमूना हिजोआज बेलायतस्थित ‘नेचुरल हिस्ट्री म्यूजियम’ लन्डन र ‘रोयल बोटानिकल गार्डेन’ इडिनबर्घ स्कटल्यान्डमा संगृहीत छ।
रोडोडेन्ड्रन ल्वोन्डेसी जमीनको सतहमा फिँजिएको हुन्छ। यसको लम्बाइ आठदेखि नौ इन्चसम्म लामो हुन्छ। तर, टुप्पोतर्फ ३/४ इन्च भाग मात्रै ठडिएको हुन्छ। यसलाई प्रष्टसँग दुई कारणले चिन्न सकिन्छ। यो जमीनमा लत्रिएको हुन्छ र पातका वरिपरि किनारामा स–साना रौं हुन्छन्। पातको आकार १५–२५ मिलिमिटर लामो र ६–११ मिलिमिटरसम्म चौडा हुन्छ। पातमा भएका रौंबाट यो गुराँस नफुलेको अवस्थामा पनि चिन्न सकिन्छ।
रोडोडेन्ड्रन ल्वोन्डेसी वैशाख र जेठ महीनामा फुल्छ। यसको पुष्पपत्र फिका पहेँलो हुन्छ। फूलको भेट्नु वरिपरि रौं हुन्छ। भेट्नु १५–२० मिलिमिटर लामो हुन्छ। यसको एउटा काण्डको आकाशतिर ठडिएको टुप्पोमा एकदेखि दुई वटासम्म फूल हुन्छन्।
केशवराज राजभण्डारी र मार्क वाट्सनले लेखेको ‘रोडोडेन्ड्रन्स अफ नेपाल’ (सन् २००५) शीर्षक पुस्तिका अनुसार रोडोडेन्ड्रन ल्वोन्डेसी डोल्पा, मुस्ताङ, मनाङ र लम्जुङ जिल्लामा समुद्री सतहबाट तीन हजार २०० मिटरदेखि चार हजार ५०० मिटर उचाइसम्म पाइन्छ। यो पंक्तिकारले म्याग्दीस्थित अन्नपूर्ण प्रथम हिमालबाट आएको हुम खोला किनारमा दुई हजार ९९५ मिटर उचाइ (२८ डिग्री ३५ मिनट ४४ सेकेन्ड एन र ८३ डिग्री ४१ मिनट ५८ सेकेन्ड ई) मा यो गुराँस फेला पारेको थियो।
रोडोडेन्ड्रन कोवानियनम
रोडोडेन्ड्रन कोवानियनम नेपालमा मात्र पाइने अर्को गुराँस प्रजाति हो। यसको नमूना बेलायतका ओलेग पोलुनिनले सन् १९४९ मा लाङटाङमा संकलन गरेका थिए।
पोलुनिन आरोही एच.डब्लु. टिल्मनसँग पहिलो पटक नेपाल आएका थिए। उनी आफैं वनस्पतिविज्ञ भए पनि लाङटाङमा संकलन गरिएको गुराँसको नयाँ प्रजातिको नमूना आफैं अध्ययन गरेनन्।
पोलुनिनले संकलन गरेको नमुना संसारको गुराँस विज्ञ एच.एच. डेभिडियनले बेलायतमा अध्ययन गरे । डेभिडियनले सन् १९५२ मा यो नयाँ गुराँस प्रजातिलाई स्कटल्याण्डका वनस्पतिविज्ञ जोहन म्याक्वीन कोवनको सम्मानमा रोडोडेन्ड्रन कोवानियनम नामाकरण गरे। कोवनले दक्षिण एसियामा पाइने गुराँस प्रजातिहरुका पातको तुलनात्मक अध्ययन गरेका थिए । यसको नमूना पनि ‘नेचुरल हिस्ट्री म्युजियम’ लन्डन र ‘रोयल बोटानिकल गार्डेन’ इडिनबर्घ स्कटल्यान्डमा संग्रहीत छ।
रोडोडेन्ड्रन कोवानियनम म्याग्दी, मुस्ताङ, मनाङ र रसुवा जिल्लामा मात्र पाइने जानकारी पाइन्छ। तर, पंक्तिकारले म्याग्दीमा रोडोडेन्ड्रन ल्वोन्डेसी भेटिएको ठाउँ नजिक यो प्रजाति पनि फेला पारेको थियो। यद्यपि, फूल ओइलाइसकेको र पात पलाइसकेको अवस्था थियो। उल्लिखित दुई प्रजाति भएका ठाउँमा गुराँसको अर्को प्रजाति रोडोडेन्ड्रन लेपिडोटम पनि थियो।
