लुम्बिनीमा सम्राट् अशोक बन्न नसकेका मोदी
बौद्ध धर्मको बढ्दो लोकप्रियता रोक्न नसकेपछि त्यसैलाई हिन्दूत्वको खास्टो ओढाई नेपाल र भारत दुवैलाई हिन्दू राष्ट्र बनाउने राजनीतिक चालबाजी हो, मोदीको लुम्बिनी भ्रमण।
गौतम बुद्धको जन्मस्थल लुम्बिनी परिसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीलाई देख्दा मलाई ठ्याक्कै सम्झना आएका अर्का भारतीय शासक हुन्- मौर्य सम्राट् अशोक। बाइस सय एकहत्तर वर्षपछि प्रम मोदी लुम्बिनी आएका हुन्। अर्थात् अशोक ईपू २४९ मा यहाँ आएका थिए।
विभिन्न जनपद र महाजनपदहरूमा विभाजित त्यति वेलाको भारतमा राजनीतिक शक्तिहरू एकआपसमा भिड्थे। एक महाजनपदले अर्को जनपद तथा महाजनपद जित्दै साम्राज्यको रूप लिंदै थियो। एक प्रमुख साम्राज्य थियो, मगध। बुद्धकै जीवनकालमा ठूलो साम्राज्यको रूप लिइसकेको मगधका राजा थिए, बुद्धका परम उपासक बिम्बिसार।
पछि उनको वंशलाई बेदखल गरेर नन्दवंशले केही समय मगध साम्राज्य हातमा लिएको थियो। पछि मगधमा चन्द्रगुप्तले शासन गरी मौर्यवंशको परम्परा चलाए। मगध साम्राज्यलाई अझ ठूलो भौगोलिक क्षेत्रमा विस्तार गर्ने काम चन्द्रगुप्तका उत्तराधिकारीबाट पनि भएको पाइन्छ। उनैका नाति हुन्, सम्राट् अशोक। बिम्बिसारदेखि अशोकसम्म आइपुग्दा मगधको भूगोल निकै विस्तार भइसकेको थियो। दक्षिणको केही बाहेक वर्तमान भारतको सम्पूर्ण भूभाग अशोकले पैत्रिक राज्यका रूपमा पाएका थिए।
सम्राट् अशोक र प्रधानमन्त्री मोदीको लुम्बिनी भ्रमणलाई एउटै नजरबाट हेर्दा कतिपय महत्त्वपूर्ण कुराको उपेक्षा हुन्छ। वास्तवमा यो सही बुझाइ होइन पनि। यसका लागि इतिहास खोतल्नै पर्छ।
महाभिनिष्क्रमण (गृहत्याग) गरेर सिद्धार्थ गौतम कपिलवस्तुबाट सोझै मगध साम्राज्यको राजधानी राजगीर किन पुगे भन्ने प्रश्न महत्त्वपूर्ण छ। स्वतन्त्र चिन्तन र साधनाका लागि राजगीर प्रसिद्ध केन्द्र थियो। यस्तो स्वतन्त्रता तत्कालीन वैदिक समाजलाई पाच्य थिएन। उसका लागि मगध प्रत्यन्त प्रदेश (दुर्गम) तथा असभ्य थियो। यस भूक्षेत्रलाई आर्यावर्त मानिंदैनथ्यो पनि।
राजगीरको बोधगयामा वैशाख पूर्णिमाका दिन बुद्धत्व प्राप्त गरी सिद्धार्थ सारनाथमा आषाढ पूर्णिमाका दिन पहिलो पल्ट धर्म-उपदेश (धर्मचक्रप्रवर्तन) गरेर पुनः राजगीर नै फर्केका थिए। मगध नरेश बिम्बिसार मात्रै नभएर वरिपरिका अन्य राज्य पनि थोरै समयमा बुद्धका अनुयायी बने। बुद्धको महापरिनिर्वाणको करीब दुई सय वर्षपछि चन्द्रगुप्त मौर्य तथा उनका छोरा बिन्दुसार जैन धर्मका अनुयायी थिए भने नाति अशोकले बौद्ध धर्म अपनाएनन् मात्र, संरक्षक नै बने।
