भक्तपुरमा नेमकिपाको ‘क्लीन स्वीप’‚ सुनील प्रजापति दोहोरिए
भक्तपुर नगरपालिकामा नेपाल मजदूर किसान पार्टी (नेमकिपा) ले ‘क्लीन स्वीप’ गरेको छ। नेमकिपाले मेयर‚ उपमेयर र १० वटै वडाध्यक्षमा फराकिलो मतको अन्तरले विजय हासिल गरेको छ।
मेयरमा विजयी सुनील प्रजापतिले २९ हजार २०० र उपमेयरमा विजयी रजनी जोशीले २९ हजार ६९५ मत प्राप्त गरेका छन्। नेकपा (एमाले) का रवीन्द्र लाछिमस्यूले दुई हजार ८३७, नेपाली कांग्रेसका रामप्रसाद कासुलाले तीन हजार ३५२ र नेकपा (माओवादी केन्द्र) का तुल्सीभक्त सुवालले ७४२ मत प्राप्त गरेका छन्।
यस्तै‚ उपमेयरका लागि एमालेका मदनसुन्दर श्रेष्ठले दुई हजार ७८४, कांग्रेसका सुरेन्द्र श्रेष्ठले एक हजार ९८४ र माओवादीकी इन्द्रमाया सुवालले ८३६ मत प्राप्त गरेका छन्।
कुन वडामा कति मत?
वडा नम्बर १ को वडाध्यक्षमा श्याम खत्रीले कुल मत तीन हजार ५२० रहेकोमा दुई हजार १४३ मत प्राप्त गरेका छन्। वडा नम्बर २ को वडाध्यक्षमा हरिप्रसाद बासुकलाले कुल पाँच हजार ११४ मतमा दुई हजार ६२५ प्राप्त गरेका छन्।
त्यस्तै, वडा नम्बर ३ को वडाध्यक्षमा राजकृष्ण गोराले कुल मत तीन हजार ९९० मा दुई हजार ४४०, वडा नम्बर ३ का वडाध्यक्ष उपेन्द्र सुवालले कुल पाँच हजार २१९ मतमा तीन हजार ५६२, वडा नम्बर ५ को वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँले कुल चार हजार २१७ मतमा दुई हजार ७७६ र वडा नम्बर ६ का हरिराम सुवालले कुल चार हजार ५६६ मतमा तीन हजार २४१ मत प्राप्त गरी विजयी भएका छन्।
यसै गरी वडा नम्बर ७ मा उकेश कवांले कुल चार हजार ९५६ मतमा तीन हजार ९६९‚ वडा नम्बर ८ मा कृष्णप्रसाद कोजूले कुल तीन हजार ३७५ मतमा दुई हजार २७९, वडा नम्बर ९ मा रवीन्द्र ज्याख्वले कुल पाँच हजार ३७१ मा चार हजार २२७ मत र १० वडामा लक्ष्मीप्रसाद ह्यौँमिखाले कुल तीन हजार ५५२ मतमा दुई हजार ६२६ मत प्राप्त गरेर विजयी भएका छन्।
यस पटक अघिल्लो चुनावमा भन्दा धेरै भोट प्राप्त गरेको नेमकिपाका केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाईंले बताए। अघिल्लो पटक मेयर र उपमेयर करीब २५ हजार मत प्राप्त गरी विजयी भएका थिए। “यो पटक जनताको ठूलो साथ सहयोग प्राप्त भएको छ‚” गोसाईंले भने।