यसको बोट २.५ मिटरसम्म अग्लो हुन्छ। यसको पातको आकार ४०–६५ मिलिमिटर लामो र २०–३० मिलिमिटर चौडा हुन्छ। पातको वरिपरि किनारामा ससाना रौंजस्ता आकृति हुन्छन् र यसको पात वैशाख र जेठको अन्त्यतिर पलाइसक्छ।
लेपिडोटा उपसेक्सन
रोडोडेन्ड्रन लेपिडोटमको फूलको आकार र रंग रोडोडेन्ड्रन कोवानियनमको जस्तै हुन्छ। यी दुईबीचको फरक हत्तपत्त थाहा पाइँदैन। पातको प्रकृतिबाट भने छुट्याउन सकिन्छ। लेपिडोटम फुलेको अवस्थामा पात मनग्गे हुन्छ। लेपिडोटमको पातमा रौंजस्ता ससाना आकृति हुँदैन र यसको पात सबै एकैचोटि कहिल्यै झर्दैन।
संसारभरका गुराँस प्रजातिलाई आठ उप–प्रजाति र दर्जनौं ‘सेक्सन’मा राखिएको छ।
यसअनुसार उप–सेक्सन लेपिडोटामा कोवानियनम, लेपिडोटम र ल्वोन्डेसी समावेश छन्। यसैकारण, यी तीन प्रजातिका फूल उस्ताउस्तै देखिन्छन्।
रोडोडेन्ड्रन कोवानियनम र रोडोडेन्ड्रन ल्वोन्डेसीको पूर्वज रोडोडेन्ड्रन लेपिडोटम हुनुपर्छ।
सन् २०१७ मा गुराँसको उप–सेक्सन लेपिडोटामा पर्ने कोवानियनम, लेपिडोटम र ल्वोन्डेसीबारे मदनकृष्ण सुवाल र ओले आर भेटासले लखेको ‘क्लाइमेटी भेरिएबल्स डेटरमाइनिङ रोडोडेन्ड्रन सिस्टर ट्याक्सा डिस्ट्रिब्युसन एन्ड डिस्ट्रिब्युसन ओभरल्याप्स इन द हिमालय’ शीर्षक लेख ‘फ्रन्टियर्स अफ बायोजिओग्राफी’ को भोलम ९ अंक ३ संस्करणमा प्रकाशित भएको छ।
लेख अनुसार यी तीन प्रजाति करीब उस्तै हावापानीमा रहने हुँदा एकै ठाउँमा भेटिने सम्भावना ४६ देखि ६८ प्रतिशतसम्म हुन्छ। कोवानियनम र लेपिडोटम भविष्यमा अझ उचाइतिर जाने र ल्वोन्डेसी भने साविककै भौगोलिक उचाइमा रहनसक्ने अनुमान गरिएको छ। तर, लेखमा न्यून तथ्यांक प्रयोग गरिएकाले यो जानकारी भरपर्दो छैन।
‘नेशनल हर्बेरियम तथा प्लान्ट ल्याबोरेटोरी’ गोदावरीका वनस्पतिविज्ञ प्रतीक्षा चालिसे र अरूहरूले लेखेको ‘स्टेटस अफ एन इन्डेमिक ट्याक्सा रोडोडेन्ड्रन कोवानियनम इन लाङटाङ नेशनल पार्क, सेन्ट्रल नेपाल’ शीर्षक लेख सन् २०२० मा प्लान्ट रिसोर्सेस जर्नल भोलम १८ अंक १ मा छापिएको छ। लेखमा रसुवामा रोडोडेन्ड्रन कोवानियनमको अवस्थाबारे सामान्य जानकारी छ।
विश्व प्रकृति संरक्षण कोष (आईयूसीएन)को रातो सूचीमा रोडोडेन्ड्रन कोवानियनम र रोडोडेन्ड्रन ल्वोन्डेसी परेका छैनन्। यसले तिनको स्थिति लोप हुने खतरामा छैन भन्ने बुझिन्छ। तर, सही अर्थमा तिनको वास्तविक स्थिति कस्तो हो भन्ने थाहा छैन। यसो हुनुको कारण, यी प्रजातिबारे अध्ययन नहुनु नै हो।
यसर्थ, नेपालमा मात्र पाइने दुई प्रजातिका गुराँसको फैलावट कहाँ, के र कति छ तथा तिनीहरूको निकट भविष्यमा बढ्ने वा घट्ने सम्भावना कस्तो छ, अध्ययन हुन जरुरी छ। अन्यथा, नेपालका रैथाने गुराँस प्रजाति पुस्तकमा मात्रै सीमित हुनेछन्।