बुद्धका उपदेश एकत्र गर्ने र तिनमा विकृति आउन नपाओस् भनी सामूहिक सभा गर्ने पद्धतिलाई संगायन भनिन्छ। पहिलो संगायन बुद्धको महापरिनिर्वाणको तीन महिनापछि र दोस्रो संगायन सय वर्षपछि भएको थियो। इसापूर्व तेस्रो शताब्दीसम्ममा बौद्ध धर्मभित्र मुख्य रूपमा १८ वटा निकाय देखा परिसकेको थियो। यस अवस्थामा मत-मतान्तर हुनु स्वाभाविक थियो। सम्राट् अशोकले तेस्रो संगायनको आयोजना गरेका थिए।
अशोकले बौद्ध धर्मको संरक्षणसँगै संगायन आयोजना मात्र गरेनन्, धर्मदूतहरू नियुक्त गरेर चारै दिशामा बौद्ध धर्मको प्रसार पनि गरे। ठाउँ ठाउँमा बौद्ध विहार, स्तूपको निर्माण गरे। त्यसपछि पनि संगायन तथा धर्मदूत नियुक्त गरेर अझ विस्तृत भूक्षेत्रमा बौद्ध धर्मदर्शन फैलाउने श्रेय प्रथम शताब्दीका कुषाणवंशीय राजा कनिष्कमा जान्छ, तर उनी लुम्बिनी पुगेका थिएनन्।
बुद्धसँग सम्बद्ध तीर्थयात्राको थालनी अशोकले बोधगयाबाट गरेका थिए। राज्याभिषेकको बीसौं वर्षगाँठ पारेर उनी लुम्बिनी तथा कपिलवस्तु पुगेको यी दुवै ठाउँमा प्राप्त स्तम्भलेख तथा महावस्तु लगायत ग्रन्थबाट पुष्टि हुन्छ।
विशाल मौर्य साम्राज्यका सम्राट् अशोकको शक्ति र सामर्थ्य वर्तमान भारतका प्रधानमन्त्रीको भन्दा निकै ठूलो हुनु स्वाभाविक हो। मगधले वैशाली नामको महाजनपदलाई आफूमा विलय गरेपछि त्यसको अधीन रहेको कपिलवस्तु नामको शाक्य गणराज्य स्वतः मगध साम्राज्य अन्तर्गत परेको थियो। यस अनुसार लुम्बिनी पनि मौर्य साम्राज्यमै थियो। तर, उनी लुम्बिनीमा तीर्थयात्रीको हैसियतमा पुगेका थिए, प्रत्येक क्रियाकलाप धार्मिक थियो।
बुद्धको जन्मस्थल जनाउन राखिएको एउटा साधारण ढुङ्गा पनि त्यति वेला श्रद्धाको वस्तु भइसकेको थियो। अशोकले त्यसको संरक्षणमा विशेष ध्यान दिए। ऐतिहासिक तथा पुरातात्त्विक दृष्टिले यो महत्त्वपूर्ण कार्य हो। यिनै विवरण समेटेर अशोक स्तम्भमा अभिलेख कुँदाए। विभिन्न समयमा लुम्बिनी पुगेका फाहियान, ह्वेनसाङ लगायत चिनियाँ यात्रीले लुम्बिनीको वस्तुस्थिति आफ्नो यात्रा वर्णनमा उल्लेख गरेकै आधारमा पछि लुम्बिनीको खोजी हुँदा सम्पूर्ण प्रमाण सहित भेट्टाउन सकिएको थियो। त्यसैका आधारमा हामीले अहिले बुद्धको जन्मस्थल लुम्बिनी यही हो भन्न पाएका हौं।
