मोदीको लुम्बिनी भ्रमणमा छताछुल्ल प्रधानमन्त्री सचिवालयको कमजोरी
लुम्बिनीमा भारतीय प्रधानमन्त्री मोदीको स्वागतका लागि अघिल्लै दिन भैरहवा पुगेका प्रधानमन्त्री देउवाको सचिवालयका सदस्यहरूले तयारी र व्यवस्थापन गर्नै सकेनन्।
बुद्ध जयन्तीका अवसर पारेर जेठ २ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लुम्बिनीमा केही घण्टा बिताए। गौतम बुद्ध नेपालमा जन्मिएको ऐतिहासिक तथ्य हुँदाहुँदै यो विषयलाई भारतले वेलावेला विवादमा तान्ने गरेको छ। तर, सीमा नजिकको लुम्बिनी क्षेत्रमा पछिल्लो समय चिनियाँहरूको चासो बढेपछि भारत केही झस्किन पुग्यो। त्यसैको परिणाम, बुद्ध जन्मस्थलबारे कुनै विवाद नभएको सन्देश दिन बुद्ध जयन्तीको अवसर पारेर मोदी लुम्बिनी आए।
भारतीय समकक्षीको स्वागतका लागि अघिल्लो दिन त्यहाँ पुगेका प्रधानमन्त्री शेरबहादुर देउवा मोदीसँगै एक प्रार्थनामा सहभागी भए। मायादेवी मन्दिरभित्र प्रार्थनाका क्रममा देउवाको बसाइ र हाउभाउबारे सामाजिक सञ्जालमा आलोचना भएको छ। सार्वजनिक भएको भिडिओमा भारतीय प्रधानमन्त्री मोदी मायादेवी मन्दिरभित्र दुवै हात जोडेर ध्यान मुद्रामा देखिएका छन्। तर, प्रधानमन्त्री देउवाले हात जोडेका छैनन्, उनमा बढी नै अधैर्य देखिन्छ। घरी लुगा मिलाउँछन्, घरी हात बाँधेर बस्छन्। यसो मोदीतिर पुलुक्क हेर्छन्। अनि मोदीको सिको गर्दै अल्छी पारामा दुई हात जोड्छन्। सार्वजनिक भएको अर्को एउटा तस्वीरमा देउवाले मोदीसँगै बसेर बडेमानको हाई काढेको देखिन्छ। कार्यक्रम सकिएपछि देउवालाई मोदीले हात समातेर उठ्न सघाउँछन्।
यस्तो दृश्य सामाजिक सञ्जालमा तत्कालै भाइरल भयो। सामाजिक सञ्जाल मात्र होइन, मोदीको भ्रमण दलमा सहभागी भारतीय सञ्चार माध्यमले पनि प्रकाशन/प्रसारण गरे। केही सञ्चार माध्यमबाट प्रत्यक्ष प्रसारण भएको थियो। कूटनीतिमा हाउभाउले धेरै कुरा अभिव्यक्त गर्छ, यसलाई साङ्केतिक सञ्चार मानिन्छ। अझ अन्तर्राष्ट्रिय कूटनीतिमा त ‘बडी ल्याङ्ग्वेज’ ले ठूलो अर्थ राख्छ।
देशको प्रधानमन्त्रीले विदेशी अतिथिसँग बस्दा अनुशासनहीनता देखाएको भन्दै कतिपयले सामाजिक सञ्जालमा आलोचना पनि गरे। यसबाट पक्कै पनि अन्तर्राष्ट्रिय जगत्मा नराम्रो सन्देश गएको छ। यसमा गल्ती, कमजोरी भएकै हो, तर प्रधानमन्त्री देउवाबाट नभई उनको सचिवालयबाट। जबकि, कार्यक्रमको अघिल्लो दिन जेठ १ मै नेपाली सेनाको जहाजबाट प्रधानमन्त्री देउवा र पत्नी आरजु सहित ठूलै टोली भैरहवा पुगेको थियो।
यस्ता कार्यक्रममा सचिवालयले प्रधानमन्त्रीको आनीबानी, खानपिन आदिको व्यवस्थापन मात्र होइन, कार्यक्रमका सहभागी, वक्ता लगायत विषयमा पर्याप्त जानकारी लिनुका साथै कार्यक्रम स्थलको अनुगमन र सीट व्यवस्थापनमा ध्यान दिनुपर्छ। कार्यक्रममा कुनै कमजोरी हुन नपाओस् भनेरै सचिवालयले यी पक्षमा विचार गर्नुपर्ने हुन्छ। तर, अघिल्लै दिन भैरहवा पुगेको सचिवालय टोलीको ध्यान त्यतातिर जान सकेन। यस्ता विषयमा सोच्न सचिवालयमा योग्य व्यक्ति चाहिन्छ। जुन देउवाको सचिवालयमा नभएको लुम्बिनी प्रकरणबाट प्रष्ट हुन्छ।
