स्थानीय सरकारले माध्यमिक तहसम्मको विद्यालय व्यवस्थापनको जिम्मेवारी पाएपछि भक्तपुर नगरपालिकाले शिक्षा क्षेत्रमा अनुकरणीय काम गरेको छ। नगरपालिकाले शैक्षिक संस्था सञ्चालन, शैक्षिक ऋण तथा छात्रवृत्ति प्रदान, स्थानीय पाठ्यक्रम लागू गरेको छ। सुलभ शुल्कमा गुणस्तरीय प्राविधिक शिक्षा दिँदै आएको छ।
स्थानीय सरकारले आफैं शैक्षिक संस्था सञ्चालन गर्दा शुल्क किफायती हुन्छ भन्ने पनि उदाहरण दिएको छ। नगरपालिकाले सञ्चालन गरेको ख्वप इन्जिनीयरिङ कलेजमा शुरू ताका चारवर्षे सिभिल इन्जिनीयरिङका लागि एक लाख १० हजार र पाँचवर्षे अर्किटेक्चर इन्जिनीयरिङका लागि दुई लाख ३९ हजार रुपैयाँ शुल्क तोकिएको थियो। त्यस समयमा निजी कलेजहरूले भने १० लाख रुपैयाँसम्म शुल्क लिइरहेका थिए।
नगरपालिकाले पूर्वाञ्चल विश्वविद्यालयको सम्बन्धनको ख्वप इन्जिनीयरिङ कलेज र त्रिभुवन विश्वविद्यालयको सम्बन्धनको ख्वप कलेज अफ इन्जिनीयरिङ सञ्चालन गरेको छ। ती कलेजले हरेक वर्ष ४३२ जना इन्जिनीयर उत्पादन गरिरहेको नगरपालिकाले जनाएको छ। कलेजमा पढ्न एक सिजनमा दुई हजारभन्दा बढीले आवेदन दिने गरेका छन्।
शिक्षाविद् विद्यानाथ कोइराला नगरपालिकाले गरेका काम जायज र प्रशंसनीय भएको बताउँदै उत्पादित जनशक्तिलाई स्थानीय स्तरमै रोजगारी दिनुपर्ने सुझाउँछन्। “पालिकाले जुन तहमा कलेज चलाएको छ, त्यो सामान्य कुरा होइन,” उनी भन्छन्, “नगरपालिकाद्वारा सञ्चालित कलेजबाट उत्पादित विद्यार्थीलाई पालिकामै इन्गेज गराउनु र रोजगारी दिनु राम्रो हो।”
अन्य स्थानीय तहहरूले भक्तपुरले जस्तै गर्न सक्ने भए पनि तिनमा आँट र उत्साह नदेखिएको टिप्पणी शिक्षाविद् कोइराला गर्छन्। “भक्तपुरले नमूनाका रूपमा काम शुरू गर्यो र आफ्नो सोचलाई प्रमाणित गरेर देखायो,” उनी भन्छन्, “धेरै नगरपालिकाले सामुदायिक कलेज तथा शैक्षिक संस्थालाई पैसा दिएका छन्, तर भक्तपुर नगरपालिकाले जस्तो जिम्मेवार र व्यवस्थित तरीकाले काम गर्न सकेका छैनन्।”
त्रिभुवन विश्वविद्यालयका प्राध्यापक पृथुचरण वैद्य देश विकासको मेरुदण्ड नै शिक्षा भएकाले भक्तपुरले विकास गरेको खाकामा अन्य स्थानीय तहहरूले पनि काम थाल्नुपर्ने बताउँछन्। भक्तपुर नगरपालिकाको नेतृत्वले जिम्मेवारीपूर्वक काम गरेको उनको भनाइ छ।
“भक्तपुर नगरपालिकाको नेतृत्व तहमा बस्नेले आँट गरी जिम्मेवारीपूर्वक काम गरे। त्यसको प्रतिफल राम्रो देखियो,” वैद्य भन्छन्, “राजनीतिक नेता, अभियन्ता, कार्यकर्ता र समाजसेवीले चाहे सबै ठाउँमा गर्न सकिने यो खाका सराहनीय छ।”
शैक्षिक ऋण
नगरपालिकाले जेहेनदार तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई शैक्षिक ऋण दिंदै आएको छ। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले दिएको अधिकार प्रयोग गरी २०७५ सालदेखि नै शैक्षिक ऋण कार्यक्रम ल्याइएको नगरपालिकाको शिक्षा समितिका संयोजक तथा वडा नम्बर ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले बताए।
शैक्षिक ऋण पाउन योग्य नगरपालिकाका स्थायी बासिन्दालाई विना धितो ६ प्रतिशत ब्याजदरमा पाँच लाख रुपैयाँसम्म रकम उपलब्ध गराइने वडाध्यक्ष ज्याख्वले जानकारी दिए। देशको जुनसुकै शैक्षिक संस्थामा चारवर्षे स्नातक पढ्ने विद्यार्थीले ऋण पाउन सक्छन्। तर, विदेश अध्ययनका लागि ऋण नदिइने ज्याख्वको भनाइ छ।
यस कार्यक्रमका लागि नगरपालिकाले वार्षिक पाँच करोड रुपैयाँ विनियोजन गर्दै आएको छ। कार्यक्रम लागू भएको पहिलो वर्ष ३६, दोस्रो वर्ष ९१ र तेस्रो वर्ष १२० जनाले शैक्षिक ऋण लिइसकेको नगरपालिकाको तथ्याङ्कमा छ।