लुम्बिनीमा अशोक र मोदीको आगमनमा फरक कुराहरूको सूची बनाउँदा अलि लामै हुन्छ। पहिलो कुरा त यी दुईको व्यक्तित्व नै फरक फरक धारको छ। अशोक व्यक्तिगत रूपमा बौद्ध धर्मावलम्बी बनेर सोही अनुसार जीवनयापन गर्थे भन्ने शिलालेखहरूबाट जानकारी पाइन्छ। राज्यमा अन्य धर्मावलम्बी पनि थिए, उनीहरूको आस्था र विश्वासमा सम्राट्को दखल हुँदैनथ्यो।
यसको ठिक विपरीत मोदी राष्ट्रिय स्वयं सेवक (आरएसएस) नामक संस्थासँग आबद्ध छन्। यो संगठनको आदर्श भन्नु हिन्दू धर्मको आध्यात्मिक सर्वोच्चतामा जोड दिनु हो जसले धर्मनिरपेक्ष भारतको विचारलाई चुनौती दिंदै धार्मिक अहिष्णुता फैलाइरहेको छ। यस संगठनका प्रमुख सिद्धान्तकार विनायक दामोदर सावरकर र दिनदयाल उपाध्याय हुन्।
आरएसएसका सिद्धान्तकारलाई भारतमा हिन्दूधर्म बाहेक अन्यको अस्तित्व स्वीकार्य छैन। दार्शनिक पृष्ठभूमिमा तौलिंदा बौद्ध र हिन्दू धर्म-दर्शन विपरीत ध्रुवमा छन्। तर, पछिल्लो कालमा बौद्धलाई हिन्दू धर्मको शाखा धर्म र बुद्धलाई हिन्दूहरूको देवता विष्णुको नवौं अवतारका रूपमा प्रस्तुत गर्ने जमात पनि पाइन्छ। यो बुझाइ ठीक नरहेकोमा आरएसएसका सिद्धान्तकार पनि स्पष्ट छन्।
हिन्दूत्वको मुख्य आधार चतुर्वर्ण र ब्राह्मणवाद हो भने बौद्ध दर्शन त्यसलाई ठाडै चुनौती दिन्छ। गौतम बुद्धले त्यस विरुद्ध एक खालको ‘जेहाद’ नै छेडेका थिए। उनले अनेक तवरले चतुर्वर्ण तथा ब्राह्मणवादको अनौचित्य पुष्टि गरेका प्रसङ्ग त्रिपिटकमा सङ्गृहीत सूत्रहरूमा सुरक्षित छन्। बुद्धका तिनै उपदेशबाट प्रभावित भई कुलपरम्पराबाट चल्दै आएको वैदिक धर्म (हिन्दू) छाडेर ठूलो सङ्ख्यामा ब्राह्मणहरू नै उनका अनुयायी बन्न आएका थिए। तत्कालीन विसङ्गतिपूर्ण समाजमा गौतम बुद्धका उपदेश तथा कार्य सञ्चालन एक प्रकारको हुङ्कार नै थियो। त्यसैले तत्कालीन ब्राह्मण समाज उनीप्रति द्वेष राखेर अनेक षड्यन्त्र पनि गर्थ्यो।
मौर्यवंशको अन्त्य गरी शुंगवंश स्थापना गर्ने सम्राट् पुष्यमित्रले बौद्ध धर्म विरुद्ध अभियान नै थाले। उनले बौद्ध भिक्षुको टाउको ल्याउनेलाई एक सय दिनार उपहार दिने घोषणा समेत गरेका थिए। बुद्धलाई राक्षस भनी चित्रण गरिएका विवरण हिन्दू ग्रन्थहरूमा अझै पढ्न पाइन्छ। तर, जसो गर्दा पनि बौद्ध धर्मको प्रभाव रोक्न नसकेपछि अन्ततः बुद्धलाई विष्णुको नवौं अवतार र शाखा धर्म भनी आफूमा समेट्न खोजियो। यो वर्गले बौद्ध धर्म-दर्शन भन्दै आजभोलि हिन्दू मूल्य-मान्यता प्रस्तुत गर्ने कोशिश गर्छ।