एक वा दुई पटक होइन, पाँच पटक प्रधानमन्त्री भइसकेका नेता हुन्, देउवा। प्रथम राष्ट्रपति डा. रामवरण यादवका प्रेस सल्लाहकार भएर काम गरेका पत्रकार राजेन्द्र दाहालको बुझाइमा लुम्बिनीको घटना प्रधानमन्त्रीको सचिवालयमा योग्य व्यक्ति नहुँदाको परिणाम हो।
दुवै देशका प्रधानमन्त्रीले ध्यान गर्ने ठाउँको व्यवस्थापन जसरी गरिएको थियो, त्यो ७८ वर्षे देउवाका लागि कुनै पनि हिसाबले उपयुक्त थिएन। अर्कातिर, देउवा राष्ट्रिय पोशाक दौरा–सुरुवालमा थिए। देउवाभन्दा कान्छा मोदीका लागि पनि त्यो बसाइ सहज भएन। मोदी अनौपचारिक पोशाकमा भएर पनि बडो अप्ठेरो गरी ध्यानमा बसेका थिए। उसै पनि ठीकै उमेरका व्यक्तिहरूका लागि पनि लामो समयसम्म पलेटी मारेर बस्नु गाह्रो हुन्छ। पत्रकार दाहालले भने जस्तै सचिवालयमा योग्य व्यक्ति भएको भए प्रधानमन्त्रीका लागि कस्तो बसाइ उपयुक्त हुन्छ भनेर तत्कालै कुर्सीको प्रबन्ध मिलाउन सकिन्थ्यो।
प्रथम राष्ट्रपति डा. यादवलाई शीतल निवासमा बस्न सोफाको व्यवस्था थियो भने कार्यालयमा कुर्सी। यादवलाई बस्न न सोफा सजिलो भयो, न त कुर्सी नै। लामो समयसम्म त्यस्तो कुर्सीमा बस्न अप्ठेरो हुन थालेपछि सचिवालयका सदस्यहरूसँगको सल्लाहमा उनका लागि काठको आरामदायी कुर्सी खोजी भयो। तर, कतै पनि भेटिएन। त्यसपछि सचिवालयका तर्फबाट पाटन औद्योगिक क्षेत्रमा अर्डर गरेर केही कुर्सी किनिएको दाहाल सम्झन्छन्।
दोस्रो कार्यकालका लागि कांग्रेसको नेतृत्व सम्हालेका प्रधानमन्त्री देउवाले सिंहदरबारको कुर्सी पटक पटक आर्जन गर्न त सकेका छन्, तर सचिवालयमा योग्य व्यक्ति र परिपक्व टीम नहुँदा ‘कुर्सी’ सजिलो बनाउन सकेका छैनन्।
r
चुस्त सचिवालयले नेतृत्वको छवि जोगाउँछ। सन् २००९ मा बनेको अमेरिकी फिल्म इन्भिक्टसले दक्षिण अफ्रिकाका राष्ट्रपति नेल्सन मण्डेलाको सचिवालयको चुस्तता देखाउँछ। मण्डेलाको अगुवाइमा दक्षिण अफ्रिकामा रङ्गभेद विरोधी आन्दोलन सफल भएपछि राष्ट्रपतिका नाताले खेलकूद मार्फत राष्ट्रिय एकताका लागि पहल गर्छन्। सन् १९९५ को रग्बी म्याचमा ‘गोरो’ छालाका व्यक्ति क्याप्टेन भएको अफ्रिकी फूटबल टीममा तीन जना अश्वेत खेलाडी पनि हुन्छन्। ‘गोरो’ लाई क्याप्टेनबाट हटाउन अश्वेतहरूले आग्रह गरेपछि मण्डेला भन्छन्, “तिमीहरू यति वेला देशलाई जिताउन मैदानमा छौ।” यति भनेपछि श्वेत/अश्वेत दुवैले मैदानमा एकसाथ राष्ट्रिय झण्डा हल्लाउँछन्।
त्यसअघि राष्ट्रिय टीमका खेलाडीबारे मण्डेलालाई धेरै कुरा थाहा हुँदैन। प्रतियोगिताको तयारीबारे बुझ्न रङ्गशाला जाँदै गर्दा त्यसै दिन एउटा अखबारमा राष्ट्रिय टीमका खेलाडीको तस्वीर सहित विज्ञापन छापिएको हुन्छ। गाडी चढेर रङ्गशाला जाँदै गर्दा सहयोगीले हरेक खेलाडीको नाम र पृष्ठभूमिबारे मण्डेलालाई बताउँछन्। जसका आधारमा मण्डेलाले फलानो खेलमा तिम्रो गोल उत्कृष्ट थियो भनेर किटेरै प्रशंसा गर्दा ती खेलाडी दङ्ग पर्छन्।
भारतीय प्रधानमन्त्री मोदीको लुम्बिनी भ्रमणको चाँजोपाजो मिलाउने देउवाको सचिवालयले एक पटक इन्भिक्टस फिल्म हेरेर केही सिक्ने कि?