नियमित पढाइ जारी रहुन्जेल ऋण तिर्न अनिवार्य छैन। विद्यार्थीले पेशा, व्यवसाय गरेर आम्दानी गर्न थालेपछि ऋण तिर्न उत्साहित गर्ने गरिएको वडाध्यक्ष ज्याख्वले बताए। ऋण रकम पढाइ पूरा भएको चार वर्षमा तिनुपर्छ। पढाइ सकिएपछि ऋण हरेक वर्ष २५ प्रतिशतले घटाउँदै लानुपर्ने प्रावधान छ। तर, एकमुष्ट पनि तिर्न सकिन्छ।
मानविकी सङ्कायको प्रवर्द्धन
मानविकी सङ्कायमा विद्यार्थीको सङ्ख्या घट्दै गएका वेला भक्तपुर नगरपालिकाले यस सङ्काय पढ्नेलाई छात्रवृत्तिको व्यवस्था गरेको छ।
नगरपालिकाका स्थायी बासिन्दाले देशका जुनसुकै शैक्षिक संस्थामा राजनीतिशास्त्र, भूगोल, संस्कृति र नेपालभाषा अध्ययन गरे पूर्ण छात्रवृत्ति दिइने वडाध्यक्ष ज्याख्वले बताए। नगरपालिकाको यस योजनाले विद्यार्थीको चाप कम हुँदै गएको मानविकी सङ्कायका विषय पढ्ने विद्यार्थी बढ्न थालेको ख्वपः कलेजका प्राचार्य रूपक जोशी बताउँछन्। “छात्रवृत्ति दिएपछि ती विषय पढ्ने विद्यार्थीको सङ्ख्यामा वृद्धि हुँदै गएको छ,” प्राचार्य जोशीले भने।
पाठ्यक्रममा स्थानीय विषयवस्तु
स्थानीय सरकार सञ्चालन ऐन २०७४ लागू भएपछि स्थानीय पाठ्यक्रम निर्माण गरी लागू गर्ने पहिलो स्थानीय तह भक्तपुर नगरपालिका हो। यस नगरपालिकाका विद्यालयमा कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यक्रम लागू गरिएको छ।
स्थानीय पाठ्यक्रममा यस क्षेत्रको राजनीतिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा योगदान दिएका व्यक्तिहरूको जीवनी, नेवारी खाना, वेशभूषा, सम्पदा र संस्कृतिको महत्त्व, ट्राफिक नियम, स्काउट सम्बन्धी जानकारी समावेश गरिएको नगरपालिकाका शिक्षा प्रमुख कृष्णप्रसाद कर्माचार्यले बताए।
नगरपालिकामा २६ वटा आधारभूत विद्यालय, ७० वटा माध्यमिक विद्यालय छन्। ती विद्यालयमा ११ हजार ३५६ जना विद्यार्थी रहेको कर्माचार्यले जानकारी दिए। त्यस्तै, नगरपालिकाले सञ्चालन गरेका सात वटा कलेजमा २० हजारभन्दा बढी विद्यार्थी छन्।
रोकियो विश्वविद्यालय विधेयक
२०५८ सालमा नेपाल मजदूर किसान पार्टीका सांसदले संसद्मा ‘ख्वप विश्वविद्यालय विधेयक’ दर्ता गराएका थिए। उक्त विश्वविद्यालय भक्तपुर नगरपालिकाले सञ्चालन गर्ने विधेयकमा उल्लेख छ। तर, उक्त विधेयक हालसम्म संसद्मा टेबल हुन सकेको छैन।
विधेयक संसद्बाट पारित भए १२ देखि १५ लाख रुपैयाँमा चिकित्सा शिक्षाको स्नातक तह (एमबीबीएस) पढाउन सकिने नगरपालिकाको भनाइ छ। नगरपालिकाले सस्तोमा गुणस्तरीय चिकित्सक उत्पादन गर्न विश्वविद्यालय सञ्चालनको माग गरेको हो। तर, राजनीतिक स्वार्थका कारण माग पूरा नभएको नगरपालिकाको आरोप छ।
नेपाल मजदूर किसान पार्टीका अध्यक्ष एवं भक्तपुर क्षेत्र नम्बर १ का तत्कालीन सांसद नारायणमान बिजुक्छेले २०५५ सालमा १५ वर्षमा भक्तपुरलाई ‘एक घर एक स्नातक’ बनाउने घोषणा गरे। उक्त अभियान अन्तर्गत भक्तपुरका माध्यमिक विद्यालयहरूमा विश्वविद्यालयको सम्बन्धनमा स्नातक र स्नातकोत्तर कक्षा सञ्चालन गरियो। बागीश्वरी, बासु, आर्दश आजाद, पद्म, विद्यार्थी निकेतन, देवी, चाँगु, दोलागिरी, आर्दश, जोरपाटी माविले कक्षा सञ्चालन गरेका थिए।
बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले गत माघमा भक्तपुर नगरपालिकाको शैक्षिक संस्थाहरू अवलोकन गर्ने क्रममा बागमती प्रदेश सरकारले तयार पारेको शिक्षा विधेयक अनुसार ख्वप विश्वविद्यालयलाई मानित विश्वविद्यालयको मान्यता दिन सकिने बताएका थिए। मानित विश्वविद्यालयले सम्बन्धन दिने बाहेक विश्वविद्यालयले गर्ने सम्पूर्ण कार्य गर्न पाउने उनको भनाइ थियो।