आरएसएसका सिद्धान्तकारहरू बौद्ध धर्म-दर्शनप्रति आपत्ति जनाउँदै यसलाई घृणा नै गर्थे। चतुर्वर्ण र ब्राह्मणवादबाट प्रेरित जातीय भेदभावसँग आजित भएर भीमराव अम्बेडकरको नेतृत्वमा ठूलै समूहले हिन्दू धर्म छाडी बौद्ध धर्म अपनाएको घटनाले पूरा भारतमा हलचल ल्याएको थियो। उक्त घटनाबाट पाठ सिक्नुको बदला केही समयपछि सावरकरले एउटा लेख प्रकाशित गरी ‘बौद्ध धर्म अपनाएकै आधारमा समाजमा अछूतहरू छूत हुन नसक्ने’ धारणा व्यक्त गरेका थिए।
आरएसएसको दृष्टिमा गौतम बुद्धले भारतमा वैदिक परम्परा र संस्कृति समाप्त पार्न खोजेका थिए, यसैले उनीहरू बुुद्धको भर्त्सना गर्थे। अशोकले बौद्ध धर्म अपनाएर हिन्दू धर्मलाई कमजोर बनाएको ठान्ने उनीहरू उनको योगदान पनि खासै उल्लेख गर्न चाहँदैनन्। त्यसैले आजभोलि सम्राट् अशोकबारे उल्लेख भएका पाठ्यपुस्तक पनि घटाइँदै लगेको पाइन्छ।
मोदी आरएसएसबाट दीक्षित मात्र होइनन्, उनको राजनीतिक दल भारतीय जनता पार्टी सोही धार्मिक संगठन अन्तर्गत सञ्चालित छ। यस अवस्थामा वर्तमान भारतमा धार्मिक दङ्गा तथा वैमनस्य उत्पन्न हुनु नौलो कुरा होइन। यसरी नै उनीहरू धर्मनिरपेक्ष भारतलाई हिन्दू राज्य बनाउन चाहन्छन्। नेपालमा पनि धर्मनिरपेक्षता विरुद्ध गतिविधि चलाउने र हिन्दू राष्ट्र घोषणा गराउने तिनको योजना छ।
राजनीतिक दल तथा धार्मिक संगठन हिन्दूत्वको वर्चस्व चाहने हुँदाहुँदै मोदी बारम्बार बौद्ध संघसंस्थाका सभामा पुग्ने, बौद्धहरूलाई प्रभावित बनाउने भाषण गर्ने, बुद्ध जन्मस्थल लुम्बिनीमा आउने लगायत गतिविधि विरोधाभासपूर्ण छन्। तर, यो उनको राजनीतिक चालबाजी मात्रै हो। विश्वमा बौद्ध धर्मको लोकप्रियता बढ्दो छ, यसलाई रोक्न सक्ने हैसियत मोदीहरूको छैन। यस अवस्थामा बुद्ध र बौद्ध धर्मको खास्टो ओढ्न उनीहरू बाध्य छन्। लुम्बिनीमा भारतले गतिविधि बढाउनुलाई अनेक आयामबाट बुझ्न सकिन्छ।
लुम्बिनीमा चीन लगायत अन्य देशको उपस्थिति भारतका लागि ईर्ष्याको विषय भएकाले उसले आफ्नो उपस्थिति देखाउन चाहनु स्वाभाविक हो। यसरी नै भारतमा हिन्दू धर्मले ‘तल्लो जात’ भनेका समुदायको सङ्ख्या थोरै छैन। उनीहरू बौद्ध धर्मतर्फ आकृष्ट हुने क्रम बढ्दो छ। तिनै समुदाय र धर्मान्तरण गरेर बौद्ध बनिसकेकाहरूलाई पनि देखाउन, निर्वाचनमा प्रभाव पार्न मोदी लुम्बिनी आउन बाध्य भए।
मोदीको लुम्बिनी भ्रमणको अर्को पाटो आर्थिक हो। पूरा भारतभरि बौद्ध जनसङ्ख्या एक प्रतिशत पनि छैन। उता चीन विश्वमा सबैभन्दा बढी बौद्ध जनसङ्ख्या भएको देश हो। चिनियाँ राष्ट्रपति सी चिनफिङ सन् २०१९ अक्टोबरमा नेपाल आउँदा काठमाडौं र पोखरालाई लुम्बिनीसँग जोड्ने रेलमार्ग निर्माणबारे सैद्धान्तिक सहमति भएको थियो। चीनकै ऋण सहायतामा भैरहवामा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बनी सञ्चालनमा आइसकेको छ।
लुम्बिनीमा चीनको बढ्दो लगानी र प्रभाव भारतलाई सह्य भएको देखिन्न, तर आफैंले कुनै गतिलो योजना ल्याउन सकेको छैन। सञ्चालनमा आएको विमानस्थललाई भारतले ‘रुट पर्मिट’ दिन मानिरहेको छैन भने मोदी लुम्बिनी आउँदा पनि उक्त विमानस्थल प्रयोग नगरी हेलिकोप्टरबाट आउनुले ठूलै अर्थ राख्छ।
लुम्बिनी उत्रनुभन्दा केही दिनअघिदेखि सुरक्षाका नाममा पूरै लुम्बिनीलाई भारतीय कमान्डोद्वारा कब्जामा लिन लगाउनु, रिहर्सल भन्दै लुम्बिनी क्षेत्रभन्दा बाहिरको बजार ठ्याम्मै बन्द गरिदिनु, सर्वसाधारणलाई पनि कडा निगरानी सहित हिंडडुल गर्न दिनु एक सार्वभौम देशका लागि पाच्य कुरा होइन। नेपालका अधिकारीहरू यसमा लाचार हुनु छलफलको बेग्लै पाटो हो।
स्वयं सम्राट् अशोक ईपू २४९ मा लुम्बिनी आउँदाको वातावरण कस्तो थियो भन्ने विवरण त पाइँदैन, तर उनकै अभिलेख अनुसार लुम्बिनी गाउँमा राज्य कर घटाएको तथा धार्मिक गतिविधि गरिएको छनक पाइन्छ। जतिसुकै शक्तिशाली शासक भए पनि बुद्ध र बौद्ध भिक्षुसामु तथा बौद्ध स्थलहरूमा शासकीय दम्भ देखाएको पाइँदैन। त्यति वेला लुम्बिनी मौर्य साम्राज्य अन्तर्गत रहे पनि रामग्राम स्तूप क्षेत्र मौर्य साम्राज्यभन्दा बाहिर रहेको देखिन्छ।
रामग्राम स्तूप नागवंशसँग सम्बद्ध कुनै शासक अन्तर्गतको सानो राज्य थियो। सम्राट्ले स्तूपबाट बुद्धको अस्थिधातु निकाल्न खोजेकोमा ती नागले खोल्न नदिएको वर्णन अनुसार अन्य देशको सार्वभौमसत्ताको सम्मान गरेको अर्थमा बुझ्न सकिन्छ।
सम्राट् अशोक र मोदीको पृष्ठभूमि मात्र होइन, लुम्बिनी भ्रमणको उद्देश्य नै फरक छ। मोदी नेपाललाई दिन नभएर आफ्नो स्वार्थसिद्ध गर्न आएका हुन्। सम्राट् अशोकदेखि मोदीसम्म आइपुग्दा भारतले धेरै कोल्टे पनि फेरिसकेको छ।